Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकर्मचारी धर्नामा बस्दा कामकाज प्रभावित

कर्मचारी धर्नामा बस्दा कामकाज प्रभावित


धनबहादुर जप्रेल
कञ्चनपुर, फागुन १२
कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । शान्ति, सुरक्षाको माग गर्दै महाकाली नगरपालिकाका कर्मचारीहरू आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । कर्मचारी धर्नामा बसेपछि नगरपालिकाले दिने सेवा र कामकाजमा प्रभावित भई कामकाज बन्द भएको छ ।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा पक्राउ परेकी महाकाली नगरपालिका–६ की शुसिला थापालाई छोडेको भन्दै आक्रोशित स्थानीयहरूले नगरपालिका, इलाका प्रहरी कार्यालय दोधारा–चाँदनी तथा थापाको घरमा ढुंगामुढा गरेर तोडफोड गरेका थिए । नगरपालिकामा गत बुधबार तोडफोड भएको थियो । तोडफोडमा नगरपालिकाको कुर्सी, झ्यालका सिसा र सोलार प्यानल, कम्प्युटर, जीप आदिमा तोडफोड गरिएको थियो भने इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको बोर्ड, जीप र थापाको घरमा स्थानीयहरूले आक्रमण गरेका थिए ।

तोडफोडको विरोधस्वरूप शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरू अनिश्चितकालीन धर्नामा बसेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए । ‘नगरपालिकाको कामकाज छोडेर शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरू अनिश्चितकालीन धर्नामा बसेका छन् ।’ उनले भने, ‘स्वस्फुर्तरूपमा कर्मचारीहरू धर्नामा बसेका छन्, शान्ति, सुरक्षाको प्रत्याभूति हुनु पर्ने सबै कर्मचारीहरूको माग छ ।’ उनका अनुसार नगरपालिकाका १० वटै वडासहित नगरपालिकामा कार्यरत ३९ जना कर्मचारी धर्नामा बसेका छन् ।

कर्मचारीहरू आन्दोलित भएपछि नगरपालिकाले गर्ने दैनिक कामकाजहरू पूर्णरूपमा प्रभावित भएका छन् । विभिन्न कामकाजका लागि नगरपालिकाका पुगेका सेवाग्राहीहरू काम नगरेर घर फर्किएका छन् । ‘आन्दोलनबारे मलाई थाहा थिएन, नगरपालिका पुगेर थाहा भयो, कर्मचारीहरूले ‘पेन डाउन’ गरेका रहेछन्, मेरो काम नै भएन ।’ नगरपालिकामा पुगेका सेवाग्राही हरिश सुनारले भने ।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा छुटेकी थिइन् । थापा बुधबार धरौटीमा रिहा भएकी थिइन् । महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए । नगरपालिका र प्रहरी कार्यालयमा तोडफोड गर्नेमध्ये १६ जना पक्राउ परेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया