Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनिर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह

निर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरेका छन् । निर्यात प्रवर्द्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग सोमबार भएको छलफलमा उनले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सीप प्रवर्द्धन गर्न सरकार र चेम्बरबीच सहकार्य गर्न लागिएको बताए ।

औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने विभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा. ज्ञवालीसँग छलफल गरेको हो । उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्द्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाउँदै चेम्बर अध्यक्ष मल्लले विदेशमा सिकेको सीप र लगानीले नेपालका उद्योगहरुमा प्रवर्द्धन गर्न सकिएमा कहाली लाग्दो व्यापारघाटा कम गर्न सकिने बताए । औद्योगिक ब्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल ब्याजदरको व्यवस्था कायम गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे ।

दश करोड रुपैयाँबराबरको विद्युत् खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवर्द्धन गर्न सकिने बताए । मुख्य–मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुहरुको निर्यातमा पटक–पटक समस्या आउने गरेको अध्यक्ष मल्लको भनाइ छ । यस्तै उद्योगहरुमा वातावरणीय प्रभाव मूल्यांकन ईआईएको व्यवस्थामा सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले सचिव ज्ञवालीसँग आग्रह गरे ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रवर्द्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । विदेशबाट फर्किएका युवाहरुको सिप र लगानी प्रवर्द्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको ज्ञवालीले बताए । यसका लागि वैदेशिक रोजगारसम्बन्धी छुट्टै रोष्टर बनाउने तयारी भइरहेको ज्ञवालीको भनाइ छ । वार्षिक नौ खर्ब रुपैयाँबराबरको निर्यात क्षमता भए पनि यसबाट लाभ लिन नसकिएको ज्ञवालीले बताए । चेम्बरका पदाधिकारीसँग सचिव ज्ञवालीले उद्योगहरुमा वातावरणीय प्रभाव मूल्यांकन ईआईएको सहजीकरणमा आफूले पहल गर्ने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया