Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालशंखरापुर नगरपालिकाको बजेट एक अर्ब ४० करोड

शंखरापुर नगरपालिकाको बजेट एक अर्ब ४० करोड


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि एक अर्ब ४० करोड ४८ लाख २१ हजार रूपैयाँबराबरको बजेट ल्याएको छ । शुक्रबार साँखुमा भएको सातौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ल्याएको हो ।

नगरपालिकाले चालूतर्फ ४२ करोड चार लाख ४६ हजार तीन सय रूपैयाँ र पुँजीगत खर्चतर्फ ९८ करोड ३३ लाख ७४ हजार सात सय रूपैयाँबराबरको बजेट ल्याएको प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै वित्तीय व्यवस्थापनतर्फ १० लाख रूपैयाँ छुट्याइएको छ । नगरसभामा नगरप्रमुख रमेश नापितले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख समिता श्रेष्ठले बजेट प्रस्तुत गरिन् ।

प्रस्तुत नीति तथा कार्यक्रम र बजेट शुक्रबार नै सर्वसहमतिले पारित भएको छ । बजेटको आन्तरिक स्रोततर्फ २९ करोड ८२ लाख ५० हजार रूपैँया रहेको छ भने राजस्व बाँडफाँटतर्फ ५५ करोड ७७ लाख ९९ हजार रूपैयाँ रहेको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत ४४ करोड ८७ हजार र अन्य आयबापत १० करोड ८६ लाख रूपैयाँ रहेको छ । नगरपालिकाले सामाजिक विकासतर्फ २२ दशमलव ४३ प्रतिशत, पूर्वाधार विकासतर्फ ४४ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै सुशासनतर्फ ४ दशमलव ९६ प्रतिशत र वातावरण र विपत् व्यवस्थापनतर्फ ७ दशमलव ९७ बजेट विनियोजन भएको छ ।

नगरसभाले नगरपालिकावासीका लागि निःशुल्क शिक्षादेखि निःशुल्क स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत गरेको छ । नगरसभाले ६० वर्षमाथिका जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने, शववाहन सेवा निःशुल्क गर्ने, सामुदायिक विद्यालयहरूमा कक्षा एकदेखि १२ सम्म निःशुल्क शिक्षा दिने, साँखुमा रहेको सूषमा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, कक्षा एकदेखि तीनसम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गर्ने, गर्भवती महिला र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषणभत्ता उपलब्ध गर्ने नीति पारित गरेको छ ।

यस्तै अशक्त तथा ज्येष्ठ नागरिकलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिने, ज्येष्ठ नागरिकहरूका लागि नगरपालिकाको तर्फबाट पोषणभत्ताको व्यवस्था गर्ने, ऐतिहासिक सांस्कृतिक सहर शंखरापुर नगरभित्रका जात्रा, पर्वहरू दीर्घकालीन आर्थिकरूपमा सहज ढंगले सञ्चालन गर्नका लागि कोषको व्यवस्था गर्ने, ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने, सम्पदा बस्तीमा मापदण्डअनुसार घर बनाउनेहरूलाई प्रोत्साहनस्वरूप एक लाख दिँदै आएकोमा घरको नक्सा तयार गरेबापत २५ हजार थप गरी एक लाख २५ हजार दिने नीति पारित गरेको छ । साथै सम्पदा बस्तीबाहिरको हकमा ‘घ’ वर्गको घर नक्सा नगरपालिकाबाट निःशुल्क बनाइदिने, नगरस्तरीय खेलकुद एकेडेमी सञ्चालन गर्ने, नगरपालिकाभित्र खुला व्यायामशाला सञ्चालन गर्दै जाने, विद्यालयस्तरबाटै मार्सल आर्टका खेलाडी उत्पादन गरी शंखरापुर नगरपालिकाका खेलाडीहरूलाई अन्र्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादन गर्ने नीति पारित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै स्थानीय कच्चापदार्थबाट सञ्चालन हुने उद्योगहरूलाई अनुदान तालिम तथा अन्य सहुलियत प्रदान गर्ने, गृहश्रमिक, लघु उद्यमी तथा साना व्यवसायीहरूबाट उत्पादित वस्तुहरूको बजारीकरणलाई सहज बनाउन कोसेलीघर स्थापना गरिने, सामुदायिक वनहरूमा आयआर्जनको कार्यक्रमका लागि पब्लिक–प्राइभेट पार्टनरसिपका कार्यक्रम ल्याइने, शंखरापुर नगरपालिकाको समृद्धिको लक्ष्य प्राप्तिको लागि कृषि पर्यटन विभिन्न क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने, शंखरापुर उज्यालो कार्यक्रमअन्तर्गत सबै वडाका मुख्य चोकहरूमा सडकबत्तीको जडान गर्ने, जनघनत्व बढी भएका मुख्य चोकहरूमा सीसीटीभीको व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने, जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने, शंखरापुर नगरपालिकाको अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्नेलगायतका नीति पारित भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया