Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपहिरोको कारण गौरीशंकर फेदीका १० घर विस्थापित, विद्युत् र खानेपानी अवरुद्ध

पहिरोको कारण गौरीशंकर फेदीका १० घर विस्थापित, विद्युत् र खानेपानी अवरुद्ध


दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ फेदीमा शनिबार राति परेको अविरल वर्षासँगै गएको पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गाउँभन्दा तलबाट निरन्तर पहिरो बगिरहेकाले यहाँका घर उच्च जोखिम रहेको र सुरक्षित स्थानमा सार्ने काम भइरहेको गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले जानकारी दिए ।

पहिरोले फेदी गाउँका स्थानीयले प्रयोग गरेको खानेपानी पाइप तथा ट्यांकी भत्काएको हुँदा गाउँमा खानेपानी समस्या समेत देखिएको छ । उनीहरूलाई खानेपानी भएको सुरक्षित ठाउँमा सार्न वडालाई निर्देशन दिएको उपाध्यक्ष तामाङले बताए । त्यस्तै पहिरोले विद्युत्को पोल ढालेर गाउँ जलविद्युत् अवरुद्ध बनाएको छ । यसअघिको पहिरोले वडा नम्बर–९ सिमीगाउँका १९ घरपरिवार विस्तापित भएका थिए । गाउँपालिकामा यस वर्ष बाढी–पहिरोले ४५ घरपरिवार विस्थापित भएका छन् भने सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । दोलखामा पहिरोका कारण मानवीय क्षति नभए पनि दुई दर्जन बढी घरमा क्षति पुगेको छ भने करिब दुई सय घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

त्यसैगरी पहिरोले जिल्लाको तामाकोशी गाउँपालिकाको मालुखोला बेँसी, गौरीशंकर गाउँपालिकाको फेदी बेँसी, कालिञ्चोक गाउँपालिकाको लापिलाङमा सयौँ रोपनी खेतीयोग्य जमिन बगाएर धान, कोदो तथा मकैको बाली नष्ट गरेको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको हुँदा जिल्लामा बाढी–पहिरोका घटना वृद्धि भएको हो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया