Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल१८औँ राष्ट्रिय कफी दिवस मनाइँदै

१८औँ राष्ट्रिय कफी दिवस मनाइँदै


काठमाडौं । कफी उत्पादक किसान, स्टेट, प्रशोधक, विक्रेता, कफी उपभोक्ताको उत्सवको रूपमा आज अर्थात् शुत्रबार ‘राष्ट्रिय कफी दिवस’ मनाइँदै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा नुवाकोटको विदुरमा १८औँ राष्ट्रिय कफी दिवस मनाउन लागिएको हो ।

प्रत्येक वर्ष मंसिर १ गते मनाइने कफी दिवस यसवर्ष भने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को आचारसंहिताका कारण शुक्रबार मनाउन लागिएको बोर्डले जनाएको छ । यसवर्षको कफी दिवसको मूल नारा ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ रहेको छ । कफी रोपणले नेपालमा लगभग ८४ वर्षको इतिहास बनाइसकेको छ । विसं १९९५ मा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । हाल नेपाली कफीले स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरुसँग समतुल्य स्थान बनाउन सफल भएको छ ।

माग उच्च, उत्पादन कम
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । तर मागअनुसार कफीको उत्पादन हुन नसक्दा कफीको आयात बढेको छ । गतवर्ष भने आयात प्रतिस्थापन भई निर्यातमा केही आशाको किरण पलाएको बोर्डले जनाएको छ । आव २०७७/०७८ को तथ्यांकअनुसार १० करोड ६७ लाखबराबरको १९८ दशमलव ७ मेट्रिक टन कफी आयात हुँदा नौ करोड ६० लाखबराबरको ७२ दशमलव ४८ मेट्रिक टन कफी विदेश निर्यात भएको थियो । यस्तै भन्सार विभागको आव २०७८/०७९ को तथ्यांकअनुसार १२ करोड ७६ लाखबराबरको २७९ दशमलव ७८ मेट्रिक टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रूपैयाँबराबरको ६९ दशमलव ५ मेट्रिक टन मात्रै कफी निर्यात भएको छ ।

बोर्डका अनुसार आव २०७८/७९ मा नेपालभर तीन सय ५५ मेट्रिक टन ग्रीन वीन कफी उत्पादन भएको थियो भने कुल उत्पादनको झन्डै २० प्रतिशत कफी विदेश निर्यात भएको छ । यस्तै नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्ने बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार नेपालको आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम दुई हजार एक सय ६० मेट्रिक टनभन्दा बढी कफी खपत भइरहेको छ । साथै दिनप्रतिदिन उच्च रुपमा माग बढेको भट्टराईले बताए । आन्तरिक उत्पादनले एक महिना पनि नेपालको माग धान्न नसकेको उनको भनाइ छ । कफी सेवनकर्ताहरुको माग बढ्नु र युवाहरुको प्राथमिकतामा कफी क्याफे तथा आउटलेट स्थापनामा परेकोले पनि कफीको माग बढ्दै गइरहेको उनले बताए । आन्तरिक माग पूर्तिका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नुपर्ने उनको भनाइ छ ।

उत्पादन बढाउन लगानीकर्ता भित्र्याउन आवश्यक
कफी क्षेत्रमा युवा पुस्ताहरुलाई आकर्षण गरी कफी खेतीलाई कफी स्टेटमा रुपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताए । साथै कफी क्षेत्रमा व्यापक रुपान्तरणको लागि ठूला व्यवसायिक फार्महरु स्थापना गर्नुपर्ने र त्यसका लागि लगानीकर्ताहरु भित्राउन जरुरी रहेको उनको भनाई छ । उनका अनुसार प्रधानमन्त्री शेर वहादुर देउवाले पनि राष्ट्रिय कफी दिवसको अवसर पारेर गत मंसिर १ गते एक विज्ञप्ति जारी स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा निजी क्षेत्रलाई थप लगानी गर्न आव्हान गरेका थिए ।

यस्तै व्यावसायिक कफी उत्पादन बढाउन बोर्डले पनि केही जिल्ला, प्रदेश र स्थानीय सरकारसँग योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । गतवर्ष देखि बोर्डले व्यावसायिक उत्पादनको लागि चक्लाबन्दीमा कफी क्षेत्र विस्तार र स्थानीय क्षेत्रभित्र व्यावासायिक नर्सरी बिरुवा उत्पादन कार्यक्रमलाई अगाडि बढाएको जनाएको छ । बोर्डले तिनै तहका सरकारको बीचमा एकीकृत कार्यक्रमको अवधारणा अगाडि बढाउँदै उत्पादन केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्न जोड दिँदै आएको छ । स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने, व्यवसायिक फार्महरु विस्तार, साना तथा मझौला प्रशोधन उधोग स्थापना तथा प्रवद्र्धन कार्यहरुमा प्रदेश सरकारबाट कार्यक्रमहरु सञ्चालन गर्ने र ठूला प्रशोधन उधोग स्थापना, गुणस्तर व्यवस्थापन, बजारीकरण तथा नीतिगत कार्यहरुमा बोर्ड तथा संघीय सरकारले काम गर्नुपर्नेमा बोर्डले जोड दिएको छ ।

कफीको मूल्य निर्धारण
साथै बोर्डले मंसिर १ गतेदेखि नै लागू हुनेगरी यस वर्षको कच्चा कफीको मूल्य निर्धारण गरेको छ । बोर्डका अनुसार फ्रेस चेरी कफी ‘ग्रेड ए’को मूल्य प्रतिकेजी ९५ र ‘ग्रेड बी’को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकिएको छ । आठ सय मिटरभन्दा माथि, प्राङ्गारिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड ए मानिनेछ भने ग्रेड एमा नपरेका अन्य कफीलाई ग्रेड बी मानिनेछ ।

पार्चमेन्ट कफी ग्रेड एको मूल्य प्रतिकेजी चार सय ७५ रुपैयाँ तोकिएको छ भने ग्रेड बीको मूल्य प्रतिकेजी चार सय २० रुपैयाँ तोकिएको छ । बोर्डका अनुसार ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड ए मानिनेछ । यस्तै ग्रेड बी गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलाई ग्रेड बी मानिनेछ । यसैगरी बोर्डले ड्राइ चेरी कफीको मूल्य ग्रेड एको प्रतिकेजी एक सय ७० रुपैयाँ र ग्रेड बीको मूल्य एक सय १५ रुपैयाँ तोकेको छ । ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड ए मानिनेछ । भने ग्रेड बी गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड बी मानिने बोर्डले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया