Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवेदकोटको ११औँ नगरसभा, दैजी औद्योगिक क्षेत्र विस्तारदेखि मल कारखाना खोल्ने कार्यक्रम

वेदकोटको ११औँ नगरसभा, दैजी औद्योगिक क्षेत्र विस्तारदेखि मल कारखाना खोल्ने कार्यक्रम


कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले नगरमा कम्पोस्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वेदकोट नगरको ११औँ नगरसभामा नगरप्रमुख भोजराज बोहराले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरमै कम्पोस्ट मल कारखाना स्थापनाको योजना अघि सारेका छन् ।

बोहराले प्रदेश सरकारसँगको सहकार्यमा नगरका किसानलाई समयमै मलखाद उपलब्ध गराउनका लागि मल कारखाना खोल्ने कार्यक्रम अघि सारेको बताए । यसका साथै मेयर बोहराले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दैजी औद्योगिक क्षेत्रमा उद्योग स्थापना र विकास गर्न आवश्यक पहल प्रयन्त गर्ने, उद्योगको भोगाधिकार प्राप्त गर्न बाँकी रहेका कामलाई छिट्टै सम्पन्न गर्ने पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उल्लेख छ ।

आर्थिक विकास र ठूलो संख्यामा स्थानीयलाई रोजगारी दिलाउनका लागि औद्योगिक सञ्चालनको विकल्प नभएको मेयर बोहराले बताए । यस्तै नीति तथा कार्यक्रममा ग्रामीण विद्युतीकण, सडक कालोपत्रे, खेलकुद विकास, शिक्षा, पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य विकास, समाजिक सुरक्षा भत्ता वितरण प्रणाली, विपन्नको छानो स्तरवृद्धि, बजारीकरण, पर्यटन विकास लक्षित वर्गका कार्यक्रमलाई निरन्तरता दिइएको छ । पर्यटन क्षेत्रको विकासका लागि होमस्टे, नदेबाली, व्यावसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गरिने, विपन्न महिला, नागरिकलाई तालिम दिने, एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण, सहकारी खेती प्रणाली विस्तार गरिने उल्लेख छ ।

‘एक घर एक करेसाबारी, ‘हरियो नगर, भलमन्सा, बडघर परम्परा संरक्षण संवद्र्धन, नगरको राजस्व सम्भावना खोजी तथा पहिचान गरी स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोगमार्फत नगरको संमृद्धिका लागि राजस्व सम्भाव्यता अध्ययन गरिने, जनतासँग वीपी कार्यक्रमअन्तर्गत प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. वीपी कोईरालाको नाममा उद्यान निर्माण गरिने, भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गरी लालपुर्जा वितरण गरिने, दैजीमा १५ शय्याको अस्पताल निर्माण गरिने, भू–उपयोग नीति तर्जुमा कार्यान्वयन गरिने, उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन कार्यक्रम, दुर्घटना बीमा, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बाल विकास शिक्षक, जिविसबाट हस्तान्तरण भएर आएका शिक्षकलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै नगरसभामा उपप्रमुख तुलसी जोशीले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेकी छिन् । नगरले आगामी आर्थिक वर्षको लागि ९८ करोड २२ लाख ३८ हजार रूपैयाँबराबरको बजेट ल्याएको छ । नगरले चालूूतर्फ ७१ करोड ५३ लाख रूपैयाँ र पुँजीगततर्फ २६ करोड ६८ लाख रूपैयाँ विनियोजन गरेको उपप्रमुख जोशीले बताइन् । वडाबाट छनौट भएर आएका योजनाहरूमा छ करोड ३२ लाख रूपैयाँ विनियोजन गरिएको छ । यस्तै कोरोना रोग नियन्त्रणका लागि एक करोड, आवश्यक पूर्वाधार विकास ऐनले निर्देशित गरेका अन्य कार्यका लागि दुई करोड १० लाख, स्वास्थ्य, शिक्षा, पशु कृषि वन एवं महिला विकासतर्फ दुई करोड ३० लाख रूपैयाँ विनियोजन गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया