Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहाशिवरात्रिको ट्राफिक व्यवस्थापनमा पाँच सय ट्राफिक खटिने

महाशिवरात्रिको ट्राफिक व्यवस्थापनमा पाँच सय ट्राफिक खटिने


काठमाडौं, फागुन ८
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको लागि ट्राफिक व्यवस्थापनमा पाँच सय ट्राफिक प्रहरी खटाउने भएको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीहरूको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउनका लागि योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार, एयरपोर्ट हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुई पाङ्ग्रे र साना सवारी साधनको लागि तिलगंगा र वाईसीएल मार्ग, नक्साल कालोपुल हुँदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनलाई देव उद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बागमती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको छ ।

महाशाखा प्रमुखले शिवरात्रि पर्वको अवधिभरि भक्तजनहरूलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि आवश्यकताअनुसार डाइभर्सन, पशुपति क्षेत्रभित्र सवारी निषेधसमेत गरिने जानकारी दिए । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले दर्शानार्थीको अत्यधिक चाप हुनगई गौशाला चोक हुँदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुविधालाई मध्यनजर गर्दै गौशाला क्षेत्र भई चल्ने सवारी साधनलाई केही समयको लागि वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरी आवागमनको व्यवस्था मिलाइने बताए ।

त्यसैगरी तिलगंगा, गौशाला, मित्रपार्क र चावहिल भई चल्ने मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वरलगायतका स्थानहरूबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया