Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुका शेर्पा सैलुन व्यवसायमा रमाउँदै

सोलुका शेर्पा सैलुन व्यवसायमा रमाउँदै


सोलुखुम्बु । शेर्पा समुदाय भन्नेबित्तिकै पर्यटक तथा चौरीपालन व्यवसाय भन्ने तपाईं हाम्रो मानसपटलमा आइहाल्छ । तर सोलुखुम्बु सदरमुकाम सल्लेरीमा भने एक शेर्पा युवाले पहिलोपटक सैलुन व्यवसाय सुरु गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका २ फेराका २९ वर्षीय युवा सोनाम शेर्पाको दैनिकी हिजोआज कपाल काट्नमै बित्छ । शेर्पा समुदाय भन्नेबित्तिकै पर्यटन व्यवसाय र चौरीपालनमा बढी कहलिएको नाम हो । तर सोनामले भने फरक ढंगको व्यवसाय सुरु गरेका छन् ।

उनले काठमाडौंमा तालिम लिएर अहिले सदरमुकाम सल्लेरीमा सोनाम युनिसेक्स हेयर एण्ड ब्युटी सैलुन सञ्चालन गरेका छन् । जुन व्यवसायबाट सोनाम निकै सन्तुष्ट पनि छन् । उनले भने, ‘सुरु–सुरुमा त निकै गाह्रो नै लाग्यो, कतिले त यस्ता तराईवासीले गर्ने काम पनि शेर्पाले गर्छन् ? भनेर होच्याउने र खिसिट्युरी समेत गरे, तर अहिले मेरो कमाइ र व्यवसाय देखेर उनीहरु मलाई हौसला दिन्छन् । वास्तवमा काम सानो ठूलो हुन्न मान्छेले गर्ने काम हो, सीप जसले गर्दा पनि हुन्छ ।’ कपाल काट्ने पेसा तराईमूलका ठाकुर समुदायको मात्रै हो भन्ने मानसिकता अझै पनि हामीमा छ । तर सल्लेरीमा सोनामले सञ्चालन गरेको पार्लरसहितको सैलुन पहिलो पटक देख्ने जो कोही पनि अचम्मित हुन्छन् ।

काठमाडौंको बौद्ध आरुबारी स्थायी ठेगाना भएकी आङ्ल्हामु शेर्पाले भनिन्, ‘सुरुमा त शेर्पाको सैलुन हैन होला भन्ने लागेको थियो, पछि यसो नाम हेरे सोनाम सैलुन रहेछ, अनि मेरो मनमा शेर्पाले सुरु गरेको रहेछ तर कपाल काट्ने कामदारचाहिँ तराईबाट ल्याएर राखेको होला भन्ने सोचे, तर सैलुनभित्र हेर्दा सोनाम आफैँ कपाल काटिरहेका थिए । उसले अझै एक जना मगर भाइलाई पनि कपाल काट्नमा काम दिएको भेटे । मगर भाइले चाहिँ भारतमा तालिम लिएर आएका रहेछन् । खुसी लाग्यो ।’

सोही सैलुनमा नेपालगन्ज घर भएका विजय मगर पनि कपाल काट्ने काम गर्छन् । उनी भारतमा सैलुन तालिम लिएर आएका हुन् । जेन्स हेयर कट, लेडिज हेयर कट, फेस क्लिनिङ÷फेसियल, बियर्ड (दारी जुँगा मिलाउने, कलरिङ, ट्रिटमेन्ट, हेयर ट्रिटमेन्ट, हेयर स्ट्रेट, कर्लीलगायतका सैलुनका सबै काममा सबै काममा शेर्पाको दक्षता छ । जहाँ सेवा लिन आउने सेवाग्राही पनि निकै सन्तुष्ट देखिन्छन् । ‘शेर्पाले राम्रो कपाल काट्दैन होला भन्नेहरु अन्तिममा निकै खुसी मुद्रामा जान्छन्’, सोनामले भने ।

सोनाम रोजगारीका लागि सुरुमा खाडीमुलुक गएका थिए । विना सीप विदेश हानिएका शेर्पाले त्यहाँ पाएको दुखले स्वदेशमै सम्भावना खोज्ने पाठ सिकायो । केही वर्षको विदेश बसाइपछि नेपाल फर्किएका सोनामको ध्यान हजाम अर्थात् सैलुनतर्फ मोडियो । विदेशमा पुगेर पैसाका लागि हरेक काम गर्न तयार हुने नेपाली स्वदेशमा कामलाई विभेद गर्छन् । जुन कारणले पनि नेपालीहरु रोजगारको खोजीमा विदेशिने क्रम बढेको हुन सक्ने शेर्पाको भनाइ छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया