Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालइन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजक

इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजक


काठमाडौं । आईसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजकको रुपमा सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गरेको छ । बिहीबार एक कार्यक्रमबीच इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबिच शीर्ष प्रायोजनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट सहसंस्थापकहरु प्रविण सुवेदी, अर्विन्द प्रधान र सीओओ डा. राजिव सुब्बाको उपस्थिति थियो । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आईसीटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता छ । सातौँ आईसीटी अवार्डको शीर्ष प्रायोजकको रुपमा इन्फोडेभलपर्सले सहकार्य गर्ने सुवर्ण अवसर पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका सीईओ उमेश रघुवंशीले भने, ‘हामीले २० वर्षदेखि डिजिटल रुपान्तरणको लागि काम गर्दै आइरहेका छौँ, अब यसको इकोसिस्टमको विकासमा थप योगदान गर्ने उदेश्यले आईसीटी अवार्डसँग सहकार्य गरेका हौँ ।’

२०औँ वर्षको यात्रामा इन्फोडेभलपर्सले तीन सय ५० जना बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । नेपालका प्रमुख सरकारी, गैरसरकारी, व्यावसायिक र वित्तीय संस्थाहरुमा सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स सफ्टवेयर उद्योग क्षेत्रको एउटा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड बनिसकेको छ । कम्पनीलाई नेपाली युनिकर्नको रुपमा स्थापित गराउने लक्ष्य सहित एक वर्षमा एक अर्बको कम्पनी बनाउने आक्रमक रणनीतिक योजना बोकेर अहिले इन्फोडेभलपर्स अगाडि बढेको छ । कम्पनीले नेपालबाहेक अन्य देशहरुमा समेत आफ्नो सेवा विस्तार गरिरहेको छ ।

सन् २०१६ बाट सुरु भएको ‘आईसीटी अवार्ड’को सातौँ संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुँदै छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रक्रियामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिष्ट सल्लाहकारहरु छन् । यस वर्ष विभिन्न १२ विधामा पाँच सय बढीको नोमिनेसन प्राप्त भएको छ ।

आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यसैगरी प्रि–इभेन्ट क्याम्पियनको रुपमा कात्तिक १८ र १९ गते एक सयभन्दा बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरुको प्रदर्शनी तथा इन्क्युवेसन कार्यक्रम ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुनेछ । यसको लागि आयोजकले यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गरेको थियो । सातै प्रदेशबाट ४० बढी स्टार्टअप तथा आइडियाहरु काठमाडौंको कार्यक्रमको लागि छनौट भएका छन् । आईसीटी अवार्ड २०२२ को दोस्रो चरणको छनौटपश्चात् स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ को सार्वजनिक गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया