Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुमा लोकल केराको माग उच्च, बजारसम्म ल्याउन किसानलाई भने समस्या

सोलुमा लोकल केराको माग उच्च, बजारसम्म ल्याउन किसानलाई भने समस्या


सोलुखुम्बु । सोलुखुम्बको हाट बजारमा लोकल केराको माग बढ्दो छ । खानामा धेरै स्वादिलो र स्वास्थ्यका लागि समेत लाभदायिक भएकाले लोकल केराको माग चुलिदै गएको हो । उपभोक्ताको भिडभाड पनि लोकल केरा खरिदमा उच्च छ ।

जिल्ला सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँ बजारमा कतिपय मानिसहरु लोकल केरा किन्न कै लागि मात्रै एकाविहानै हाटमा पुग्छन् । विहान करिब ७ बजे नै हाटमा केरा खरिद गर्दै गर्दा भेटिएका सल्लेरीकी पशी शेर्पाले भनिन्, ‘म बच्चाहरुका लागि लोकल केरा किन्न आएकी हुँ, ढिलो आयो भने केरा सकिहाल्छ, त्यसैले विहानै आएको ।’ स्वादिष्ट र स्वास्थ्यवर्दक हुने भएकाले आयातित केरा भन्दा पनि लोकल केरा धेरै मात्रामा किन्ने गरेको सोलुदुधकुण्ड नगरपालिका ३ फलामखानिकी याङजी डोमा तामाङ् बताउँछिन। उनले भनिन्, ‘स्थानिय स्तरमा उत्पादन भएका लोकल केरा खानाले स्वास्थ्यका लागि धेरै राम्रो हुने र विषादीको प्रयोग नभएकोले लोकल केरा नै किन्ने गर्छु ।’ उपभोक्ताहरुमा लोकल केरा खान पाउँदा खुशी छन् भने केरा किसान भने पिडामा छन् ।

यातायातको सुविधा भएपनि सडक र गाडी भाडाकै कारण अझैपनि किसान तथा साना व्यापारीहरु केरा बोकेर हिडेरै बजार पुग्नुपर्ने बाध्यतामा छन् । एकातिर गाढी चढौँ भने आफ्नो उत्पादनको सुरक्षा नहुने, अर्को तिर भाडाले केरा बेचेको पैसा खर्चनुपर्ने बाध्यता रहेको छ । यस्तै बिविध कारणहरुले गर्दा केराको मुल्य समेत आकाशिएको नेचासल्यान ५ का बुद्धिराज राईको भनाई छ ।

उनी भन्छन,‘लोकल केरा खादा जति मिठो, स्वास्थ्यको लागि राम्रो भएता पनि केराको उत्पादन, ढुवानी गर्नमा र केरालाई पहेले रोगबाट बचाउन उत्तिकै चुनौति छ, आफैले उत्पादन गरेको लोकल केरा सदरमुकाम हाट बजारसम्म ल्याउन पनि बाटोको असुविधाले धेरै गाह्रो छ, त्यहि भएर मुल्य धेरै भएको हो ।’ बिभिन्न बाधा अबरोधका बाब्जुत पनि लोकल केराहरु उत्पादन गरि बजारमा ल्याएर बिक्री गरिरहेको उनले बताए ।

थुलुङ दुधकोशी ७ देउसाका रोशन राईको चिन्ता मुल्यमा रहेको छ । गाउँघरमै राम्रो मुल्य पाउने केराले हाट बजारमा भने कम मुल्य पाउने गरेको उनको भनाई छ तर लोकल केराको माग बढेको उनी बताउँछन् । ठूला व्यापारीले आयातित केरा बिक्री गर्ने गरेका छन् भने किसानहरु आफैले उत्पादन गरेको केरा डोकोमा बोकेर बिक्रीका लागि हाट सम्म पुग्ने गर्दछन् । लोकल केरा स्वादिष्ट फल मात्र होइन यसले औषधीको रुपमा पनि पनि काम गर्ने जानकारहरु बताउँछन् ।

केरा नियमित्त खानाले स्वास्थ्य सम्बन्धी कतिपय रोगबाट बच्न सकिन्छ भने मुटुसम्बन्धी समस्यादेखि छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्य समस्या समाधानका लागि पनि केरा निकै उपयोगि मानिन्छ । केरामा पोटासीयमको मात्रा धेरै हुने हुँदा रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्ने, हड्डी बलियो बनाउने र शरिरलाई ऊर्जा दिने भएकाले बृद्धबृद्धा र बालबालिकालाई बढी केरा खुवाउने गरिन्छ । तर बजारमा यसको माग उच्च भएपनि उत्पादन घट्दै जाँदा समस्या भएको छ । लोकल केराको मागलाई धान्न व्यवसायिक केरा खेतिमा जोड दिन आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया