Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमनकामना केबलकार २५औँ वर्षमा प्रवेश

मनकामना केबलकार २५औँ वर्षमा प्रवेश


काठमाडौं । नेपालकै पहिलो मनकामना केबलकारको सञ्चालन २५औँ वर्षमा प्रवेश गरेको छ । यस केबलकार २०५५ मंसिर ८ देखि नियमित सञ्चालनमा आएको थियो ।

केबलकारले हालसम्म करिब एक करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबलकार सेवा प्रदान गरिसकेको जनाएको छ । केबलकारको नियमित सञ्चालनपश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको कम्पनीको भनाइ छ । साथै यस क्षेत्रको व्यापार व्यवसायहरुमा उल्लेख्य वृद्धि भएको र विश्वसामु समेत मनकामनाको प्रचारप्रसार भएको कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।

यस्तै कम्पनीले केबलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठको सम्झनामा केबलकारले आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्चिने गरेको छ । व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले विभिन्न सामाजिक, धार्मिक, शिक्षाजस्ता आदि कार्यमा सहयोग पु-याउँदै आएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले विगत लामो समयदेखि केबलकार अवस्थित चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कुल आम्दानीको १÷१ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जीर्णोद्धारलगायत विकास निर्माणकार्य आदिमा खर्चिँदै आएको जनाएको छ । साथै भूकम्प तथा कोभिडजस्ता प्राकृतिक तथा अन्य विपत्तिका समयमा राहत वितरण तथा सहयोग समेत गरेको कम्पनीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार मनकामना केबलकार हाल एनालग प्रविधिबाट डोप्पेलमेयरको डि कनेक्ट डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै गरेको छ । यसको प्रथम चरणको कार्य सम्पन्न भई वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले डिजिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबलकार प्रणाली भएको कम्पनीले जानकारी गराएको छ । यस्तै वार्षिकोत्सवको उपलक्ष्यमा यसै समूहको भ्रातृ कम्पनी रिसोर्ट्स बाई मनकामना केबल कार (प्रा.)लि.ले मनकामनामा ४० कोठायुक्त सुविधासम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी समेत गर्न लागेको छ । यसको लागत करिब ४८ करोड रुपैयाँ अनुमानित गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया