Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालका जाति, भाषा र संस्कृति – ३४

नेपालका जाति, भाषा र संस्कृति – ३४


शिरिष अर्ज्याल
बहुल जाति बहुल भाषा एवम् बहुल संस्कृतिको संगमस्थलका रुपमा हामी हाम्रो देश नेपाललाई चिन्छौँ । हिमाल, पहाड र तराईका विभिन्न जातिहरुमा भिन्न–भिन्न सांस्कृतिक विविधता भएको, अर्को शब्दमा विविधतामा एकता रहेको देशका रुपमा नेपाललाई चिन्न सकिन्छ । यहाँ रहेका हरेक जातिबीच आ-आफ्ना मौलिक संस्कृतिले ती जातिहरुका पहिचानलाई स्थापित गरेको छ भने तिनका मौलिक परम्परा र संस्कृतिले राष्ट्रको सांस्कृतिक सुन्दरता र महिलालाई उजागर गरेको छ । नेपालका विभिन्न जातिहरुमध्येकै एक प्रमुख जातिमा भुजेल वा घर्ती जाति पनि पर्छ । भुजेलहरुले आफ्नो मूलथलो वा प्रमुख स्थान बागलुङ जिल्लाको भुजी भन्ने ठाउँलाई भन्दछन् । सोही स्थानबाट यी जाति विस्तारै नेपाल अधिराज्यभरि छरिँदै गएका हुन् ।

नेपालका अल्पसंख्यक जातिका रुपमा गणना गरिएका यी जातिका धेरै धेरै सामाजिक संस्कार मगर जातिसँग मेल खान जान्छ । सोही हुनाले भुजेल जातिलाई मगर जातिकै एक शाखा वा सन्तानका रुपमा लिन सकिन्छ । भुजेलहरुका संस्कार र संस्कृति मात्र होइन अनुहार र लगाइखुवाइ समेत मगरजातिसँग मेल खान जान्छ । भुजेल वा घर्ती जातिले मगरजातिले झैँ हिन्दू धर्म र संस्कृति मान्ने गर्छन् । पुरोहित वा पण्डित समेत बाहुन वा ब्राह्मणलाई राख्ने गर्छन् । कसै–कसैले मगरहरुले झैं मगरहरुका पुरोहित भुसाललाई राख्ने गर्छन् । परम्परागत धामी झाक्रीमा विश्वास गर्ने भुजेल वा घर्ती जातिले धामी झाँक्रीको प्रयोग समेत अनेक कर्मकाण्डमा गर्ने गर्छन् । यति भए पनि हिन्दू धर्मावलम्बी भुजेल जातिका संस्कारहरु हिन्दूझैँ मनाउने गर्छन् भने दशैँ तिहारजस्ता चाडबाट धूमधामका साथ मनाउने गर्नुका साथै पूजाआजा व्रत, पर्व बडो नियमबद्ध भई पालना गर्ने गर्छन् ।

भुजेल जातिका अधिकांश आचरण मगर जातिसँग मिल्ने भए पनि यी जातिको भाषा भने चेपाङ जातिसँग मिल्न जान्छ । नेपालका यी दुई जातिहरुका बीचमा भाषागत समानता रहे पनि भौगोलिक सम्पर्क भने रहेको पाइँदैन । केही भुजेलहरु बसाइसराइका क्रममा चेपाङसँग नजिक पुग्नु अलग्गै कुरो हो । नेपालको जन गणना २०६८ अनुसार भुजेल वा घर्ती जातिको जनसंख्या १ लाख १७ हजार ५ सय ६८ अर्थात नेपालको कुल जनसंख्याको (०५१७१ प्रतिशत) भनी देखाइएको छ । यी जाति नेपाल अधिराज्यमा मात्र होइन छिमेकी देश भारतको दार्जिलिङ, सिक्किम, आसामलगायत भारतका विभिन्न भूभागमा नेपालीभाषी जनका रुपमा मिसिएर रहेको पाइन्छ । भुजेलहरुमा महिलाको जनसंख्या ५९ हजार ५ सय ४५ रहेको नेपालको जनगणना २०६८ मा देखाएको छ भने यसैगरी पुरुषको जनसंख्या ५८ हजार २३ देखाइएको छ ।

भुजेलहरुका संस्कारमा मुख्यतया जन्म, विवाह र मृत्यु संस्कार मनाउने गर्छन् । जुन अधिकांश हिन्दू परिवारअनुसार हुन्छन् भने आफ्ना केही मौलिक चलन समेत तिनमा जोडिएका हुन्छन् । विवाहको संस्कार मगर रीतिअनुसार सम्पन्न गरिन्छ भने भुजेलहरुमा मागी विवाह, पे्रम विवाह, जारी विवाह र विधवा विवाहजस्ता प्रथाहरु प्रचालित छन् । हिजोआज भने अधिकांशले मागी विवाह नै रुचाएको तथा अपनाउँदै आएको भेटिन्छ । भुजेल जातिले बालक वा बालिका जन्मिएको ११औँ दिनमा सूतक चोख्याउने गर्छन् । भुजेल जातिका मानिसको मृत्यु भएमा जलाउने वा गाड्ने दुवै गर्ने गर्छन् भने हिन्दू धर्मावलम्बीले झैँ १३ दिनसम्म किरिया बसी १३औँ दिनमा शुद्धिकार्य गर्ने गर्छन् ।

चेपाङ जाति : चेपाङलाई प्रजाजाति पनि भन्ने गरिन्छ । यस जातिको मुख्य बसोबास मकवानपुर, धादिङ, गोरखा र चितवनजस्ता जिल्लामा रहेको पाइन्छ । आर्थिक रुपमा विपन्न चेपाङहरु मकवानपुरको काँकडा गा.वि.स.स्थित धिराङको ओडारमा अझैसम्म यी जातिले बसोबास गरिरहेका भेट्न सकिन्छ । २०४८ सालमा जनगणना गर्दा यस जातिको कुल जनसंख्या ३६ हजार ६ सय ५६ जना पुगेको देखाइएको छ । जुन नेपालको कुल जनसंख्या (०.२२२९ प्रतिशत) हो । चेपाङहरुका भाषा भुजेल वा घर्तीसँग मिल्न जानुले चेपाङहरुको वंशज भुजेल वा मगरसँग नजिक रहेको अनुमान गर्न सकिन्छ भने मुखाकृति हेर्दा मंगोलझैँ देखिनाले किराँतीकै एकथरि तामाङका सन्तान हुनसक्ने सम्भावना रहेको छ ।

चेपाङहरुमा प्रचलित किम्वदन्तिअनुसार आफूहरुलाई सीताका छोरा लवकुशमध्ये लवका सन्तान लोहरीका सन्तान भनेर भन्ने गर्छन् । चेपाङ नामको अर्थ सम्बन्धमा ‘च’को अर्थ कुकुर र ‘पाङ’को अर्थ धुनुषवाण हुने, तथा प्रायः चेपाङहरुले घर–घरमा कुकुर पाल्ने हुँदा यी जाति पहिलाका समयहरुमा कुकुरका सहायताले शिकार खोजी शिकार गर्ने जाति हुन् भनेर बुझ्न सकिन्छ । यसैगरी अर्को अर्थ कोट्याउँदा वा अर्को जनश्रुतिअनुसार ‘च्यो’को अर्थ टुप्पो र ‘वाङ’को अर्थ ढुंगो हुनाले उनीहरु पहाडको टुप्पामा बसोबास गर्दै गरेकाले च्ववाङबाट अपभ्रंश हुँदै चेपाङ रहन गएका हो भन्ने रहेको छ । चेपाङ जातिबारे अनुसन्धान गरी सर्वप्रथम प्रकाशमा ल्याउने व्यक्ति बेलायती अनुसन्धाता ‘हड्सन’ले भुटानको ल्होपाज वा ल्होप्सा जातिसँग तुलना गरेका छन् । जसअनुसार यी किराँतीकै सन्तान हुन् भन्ने लाग्छ भने अर्को अनुसन्धान कर्ता हेगनले पनि यस्तै आशय व्यक्त गरेका छन् ।

चेपाङ जाति नेपालका अतिपछाडि परेको अल्पसंख्यक जातिमा गनिन्छ । परम्परागत पेशा शिकार एवं पशुपालन रहे पनि हाल यी जातिहरु मजदुरी पशुपालनजस्ता पेशा अंगाल्दै आएका पाइन्छन् । परम्परागत पेशा शिकार गर्नु तथा वन जगलसँग सामीप्यता रहेकाले यी जातिका खानपानमा समेत त्यसको प्रभाव देखिन्छ । गिठ्ठा भ्याकुर, तरुल, आलु, सिस्नोको साग, टाँकीको साग, च्याउ, जंगलमा भेटिने अन्य मौसमी उत्पादनहरुलाई यी जातिले आफ्ना खानपानमा समावेश गर्दै आएका पाइन्छ । यसैगरी जंगली जनावर विशेष गरी चित्तल, मृग, हरिण, बँदेल, घोरललगायत जनावरका मासुहरु पनि शिकार गरेर ल्याई खाने गर्छन् ।

हिजोआज भने जंगली जनावरहरुको अभाव एवं जंगलको कमीका कारण यी जाति खेतीपाती अन्नपात आदि खान रुचाउँछन् । नियमित शिकारको अभाव एवं व्यवस्थित खेतीपातीको कमीका कारण यी जातिका बालबालिका कुपोषितझैँ देखिने गर्छन् । सरकारी तवरबाट यस जातिका बालबालिकालाई सहयोगस्वरुप विद्यालयमा निःशुल्क पढाउने गरिए पनि खाद्य पदार्थको अभावमा र जंगली कन्दमूल एवं शिकारको खोजीमा यी जातिका बालबालिका पढाइ छोड्दै जंगल भौतारिने गर्छन् । यी जातिले माहरी, बिरनी, गंगटो, बारुला अरिंगाल, चमेरोे समेत खाने गर्छन् भने सामान्यतया व्यवस्थित भई बसेका चेपाङहरुले खेतीपाती गरी सागपात, तरकारी, खसी, बोका, कुखुरा, हाँस, बंगुर आदिका मासु समेत खाने गर्छन् । अलौकिक शक्तिमा विश्वास गर्ने चेपाङहरु धामी झाक्री समेत मान्ने गरेर प्रकृतिपूजक जातिका रुपमा समेत रहेका देखिन्छन् ।

अधिकांश हिन्दू धर्मावलम्बी भई हिन्दू देवीदेवता मान्ने र पुज्ने गर्छन् र हिन्दू चाडपर्वलाई मनाउने गर्छन् भने भाद्र महिनामा पर्ने न्वागी पर्वलाई समेत धूमधामको साथ मनाउने गर्छन् । न्वागी पर्व भाद्र महिनामा धान पाकिसकेपश्चात् मनाइन्छ । न्वागी मनाउन पाँडे भन्ने धामीको प्रयोग गरी सो धामीले ढ्याङ्ग्रो ठोक्दै पूजा गर्ने गर्छ । सो पूजामा भाले काटेर देवी देवता, कुल देवता र पुर्खा देवताहरुलाई चढाएर खुवाइसकेपश्चात् सबै जना प्रसादका रुपमा बाँडीचुँडी खाने गर्छन् । चेपाङ जातिका संस्कारहरुमा जन्मदेखि मृत्युपर्यन्त रहने गरेका छन् । चेपाङ जातिमा गर्भधारण गरेकी महिला र उसको लोग्नेले मृतव्यक्तिलाई छुन हुँदैन । बालकले जन्म लिएपश्चात् आमाको दूध खुवाउनुभन्दा अघि ठूली आमा र धाई आमाको दूध खुवाउनुपर्छ । सुत्केरी बार्दा ७ दिन १० दिन वा कसै–कसैले ३० दिनसम्म बार्ने गरेका पाइन्छन् । नामकरण गर्दा विशेषतः जन्मबारका आधारमा राखिन्छ । अनप्रासन ५ महिना पुगेपश्चात् गरिन्छ ।

यस दिन मामाले जाँड र मासु लिई आउनुपर्ने चलन चेपाङ जातिमा रहेको पाइन्छ । चेपाङ जातिमा जाँडरक्सी खुब मन पराइन्छ । सबै जना मिली जाँड खाने गर्छन् भने पाहुनाको सत्कारमा समेत जाँड दिने गर्छन् । चेपाङहरुले छेवर वा केश मुण्डन समेत गर्छन् । जसमा उनीहरुका मामाले कपाल काटिदिने गर्नुपर्छ । चेपाङ जातिमा मगरहरुले झैँ मामा चेला फुपु चेलाबीच विवाह गर्ने प्रचलन रहेको छ र विशेषतः मागी विवाहलाई नै प्राथमिकता दिइने गरिन्छ । विवाह प्रस्ताव लिएर जाँदा खसी वा जाँड लिएर जानुपर्छ । जसलाई उनीहरु ‘सोधनी पुङ’ भन्छन् । केटी पक्षबाट स्वीकार गरिएमा केटा पक्षले पुनः रक्सी वा जाँड लिएर जानुपर्छ, जसलाई ठेगान पुङ भन्ने गरिन्छ । विवाहको साइत मंगलबार र शुक्रबारलाई राम्रो ठानिन्छ ।

चेपाङ जातिमा मागी विवाहको अतिरिक्त, विधवा विवाह, साली विवाह, भाउजु विवाह, समेतलाई मान्यता दिँदै आएको पाइन्छ । चेपाङ जातिमा मृतव्यक्तिलाई नजलाई गाड्ने चलन छ । ७ दिन वा १३ दिन आशौच वा किरिया बार्ने गरिन्छ । किरिया सकिएपश्चात् भोजभतेर गरी जाँडरक्सी खाने गरिन्छ । धामी पोडले मन्त्रोच्चारण गर्दै घरलाई गाईको गहुँत छर्केर शुद्ध पार्ने गर्छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया