Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसम्झौताअनुरूप काम नगरेपछि केयूकेएलले तोड्यो चिनियाँ कम्पनीसँग ठेक्का

सम्झौताअनुरूप काम नगरेपछि केयूकेएलले तोड्यो चिनियाँ कम्पनीसँग ठेक्का


काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सम्झौताअनुरूप काम नगरेपछि चिनियाँ कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ)सँगको ठेक्का सम्झौता अन्त्य गरेको छ । केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोनसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता (केयूकेएल/डब्लूडब्लू/टिपी–०२) अन्त्य गरेको हो ।

पीआईडीले उक्त कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा तीनवटा फोहोरपानी प्रशोधन केन्द्रहरू निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । दुई वर्ष छ महिनाभित्र निर्माणसम्पन्न गर्ने र पाँच वर्षसम्म सञ्चालन गर्नेगरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको पीआईडीका आयोजना उपनिर्देशक एवं प्रवक्ता ई. चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । तर, उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माणकार्यलाई सम्झौताबमोजिम अघि नबढाएको उनको भनाइ छ । तोकिएको समयमा निर्माणसम्पन्न गर्न पीआईडीले बारम्बार ताकेता गरिनुका साथै पाँच पटकसम्म म्याद थप गर्दा पनि काम नगरेपछि ठेक्का रद्द गरिएको श्रेष्ठले जानकारी दिए । पछिल्लो पटक यही सन् २०२२ को जुलाई ३१ सम्म काम गर्नको लागि समय दिइएको थियो । फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माणस्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौताअनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र पीआईडीबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको पीआईडीले जनाएको छ ।

तीनवटै फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल तीन अर्ब ९२ करोड रूपैयाँमा सम्झौता भएको थियो । उक्त कम्पनीले सम्झौताबमोजिम बैंक ग्यारेन्टीस्वरूप राखेको करिब ४९ करोड धरौटी रकम पनि जफत गरिएको पीआईडीका प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार उक्त कम्पनीले थपिएको अवधि समेत गरी पाँच वर्ष तीन महिनामा जम्मा २७ दशमलव एक प्रतिशत मात्र काम गरेको छ भने करिब ७७ करोड २७ लाख रूपैयाँ भुक्तानी लगेको छ । अब, तीनवटै फोहोरपानी प्रशोधन केन्द्रहरूको बाँकी निर्माणकार्य नयाँ ठेक्का प्रक्रियाबाट छिटोछरितो ढंगले अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने श्रेष्ठले जानकारी दिए । उक्त केन्द्रहरूबाट प्रतिदिन छ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन हुने बताइएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया