Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालथपिएको समयमा पनि सकिएन सोलु करिडोरको काम

थपिएको समयमा पनि सकिएन सोलु करिडोरको काम


महेन्द्र शाही
सोलुखुम्बु, फागुन ११
सोलु करिडोर १३२ केभी प्रसारणलाइन आयोजनाको काम सम्पन्न गर्न पुनः दोस्रो पटक म्याद थप गरिने भएको छ । सन् २०२० को जनवरी ३१ सम्म काम सम्पन्न गर्ने गरी पहिलोपटक म्याद थप गरेको आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः दोस्रो पटक म्याद थप गर्न मन्त्रालयमा फाइल अगाडि बढाएको हो ।

सन् २०१६ सेप्टेम्बर २५ देखि काम सुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३ सय ३ वटा टावर निर्माण गर्नुपर्नेमा १ सय ४ वटा निर्माण सम्पन्न र १ सय ५७ वटाको फाउन्डेसन तयार भइसकेको छ । यस्तै, ओखलढुंगा जिल्लाभित्र २४ वटा, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एउटा टावरको फाउण्डेसन निर्माणको क्रममा रहेको आयोजना प्रमुख गौतमको भनाइ छ ।

मिर्चैया – उदयपुर – ओखलढुंगा – सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तारलाइन समेत तानिसकिएको उनको भनाइ छ । उक्त कार्य अबको पाँच महिनाभित्र सम्पन्न गरिसक्ने भन्दै उनले सहयोगका लागि सबैलाई अनुरोध समेत गरे । उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने उनको विश्वास छ । पटक–पटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो ।

सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युत्लाई सोलुदूधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका ६ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये २३.५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको छ भने ८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

निर्माण सम्पन्न भइसकेको विद्युत्लाई तिङ्लामा निर्माण सम्पन्न भएको ३३ केभी प्रसारणलाइनमार्फत ओखलढुंगाको रुम्जाटारमा रहेको विद्यूत प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना रहेको छ । सोही योजनाअनुसार सम्पूर्ण काम समेत सम्पन्न भइसकेको छ । गत माघ ४ गते सोलुदूधकुण्ड नगरपालिकाको पत्तालेमा सोही केन्द्रीय प्रसारणलाइनको उद्घाटन गर्ने कार्यतालिका भए पनि स्थानीयको अवरोधका कारण सफल भएन ।

प्रसारणलाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौता (पीपीए)मा उल्लेख छ । उक्त हर्जनाबाट बच्नको लागि वैकल्पिक मार्ग ३३ केभी प्रसारणलाइन प्रयोग गर्ने आयोजनाको योजना समेत विफल भएको छ । विकासमा राजनीतिक प्रतिशोध हुँदा स्थानीय र उद्घाटनमा गएको सांसदहरुको टोलीबीच तिङ्लामा झडप भएको थियो । उक्त झडपमा एउटा बोलेरो जिपसहित १३ वटा मोटरसाइकल जलेको थियो । सोलुदूधकुण्ड नगरपालिकाका मेयरसहित स्थानीयले तिङ्लामा विद्युत् नबाली उद्घाटन गर्न नहुने तर्क राख्दै आएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया