Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएक महिनामा चार सय १९ जना पर्यटक भित्रिए शुक्लाफाँटामा

एक महिनामा चार सय १९ जना पर्यटक भित्रिए शुक्लाफाँटामा


धन बहादुर जप्रेल
महेन्द्रनगर, फागुन ११
नेपाल भ्रमण वर्ष सुरु भएपछि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हालसम्म जम्मा चार सय १९ जना पर्यटकले अवलोकन गरेका छन् । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेसँगै यस क्षेत्रमा पनि पर्यटनलाई निकै महत्वका साथ हेरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको छ । योसँगै दोधाराको झोलुङ्गेपुल, वेदकोट ताल, वेदकोटको लिङ्ग क्षेत्र, झिलमिला ताल यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले दिएको जानकारीअनुसार गएको एक महिनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार सय एक जना नेपाली, सार्क क्षेत्र भित्रबाट ६ जना र अन्य विदेशी मुलुकबाट १२ जना गरी जम्मा चार सय १९ जना पर्यटकले अवलोकन गरेका छन् । यस्तै नेपाल भम्रण वर्ष २०२० सुरू भएको एक महिना अवधिमा नेपालको पश्चिमी नाका गड्डाचौकीबाट २ सय २४ जना पर्यटक भित्रिएका छन् ।

गड्डाचौकीमा रहेको अध्यागमन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकीबाट जनवरी महिनामा विभिन्न देशका जम्मा २ सय २४ जना पर्यटक नेपाल भित्रिएका छन् । भ्रमण वर्षको पहिलो महिनामा गड्डाचौकीबाट नेपाल भित्रिनेमा सबैभन्दा बढी अमेरिका र रसियन नागरिक रहेका छन् । अध्यागमन विभागका अनुसार जनवरीमा अमेरिकन २८ जना, रसियन २६, थाई (थाइल्यान्ड) २१, अस्ट्रेलियन १२ र इटालियन १० जना छन् । त्यस्तै नेपाल भित्रिएका विदेशीमा फ्रान्सका १४, इरानका १०, स्पेनका ८, बेलायतका ७, चीनका ४, जापान, बोलिभिया, युगान्डा र पेरूका ३/३ छन् ।

अध्यागमन कार्यालयका शैलेन्द्र बडुका अनुसार भारत भएर नेपाल आउने तेस्रो मुलुकका पर्यटकको मात्रै तथ्यांक राख्ने गरिएको छ । उनका अनुसार यस नाका हुँदै भित्रिने पर्यटक शुक्लाफाँटा, राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र पोखरा घुम्न जाने गरेका छन् । सुदूरपश्चिममा पर्यटकको उल्लेख्य आगमन हुन नसक्नुमा स्थानीय पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हुन नसकेको सुदूरपश्चिमका पर्यटन व्यवसायी एवम् कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष प्रमान्द भण्डारीले बताए ।

‘पर्यटकीय पूर्वाधारको अभाव तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार नहुँदा पश्चिमी नाकाबाट पर्यटक भित्रिन नसकेका हुन्’, उनले भने, ‘प्रचारप्रसार नहुँदा चाँदनीदोधारा झुलुंगे पुल, रामारोसन, खप्तड, बडिमालिकालगायत क्षेत्र तेस्रो मुलुकका पर्यटकको नजरमा पर्न सकेका छैनन् ।’ नाकामा पर्यटनमैत्री वातावरण सृजना गर्न, सम्भावित पर्यटकीय स्थलको प्रचारप्रसार र पूर्वाधार निर्माण जोड दिनसके यस क्षेत्रमा पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । त्यस्तै, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले निजी क्षेत्रलाई पनि भ्रमण वर्षको योजनाबारे जिम्मेवारी दिनुपर्ने बताए । पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव, कमजोर आन्तरिक सुरक्षा व्यवस्था र प्रचारको अभावमा पर्यटक भित्रिन नसकेको उनको भनाइ छ । स्थानीय निजी क्षेत्रका व्यवसायीको पहलमा जिल्ला ट्राफिक कार्यालयले महेन्द्रनगरले भारतीय पर्यटकको तथ्यांक राख्ने गरेको उनले जानकारी दिए । यस महिना मात्रै करिब पाँच हजार भारतीय पर्यटक नेपाल भित्रिएको उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हाल तीन सय ४ वर्ग किलोमिटरमा फैलिएको छ भने यसको मध्यवर्ती क्षेत्र ३ सय ४३ वर्ग किलोमिटर रहेको छ । यस्तै निकुञ्जभित्र ५३ प्रजातिका वन्यजन्तु, २४ प्रजातिका माछाहरू, ३५ प्रजातिका पुतलीहरू, ४ सय २४ प्रजातिका चराहरू, सात सय प्रजातिका रुख बिरुवा, १२ प्रजातिका घर्षने वन्यजन्तु, तराईको सबैभन्दा ठूलो क्षेत्र फैलिएको ५४ वर्ग किलोमिटर घाँसे मैदान, विश्वकै सबैभन्दा ठूलो २ हजार ३ सय ४६ बाह्रसिङ्गाको झुण्ड, र ५६ प्रजाति स्तनधारी जनावर रहेका छन । यस्तै ६० किलोमिटर जङ्गल ड्राइभ गर्न सकिने, वाक गर्न सकिने, हात्ती सफारी गर्न सकिने, नेपाली हिन्दी र अंग्रेजी भाषामा नेचरका गाइडहरु, मध्यवर्ती क्षेत्रमा एसियाको लामो झालुङ्गेपुल निकुञ्जबाट नजिकै रहेको, र राना थारु होमस्टे पनि पर्यटनको लागि नयाँ गन्तव्यको रूपमा रहेको राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया