Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकञ्चनपरमा महोत्सवको होडबाजी, वाणिज्य संघले २० करोडको कारोबार गर्ने अनुमान

कञ्चनपरमा महोत्सवको होडबाजी, वाणिज्य संघले २० करोडको कारोबार गर्ने अनुमान


धनबहादुर जप्रेल
कञ्चनपुर, फागुन ९
कञ्चनपुरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव तथा मेला आयोजना गर्ने होडबाजी चलिरहेको छ । कञ्चनपुरमा शिवरात्री पर्वलाई मध्यनजर गर्दै दुईवटा महोत्सव फागुन सात गतेबाट सुरु भएका छन् भने अर्काे पर्यटन महोत्सव शुक्रबार(आज)बाट सुरु हुँदै छ । यसैबीचमा भीमदत्त नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गर्ने तयारी गरेको छ ।

महेन्द्रनगरको खुलामञ्चमा कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ गत बुधबारबाट सुरु भएको छ । भीमदत्त नगरपालिकाको सहयोगमा ‘कृषि पर्यटन र ऊर्जाको विकास, समृद्ध सुदूरपश्चिम प्रदेशको आधार’ भन्ने मूल नाराका साथ आयोजना भएको १३औं सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको हो । फागुन १७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा लघुउद्यम प्रदर्शनी, कृषि प्रदर्शनी, वैकल्पिक ऊर्जा, सूचना प्रविधि, दैनिक उपभोग्य सामग्री तथा स्थानीय उत्पादनहरूलाई प्राथमकिता दिइने आयोजकले जनाएको छ ।

सो कार्यक्रम अवधिभर विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, राना थारु कलाकारहरूको प्रस्तुति रहने कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ । सो महोत्सवलाई अनुमानित पाँच लाख दर्शकले अवलोकन गर्ने र २० करोडबराबरको कारोबार हुनेसमेत अनुमान गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताएका छन् ।

यस्तै बुधबार नै कञ्चनपुरको झलारीमा समेत शुक्लाफाँटा शिवरात्री महोत्सव सुरु भएको छ । ग्रामीण विकास नेपालले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सांस्कृति पर्यटन मेला आयोजना गरेको हो । ग्रामीण विकास नेपालले उक्त मेला फागुन ७ गतेदेखि १२ गतेसम्म चल्ने बताएको । कृषि, पर्यटन, व्यापार, संस्कृति प्रवर्द्धनका लागि मेला आयोजना गरेकोे मेला आयोजक समितिका संयोजक दिपकराज भट्टले बताए ।

उनका अनुसार भ्रमण वर्ष २०२० सफल पार्नका लागि मेलामा कञ्चनपुरका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न मेलाको आयोजना गरिएको हो । कञ्चनपुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको छ,’ उनले संयोजक भट्टले भने, ‘हामी मेला यहाँको स्थानीय कला संस्कृतिको प्रचारप्रसार हुनेछ ।’ मेलामा भएको आम्दानीको १० प्रतिशत शुक्लाफाँटा छात्रवृत्ति कोष स्थापना गरिने उनको भनाइ छ । ‘प्रत्येक टिकटमा १० प्रतिशत छात्रवृत्तिका लागि छुट्याउने छौँ,’ उनले भने, ‘घरेलु, साना तथा मझौला उद्योगहरूले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धनमा टेवा पु-याउने, कृषि क्षेत्रमा आधुनिक एवं नयाँ प्रविधिका उपकरणबारे जानकारी गराउने मेलाको उद्देश्य छ ।’ भट्टले बताए । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि पर्यटन प्रवर्द्धनका लागि कञ्चनपुरमै ‘शुक्लाफाँटा पर्यटन महोत्सव’ आयोजना गर्न लागेको छ । भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि ‘शुक्लाफाँटा तथा झोलुङ्गे पर्यटन महोत्सव २०७६’ सञ्चालन गर्ने बताएको छ । भीमदत्त नगरपालिका पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा महोत्सव आयोजना गर्दै यस क्षेत्रका पर्या पर्यटनको प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाले यस वर्ष तेस्रो संस्करणको शुक्लाफाँटा महोत्सव आयोजना गर्न लागेको बताएको छ ।

महोत्सवको तयारीसमेत पूरा भएको आयोजक भीमदत्त नगरपालिकाले बताएको छ । भीमदत्त नगरपालिकाको शुक्लाफाँटा महोत्सवलाई कञ्चनपुर उद्योग वाणिज्य संघले पूर्णरूपमा सहयोग गर्ने बताएको छ । भीमदत्त नगरपालिका र कञ्चनपुर वाणिज्य संघले दुवै मेला एक अर्काको सहकार्यमा सञ्चालन गरेको बताएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष कर्णबहादुर चन्दले यसवर्ष अन्य वर्षभन्दा पृथक ढङ्गले महोत्सव आयोजना गरिने बताए ।

उपाध्यक्ष चन्दले उद्घाटन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको फाँटमैदानमा गरिनेछ भने समापन शुक्लाफाँटा निकुञ्ज प्रवेशद्वार क्षेत्रमै हुनेछ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले महोत्सवको उद्घाटन भएको घोषणा गर्नेछन, भने विशेष समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

‘हामी उद्घाटन विश्वकै दुलर्भ घाँसे मैदानबाट गछौँ, ‘उपाध्यक्ष चन्दले भने, ‘समापन निकुञ्ज प्रवेशद्वारा मझगाउँमा गर्छौँ ।’ आठ दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरेर महोत्सव आयोजना गरिनेछ । उपाध्यक्ष चन्दका अनुसार उद्घाटनको दोस्रो दिन निकञ्ुजभित्र काठमाडौँ वन वातावरण विज्ञानका विद्यार्थीको स्थलगत अवलोकन भ्रमण गराइनेछ । तेस्रो दिन अपाङ्गता र सातौँ दिन जेष्ठ नागरिकलाई अवलोकन गराइनेछ । चौथो दिन महेन्द्रनगर बजारदेखि निकुञ्ज हुँदै झोलुङ्गेसम्म साइकल -याली निकालेछ ।

छैटौँ दिन माध्यामिकस्तरीय विद्यार्थीमाँझ वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । भने आठौँ दिनमा राष्ट्रपति भण्डारीको विशेष उपस्थितिमा महोत्सव समापन गरिनेछ । ‘हामी जेष्ठ नागरिक र असाहय सबै क्षेत्रका नागरिक बुद्धिजीवीको अनुभव आदान प्रदान गर्छौँ, ‘उपाध्यक्ष चन्दले भने, ‘यो सबै एकीकृतरूपमा पर्यटनको दिगो विकास र समृद्धिका लागि हो ।’ आठै दिनसम्म निकुञ्ज, एसियाकै दोस्रो लामो झोलुङ्गेपुलसहितका पर्यटकीय क्षेत्रमा अवलोकनका लागि सरोकारवालालाई चुले निम्ता दिइएको छ । यसवर्ष पनि हजारौँलाई शुक्लाफाँटा निकुञ्ज घुमाउने लक्ष्य राखेको छ ।

स्थानीयलाई आफ्नो पर्यटकिय क्षेत्रको पहिचान गराए पर्यटन प्रवर्द्धनका लागि टेवा पु-याउन लागि भीमदत्त नगरपालिकाले महोत्सव आयोजना गरेको उपाध्यक्ष चन्दले बताए । महाशिवरात्रीका अवसरमा महेन्द्रनगर शिवधाम क्षेत्र, झलारी, बेलौरी नगरपालिका शिवनगर क्षेत्र र बेलडाँडी गाउँपालिका १ सिद्धनाथ मन्दिरमा समेत महाशिवरात्रि मेला सञ्चालन हुन लागेका छन् । यस्तै गत पुस अन्तिम सातामा महेन्द्रनगरकै खुलामञ्चमा खोज सङ्ग्रह मिडियाले पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने मेला आयोजना गरेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया