Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचीनस्थित राजदूतावासमा नेपाली हस्तकला झल्किने वस्तु प्रदर्शनी कक्ष राख्नुपर्ने

चीनस्थित राजदूतावासमा नेपाली हस्तकला झल्किने वस्तु प्रदर्शनी कक्ष राख्नुपर्ने


काठमाडौं । नेपाल हस्तकला महासंघले चीनमा रहेको नेपालको राजदूतावासमा नेपालका ४२ विधाका नेपाली हस्तकला झल्किने वस्तुहरुको प्रदर्शनी कक्ष राख्नुपर्नेमा जोड दिएको छ । जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठलाई बधाई दिँदै महासंघका निवर्तमान अध्यक्ष सुरेन्द्र भाई शाक्यले राजदूतावासमा नेपाली हस्तकला झल्किने वस्तुहरुको प्रदर्शनी कक्ष राख्नुपर्नेमा जोड दिए ।

बधाई कार्यक्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले चीनबाट नेपाल सामान भित्रिने मुख्य नाकाहरु नियमित रुपमा नखुल्दा पनि हस्तकला वस्तुको निकासी प्रभावित हुन गएको नवनियुक्त राजदूतलाई जानकारी गराए । यसको समाधानको लागि चीन सरकारसमक्ष आवश्यक पहल गरिदिन उनले आग्रह गरे । यसैगरी उनले चीन नेपाली हस्तकलाको ठूलो बजार हुँदाहुँदै पनि मुख्यतया चीन सरकारको उच्च भन्सार दर, मित्रराष्ट्र चीनको कुनै पनि बैंकको शाखा नेपालमा नभएको, चीनका विभिन्न सहरहरुमा हुने अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीहरुमा भाग लिई आर्जन गरेको विदेशी मुद्रा समेत बैंकिङ्ग च्यानलमार्फत लिएर आउन समस्या भएको बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष दिपेन्द्र शाक्यले छिमेकी राष्ट्र चीनमा नेपालका परम्परागत हस्तकलाका वस्तुहरुको उत्पादन तथा निर्यातको परिमाण बढाउन चीनको आधुनिक प्रविधि तथा उपकरणहरुको आवश्यकता रहेको बताए ।

यस्तै महासंघका अर्का उपाध्यक्ष दिल्ली रत्न तुलाधरले उपयुक्त अन्तर्राष्ट्रिय भुत्तानी प्रक्रिया पेमेन्ट गेटवे नभएको हुँदा समस्या भएको बताए । साथै उनले महासंघबाट क्यालेण्डर इभेन्टको रुपमा गर्दै आएको हस्तकला व्यापार मेला यो वर्ष पनि नोभेम्बर महिनामा गर्न लागिएको र सो मेलामा राजदूतावासमार्फत चीनबाट क्रेता तथा व्यापारीहरुको सहभागिता जुटाइदिन पनि अनुरोध गरे । यसैगरी महासंघका उपाध्यक्ष नविन शाक्यले चीन र नेपालबीच विभिन्न कला, कौशल, प्रविधि आदानप्रदान गर्न कला आदनप्रदान कार्यक्रमअन्तर्गत अध्ययनको व्यवस्थाको लागि पहल गरिदिन पनि आग्रह गरे ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले चीनमा विभिन्न हस्तकलाका वस्तुहरु निर्यात गर्दा चीनस्थित भन्सार विन्दुहरुमा सहजीकरण गर्नुपर्ने कुरामा जोड दिए । साथै महासंघका कार्यसमिति सदस्यहरुले चीनमा हुने विभिन्न व्यापार मेलाहरुमा सहभागी हुँदा आफूले भोगेको समस्याहरुलाई अवगत गराउँदै हाल चीनमा कोभिडका कारण व्यापार मेलामा सहभागी हुन पनि २१ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यताका कारण नेपाली उद्यमी व्यवसायीहरुले व्यापार मेलामा भाग लिन नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा नवनियुक्त राजदुत श्रेष्ठले नेपाल सरकार, चिनिया सरकार उद्यमी व्यवसायी लगायत सबै सरोकारवालाहरुको साथ सहयोग र सहकार्य प्राप्त गरी चीनमा व्यापार सहजिकरणको लागि आफ्नो कार्यकालमा आफूले सक्रियतापूर्वक कार्य गर्ने आश्वासन दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया