Techie IT
×
गृहपृष्ठनेपालफर्निचर तथा फर्निसिङ एक्स्पोमा प्रदर्शकको उत्साहजनक सहभागिता हुने

फर्निचर तथा फर्निसिङ एक्स्पोमा प्रदर्शकको उत्साहजनक सहभागिता हुने


काठमाडौं । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरूको उल्लेख्य सहभागिता हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजनामा हुनलागेको एक्स्पोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने दाबी गरिएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको बारेमा जानकारी गराएको हो । आयोजकले एक्स्पोको आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु गर्न लागेको जानकारी दिएको छ ।

संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहनेछ’, उनले भने । भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा एक सयभन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् ।

संघका महासचिव अर्जुन घिमिरेका अनुसार पाँच दिन चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निःशुल्क गरिएको उनले बताए । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिस्ट्रेसन डेक्समा उपलब्ध गराउनुपर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेन्ट पार्टनर डिजी–पेमार्फत पनि निःशुल्क प्रवेश पास पाउन सकिनेछ । प्रत्येक दिन डोर प्राइजका साथै दशैँ विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएकाले स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको बताए ।

बदलिँदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । यस्तो मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको भन्दै संघले एक्स्पोले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ । ‘नेपाली उत्पादनको प्रवर्द्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुहरूलाई विस्थापन गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोले नीति निर्मातालाई घच्घच्याउने अपेक्षा गरेका छौँ’, एक्स्पोका संयोजक ओम बस्नेतले भने । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने अपेक्षा गरिएको छ । प्रदर्शनीमा फर्निचर फर्निसिङका नवीनतम सामग्रीको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने लक्ष्य आयोजकको छ ।

एक्स्पोलाई डिजिटल पेमेन्ट पार्टनरमा डिजी–पे र स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसियसन नेपालको सहयोग रहेको छ । इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया