Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाली व्यवसायीलाई चीनको भिसाका लागि पहल गर्न आग्रह

नेपाली व्यवसायीलाई चीनको भिसाका लागि पहल गर्न आग्रह


काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसाका लागि पहल गरिदिन आग्रह गरेको छ । महासंघले बुधबार चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठको ‘बधाई तथा सम्मान’मा आयोजना गरेको कार्यक्रममा नेपाली व्यवसायीहरूलाई चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न आग्रह गरेको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष कुमार कार्कीले केरुङ, तातोपानीलगायतका चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहजरूपमा आवतजावतको व्यवस्था मिलाउन चीन सरकारसँग पहल गरिदिन आग्रह गरे । ‘केरुङ, तातोपानीलगायतका नाकामा नेपाली व्यवसायी, चालक तथा सहचालकलाई आवतजावतका लागि सहज वातावरण बनाउनुपर्छ’, उनले भने । यस्तै उनले केरुङ तथा खासामा आइपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सार नाकामा आइपुग्ने वातावरण बनाउन पनि आग्रह गरे ।

महासंघले नेपाली सामान केरुङ र खासामा निर्यात गर्दा सहज वातावरण निर्माण गर्नुपर्ने, चीनका विभिन्न सहरमा अध्ययनरत विद्यार्थीलाई चीनमा अध्ययन गर्न सहज वातावरण बनाउनुपर्ने, चीनबाट आयात गरिने आधिकारिक ब्रान्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरण गर्नसमेत माग गरेको छ ।

भेटमा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्या भएको भन्दै उक्त समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन मेरो प्रयत्न रहन्छ’, उनले भने । राजदूत श्रेष्ठले भिसा समस्या समाधानमा पनि आफ्नो प्राथमिकता रहने बताए । उनले भने, ‘चीनमा स्थापना भएको नेपाली राजदूतावास नेपाली जनताको समस्या समाधान गर्नका लागि स्थापना भएको हो, म नेपालीकै काम गर्न चीन जान लागेको हो, व्यवसायीलाई परेको पिरमर्काको समाधान मेरो उच्च प्राथमिकता हुनेछ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले चीनसँग जोडिएका नेपाली नाका अवरुद्ध हुँदा नेपाली उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए । चीनमा गएर सामान छानेर नेपाल ल्याउने वातावरण निर्माणमा लाग्न राजदूतसमक्ष उनले आग्रह गरे । महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल, सल्लाहकार समितिका सभापति नयनबहादुर पण्डित क्षेत्रीलगायतले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउँदै नेपाली उद्योगी व्यवसायीको हक, हितमा लाग्न राजदूतसमक्ष आग्रह गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया