Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभारी बोकेरै मासिक ३५ हजारसम्म कमाइ

भारी बोकेरै मासिक ३५ हजारसम्म कमाइ


आशिष बहादुर सिंह
बझाङ, चैत २
घरको आर्थिक अवस्था निकै कमजोर भएपछि १२ वर्षको कलिलो उमेर रोजगारीको खोजीमा भारतका विभिन्न सहरमा पुगेका बुंगल नगपालिका २ का गणेश बोहराले तीन दशकभन्दा बढी भारतमा नै मजदुरी गरे । कसैको होटेल, घरमा भाँडा माझेर, कसैको भारी बोकेर उनले निकै संघर्ष गर्दै घरपरिवारका लागि भारतबाट पैसा पठाउने गर्थे । २०२२ सालमा जन्मेका बोहरालाई अहिले ५४ वर्ष पुग्यो ।

उनले २०३४ सालदेखि २०७१ सालसम्म झण्डै ३७ वर्षसम्म भारतका धेरै सहरहरुमा उनले काम गरे । बजार, गेट, चौकीदारी हुँदै विभिन्न कम्पनीमा समेत उनले मजदुरी गरे तर पनि भनेजति पैसा कमाउन सकेनन् । कहिले साहुबाट ठगिए, कहिले आफन्तले ठगे, कहीले बजारीयाहरुले ठगेको उनले बताए । कतिपय ठाउँमा उनले कुटाइ समेत सहनुप¥यो । विना कसुर गाली खानु त सामान्य कुरा हो । कुटाइ समेत सहनुपर्थो । यो उनलाई मात्रै नभई भारत तथा विदेशमा गएका सबै नेपालीको बाध्यता भएको उनी बताउँछन् ।

भारतमा काम गरेर गुजारा चलाउनुभन्दा आफ्नै देशमा केही काम र मागेरै भए पनि एक छाकको जोहो गर्नुपर्ला भन्ने सोच बनाएर उनी हरेस खाँदै घर फर्किए । घरमा उनको परिवारमा एकछाक खानाको जोहो गर्न पनि बजारबाटै किनेर खानुपर्ने बाध्यता थियो । पाखो जमिन भएका कारण खेतबारीबाट उब्जनी भएको अन्न तीन महिनासम्म राम्रोसँग खान नपुग्ने भएका कारण उनको गाउँका धेरै युवाहरु अहिले पनि रोजगारीको खोजीमा भारत तथा विदेश जानुपर्ने बाध्यता कायमै छ ।

घरमा बसेर नहुने भएपछि उनले २०७१ सालमा नै आफ्नै जिल्लाका विभिन्न पसलेहरुका सामान ढुवानी गर्नतर्फ लागे र घर खर्च चलाउन थाले । जिल्लाको बागथला हुँदै १२ वटै स्थानीय तहहरुमा मुख्य बजारमा र ग्रामीण बस्तीसम्म चुरोट, बिँडी, खाद्यान्न, मदिरा ढुवानी गर्न थाले । अहिले जिल्लाका सबै स्थानीय तहमा सडकसँगै सवारीसाधन पुगेका कारण उनी सडक सञ्जालसँग नजोडिएको साइपाल गाँउपालिकामा भरियाको काम गर्दै आएका छन् । विदेशमा काम गरेर पैसा कमाउनभन्दा आफ्नै गाउँठाउँमा काम गरेर आनन्द मिलेको उनको अनुभव छ ।

अहिले महिनाको कम्तीमा पनि २५ हजारदेखि ३५ हजारसम्म भारी बोकेर आम्दानी गर्ने गरेको उनले बताए । तल्कोट गाउँपालिकाको स्याँडासम्म सवारीसाधन पुगेका छन् । बोहराले भने, ‘त्यहाँबाट प्रतिकिलो १५० देखि २५० रुपैयाँसम्म पाइन्छ । आफ्नो क्षमताले भ्याएसम्म ४०/४५ किलो बोक्न सकिन्छ । आम्दानी राम्रो हुन्छ ।’ आफ्नै भाषा र भनेको समयमा समेत घर परिवारसँग भेटघाट हुने भएका कारण र विदेशभन्दा आफ्नै ठाउँमा रमाइलो भएको उनले बताए । अहिले वार्षिक रुपमा तीन/चार लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । यसैबाट घरायसी खर्चसँगै छोराछोरीको पढाइ खर्चको समेत जोहो गर्ने गरेको बोहराले बताए । उनको छोरा, नातिनातिना, बुहारी, श्रीमती गरेर ७ जनाको परिवार रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया