Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनिःशुल्क विशिष्टीकृत न्युरो मेडिसिन सेवा सुरु

निःशुल्क विशिष्टीकृत न्युरो मेडिसिन सेवा सुरु


चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले निःशुल्क न्यूरो मेडिसिन सेवा सुरु गरेको छ । अस्पतालले विशिष्टीकृत सेवा विस्तार गर्ने क्रममा ओपीडी टिकट निःशुल्क गरेर न्युरो मेडिसिन सेवा सुरु गरेको हो । यस विभागमा उपचार गर्न आउने बिरामीका लागि प्रयोगशाला (ल्याब) र रेडियोलोजी सेवामा ५० प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ ।

भारतको एम्सबाट डीएम गरेका न्युरोलोजिष्ट प्रा.डा. अभयकान्त तिवारी आएसँगै अस्पतालले यो सेवा सुरु गरेको हो । प्रा.डा. तिवारीसँग ३५ वर्ष लामो अनुभव रहेको छ । अस्पतालमा लामो समयदेखि न्यूरो मेडिसिन सेवा पूर्ण रुपमा सञ्चालन हुनसकेको थिएन ।

यसैगरी उपप्राध्यापक डा. प्रवेश पन्तले पनि सोही विभागबाट सेवा दिँदै अएका छन् । डीएम अध्ययनरत पन्त र प्रा.डा. तिवारीले न्यूरो मेडिसिन विभागका सम्पूर्ण उपचार सेवा दिँदै आएको अस्पतालले जनाएको छ । अस्पतालबाट अब नशाका विभिन्न समस्याहरुको उपचार हुनेछ । टाउको दुख्ने, माइग्रेन, हातखुट्टा झम्झमाउने, हातखुट्टा बाउडिने, हातखुट्टा पोल्ने, उठ्न बस्न गाह्रो हुने, प्यारालाइसिस, छारेरोग, स्मरण शक्तिमा कमी, पार्किन्सन्स, नशा च्यापिएको लगायत नशासम्बन्धी सम्पूर्ण समस्याको उपचार हुने न्यूरो मेडिसिन विभागका प्रमुख समेत रहेका प्रा.डा. तिवारीले बताए ।

विश्वमा न्यूरो मेडिसिनअन्तर्गत धेरै बिरामी हुने गरेको बताउँदै प्रा.डा. तिवारीले भने, ‘कतिपय बिरामीलाई आफूलाई भएको समस्या न्युरोलोजिष्टकोमा जानुपर्छ भन्ने ज्ञान पनि छैन ।’ आकस्मिक कक्षमा पनि न्युरो मेडिसिनका बिरामी आउने गरेको उनको भनाइ छ । प्यारालाइसिसको समस्या धेरै आउने गरेको भन्दै प्रा.डा. तिवारीले २० वर्ष अघिसम्म यस्ता बिरामीको कुनै उपचार नहुने गरेको जानकारी दिए । उनका अनुसार अहिले प्यारालाइसिस भएका बिरामी समयमा अस्पताल आइपुगेमा पूरै निको हुन्छ । प्यारालाइसिस उपचारमा निकै ठूलो प्रगति भएको उनको भनाइ छ । प्यारालाइसिस भएको लामो समयपछि उपचारमा आउनेहरुको पनि ५० देखि ६० प्रतिशत निको हुने गरेको उनले बताए ।

यसैगरी २० प्रतिशत मानिसहरुलाई टाउको दुख्ने समस्या हुने गरेको भन्दै उनले १० प्रतिशतलाई दैनिक कामलाई असर गर्ने गरी टाउको दुःखाइ हुने गरेको जानकारी दिए । सामान्य र गम्भीर प्रकृतिको टाउको दुखाइको पनि उपचार हुने र आफूहरुले निको बनाउने प्रा.डा.तिवारीले बताए । ब्रेन इन्फेक्सन पनि अर्काे समस्याका रुपमा आउने गरेको छ । उनका अनुसार ब्रेनमा ट्यूमर, ब्रेन ह्यामरेज, भाइरल इन्फेक्सनजस्ता समस्याको पनि समयमा उपचार गरेमा निको पार्न सकिन्छ ।

उपप्राध्यापक डा. प्रवेश पन्तले अस्पतालमा पक्षघातका बिरामीहरु चारदेखि पाँच घण्टामा आइपुगेमा तुरुन्त उपचार गरेर बिरामी दुई÷तीन दिनमा निको बनाउन सकिने बताए । यस्तै मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, पक्षघात हुने लक्षणहरु, काम्ने रोग, भुल्ने (अल्जाइमर), हातखुट्टा काप्ने, हातखुट्टा झम्झमाउने, पोल्नेलगायतका सम्पूर्ण नशासम्बन्धी रोगहरुको उपचार अस्पतालबाट हुँदै आएको डा.पन्तले जानकारी दिए ।

निकट भविष्यमै इलेक्ट्रिकल करेन्टको माध्यमबाट नसाको रोग पत्ता लगाउने प्रविधि पनि सुरु गर्दै गरेको डा. पन्तले बताए । मांसपेशी सम्बन्धी रोगहरु (एएमजी) विस्तारै सुरु गर्ने तयारी गरिएको छ । हाल टाउकोको मृगी रोग, छारेरोगका लागि ईईजी सेवा सञ्चालनमा रहेको उनले जानकारी दिए । यस्तै शरीरको प्रतिरोधात्मक क्षमताले गर्दा नशालाई असर पार्ने रोगहरुको पनि उपचार हुँदै आएको उपप्राध्यापक डा. पन्तले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया