Techie IT
×
गृहपृष्ठनेपालशिविर नम्बर ४ मा अत्यधिक प्रदूषण : सगरमाथा आरोही भुसाल

शिविर नम्बर ४ मा अत्यधिक प्रदूषण : सगरमाथा आरोही भुसाल


काठमाडौं । सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदूषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर ४ मा प्रदूषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन् । १, २, ३ नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उनले बताइन् ।

नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर भुसालले गत वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीे थिइन् । कोभिड—१९ को लडाइँविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूलगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो । त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रोे लक्ष्य रहेको उनले बताइन् ।

‘हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोकौँ भन्ने सन्देश विश्वभर छर्न एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेको हुँ’, उनले भनिन् । बाल्यकालदेखि नै डाँडाकाँडा उक्लिने, पौडी खेल्नेलगायतमा संलग्न भएकाले र पछिल्लो पटक फ्रान्स, स्विट्जरल्यान्डलगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उनले बताइन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया