Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकलाकारिताबाटै स्वरोजगार बनेकी पौडेल

कलाकारिताबाटै स्वरोजगार बनेकी पौडेल


काठमाडौं । ‘सपनाहरू साना हुँदैनन्, सपनाहरू रङ्गहीन पनि हुँदैनन् । सपनाहरू रङ्गीन हुन्छन्, जब ती रङ्गीन सपनाहरूले सताउन थाल्छन्, तब ती सपनाहरू पूरा गर्ने हुटहुटी पनि बढ्नेरहेछ, त्यही हुटुहुटीले मलाई मिहिनेती बनायो, लगनशील बनायो, जिम्मेवार बनायो, एउटा स्थापित कलाकार बनायो, यही कलाकारिताबाट म स्वरोजगार भएकी छु’, नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि निकै नै सक्रिय रहेकी कलाकार रचना पौडेल भन्छिन् । मोरङको विराचोक जन्मथलो भए पनि कर्मथलो भने काठमाडौं नै भएको पौडेल आजको दिनमा कलाकारिता क्षेत्रमा निकै नै स्थापित नाम बनिसकेकी छन् ।

विसं २०६५ सालदेखि नै निरन्तर कलाकारिता क्षेत्रमा लागेकी पौडेलले दानव, मनमनै मन पराएँ, मिलापसहितका २५ भन्दा बढी ठूला चलचित्रहरूमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । यसका अतिरिक्त गौँथली, नौटकी, प्यारी मोहिनी, पुरानो संसार, पुतलीलगायतका दर्जन टेलिसिरियलहरूमा पनि पौडेलले सफलरूपमा अभिनय गरिसकेकी छन् । कलाकारिता गर्दागर्दै उनले आफ्नै स्वस्तिक मिडिया पनि सञ्चालन गरिरहेकी छन् । उनले अभिनय गरेको टेलिसिरियलहरूमध्ये गौँथली र नौंटकी पौडेलको आफ्नै स्वस्तिक मिडियामार्फत निर्माण भएको हो । ‘मलाई यो क्षेत्रमा लाग्न सिंगो परिवारको साथ र सहयोग रहेको छ । त्यसमाथि पनि मलाई धेरै सर्पोट गर्ने भनेको मेरी छोरी स्वस्तिका हो, उसकै नाउँबाट मैले आफ्नो च्यानलको नाम स्वस्तिक मिडिया राखेकी हुँ’ उनी भन्छिन् ।

‘कलाकारिता क्षेत्रमा लागेको लामो समय भयो, आजको दिनसम्म मैले जानेको, बुझेको, रोझेको र अनि काम गरेको क्षेत्र भनेको नै कलाकारिता हो, यसले नै मलाई स्वरोजगार बनाएको छ । यो महंगो सहर काठमाडौंको बाँच्न र टिक्न सक्ने बनाएको छ’, पौडेल भन्छिन, ‘कला र कलाकारिता भनेको निष्ठा हो, त्याग हो, तपस्या हो, साधना हो, जब यी सबैको बलियो संयोग बन्छ, कलाकारितामा टिक्न, बिक्न, बाँच्न सकिने रहेछ ।’

कलाकारिताबाहेक आजको दिनसम्म अन्य कुनै पनि क्षेत्रमा हात नहालेको बताउने पौडेल कलाकारिता क्षेत्रबाट नै आफू स्वरोजगार भई आफू र आफ्नो परिवारको जीवनलाई सहज बनाउन सकेकोमा गर्व गर्छिन् ।

‘अन्य कलाकारहरूले कलाकारिताबाहेक वैकल्पिकरूपमा अन्य व्यापार व्यवसाय पनि सम्हाल्नुभएको छ, तर मेरो जीवनमा भने त्यो छैन, मेरो जे छ, कलाकारितामै छ, जे गर्छु कलाक्षेत्रमा नै गर्छु, जतिसम्म गर्छु कलाकारिता नै क्षेत्रमा गर्छु’, उनी भन्छिन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया