Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालव्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुलाई चेम्बरको आग्रह

व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुलाई चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकु-यालसँग चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रवर्द्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउन पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । ईपीएसमार्फत कोरियामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रवर्द्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिनसक्ने बताए । उनले भने, ‘नेपाल हाउसको अवधारणाअन्तर्गत स्वदेशी उत्पादनहरुको प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामाग्री, जडिवुटी, भीरमहलगायतको माग कोरियामा बढ्दो छ ।’

कोरियाली बहुराष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकु-यालको ध्यानाकर्षण गराए । भेटवार्तामा राजदूत प्याकु-यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवर्द्धन र दुई पक्षीय व्यापार नै पहिलो प्राथमिकता रहेको बताइन् । उनले भनिन्, ‘एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ ।’

यस्तै, चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटवार्ता गरेको छ । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवं दुई पक्षीय व्यापारबारे छलफल भएको छ । अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेटलगायतको निर्यातमा सहजीकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसँग आग्रह गरे । सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल वार्षिक पाँच हजारको हाराहारीमा पर्यटक नेपाल आइरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे । जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्बन्ध विस्तार गर्न आफु प्रतिबद्ध रहेको बताए । यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाइ छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया