Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविद्युतीय सवारीसाधन सञ्चालनमा ललितपुर महानगरको जोड

विद्युतीय सवारीसाधन सञ्चालनमा ललितपुर महानगरको जोड


काठमाडौं । ललितपुर महानगरपालिकाले नगरक्षेत्रमा विद्युतीय सवारीसाधन सञ्चालनमा जोड दिने भएको छ । पर्यटक लक्षित गर्दै विद्युतीय बस भित्र्याउने तयारीमा रहेको महानरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा ललितपुर महानगरपालिका भूमिका विषयमा बोल्दै मेयर महर्जनले पर्यटकलाई सम्पदा क्षेत्र घुम्नको लागि विद्युतीय बस राख्न लागेको बताए ।

‘पर्यटकहरूको सहज र लामो समयसम्म सम्पदा क्षेत्रमा टिक्नको लागि विद्युतीय बस सञ्चालनमा ल्याउन लागेका छौँ’, उनले भने, ‘विद्युतीय बसमा सवार भई पर्यटकहरूले थोरै समयमा सम्पूर्ण सम्पदा क्षेत्र घुम्न सक्नेछन् । अर्कोतर्फ वातावरणमा समेत असर पर्दैन ।’ पर्यटकलक्षित विद्युतीय बस भने निःशुल्क हुने उनले बताए । महानगरले थप चारवटा विद्युतीय बसको लागि पनि भुक्तानी पठाएको छ । ती बसहरू पनि छिटै नै महानगरमा आइपुग्ने बताइएको छ ।

इन्धनको खपत कम गर्नको लागि महानगर प्रहरीलाई विद्युतीय मोटरसाइकल प्रदान गरेको उनले बताए । ‘पेट्रोलियम पदार्थको लागि ठूलो रकम बाहिर जान्छ, अर्कोतर्फ दिगो विकासको लक्ष्यमा हामीले स्वीकार गर्दै अघि बढेका छौँ,’ उनले भने, ‘त्यसैले वातावरण जोगाउनको लागि समेत विद्युतीय सवारीसाधन उत्तम विकल्प हो । दिगो विकास लक्ष्यअन्तर्गत वातावरण जोगाउनको लागि सन् २०३० सम्ममा जापनामा पूर्णरूपमा विद्युतीय सवारीसाधन हुने भनिएको छ । हामी भने १० वर्ष थप गर्दै सन् २०४० सम्ममा मुलुकभर पूर्ण विद्युतीय सवारीसाधनका सुनिश्चितता गर्ने हो ।’

महानगरले ठूलो भार क्षमताबाहेकका अन्य सवारीसाधन भने विद्युतीय सवारीसाधन प्रयोग गर्ने बताएको छ । ललितपुर, पुल्चोकमा भएको उक्त कार्यक्रममा मेयर महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्यले नगरप्रहरीले गरेको काम उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका थिए । उपमेयर बज्राचार्यले नगरप्रहरीले सरसफाइ, पार्किङलागयतको क्षेत्रमा गरेको कामले सर्वसाधारणलाई राहत मिलेको बताइन् । कार्यक्रममा नगरप्रहरीले दुर्घटनाबाट बच्नको लागि गरेको प्रयास, पार्किङ क्षेत्रको निर्माण, सरसफाइलगायतका कार्यहरूको तस्बिर प्रदर्शन गरेको थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया