Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुका पेट्रोलपम्पमा विद्युत् ब्याकअप नहुँदा सेवाग्राही समस्यामा

सोलुका पेट्रोलपम्पमा विद्युत् ब्याकअप नहुँदा सेवाग्राही समस्यामा


सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालित पेट्रोलपम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा समस्या भएको छ । जिल्लामा सञ्चालित दुईवटै पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा इन्धन बारम्बर सेवा प्रभावित हुनेगरेको हो ।

सल्लेरीमा रहेको दुधकोशी आयल स्टोर्समा ब्याकअप नहुँदा विद्युत् सेवा अवरुद्ध हुनेबित्तिकै बारम्बर इन्धन सेवा नै ठप्प हुनेगरेको छ भने गार्मास्थित नमूना दुधकुण्ड आयल पम्पस्टोर्समा समेत ब्याकअप नहुँदा समस्या भएको छ । जिल्लाको विद्युत् बारम्बर अवरुद्ध भइरहने र पम्पले समेत ब्याकअप नराख्दा इन्धन भर्ने सवारीचालकहरूले सास्ती खेप्नुपरेको छ । पम्पले विद्युत्कै कारण देखाउँदै लामो समय कुराउँदा अति आवश्यक कामहरू प्रभावित हुनेगरेको सवारीचालक रमेश कार्कीले गुनासो गरे । नमूना आयल पम्पको नाम दिइए पनि ब्याकअपको समेत व्यवस्था नहुँनु लजास्पद विषय भएको अर्का सवारीचालक मिङमार शेर्पाको भनाइ छ । सोमबार विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ सवारी चालकहरू इन्धन भर्नकै लागि लामो समय पम्पमा कुर्न बाध्य भएका थिए । सोही समस्या बारम्बर दोहोरिरहने गरेको चालक शम्भु विश्वकर्माले बताए ।

कतिपय अवस्थामा बिरामी बोकेको एम्बुलेन्सहरू समेत इमरजेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले सो अवस्थामा समस्या हुने चालकहरू बताउँछन् । हाल जिल्लाको पेट्रोल पम्पहरूले विद्युत् हुँदा मात्रै सेवा दिइरहेका छन् । उनीहरूले विद्युत् नहुँदा सेवाग्राहीलाई कुराउने तथा रित्तो हात फर्काउने गरेको सवारीचालकहरूको गुनासो छ ।

सो विषयमा आफ्नो ध्यानाकर्षण भएकाले थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त भट्टराईले बताए । यस विषयमा बुझ्न नमूना दुधकुण्ड आयल पम्पस्टोर्सका सञ्चालक तोरण कुमार श्रेष्ठलाई फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । गत साउन ६ गतेबाट विधिवत्रूपमा सञ्चालनमा आएको उक्त पम्पले जिल्लाको इन्धनको मागलाई पूरा गर्न सक्ने भन्दै खुसी भएका सर्वसाधरण छ महिना बित्न नपाउँदै निराश भएका छन् । जिल्लामा एउटा मात्रै पम्प हुँदा बारम्बर इन्धनको अभाव खेपेका जिल्लावासीले अर्को पम्प खुलेसँगै खुसी भएका थिए । तर नमूना दुधकुण्ड आयल पम्पस्टोर्सले समेत भरपर्दो इन्धन सेवा दिन नसकेपछि नागरिकहरू निराश भएका हुन् । नमूना पम्प भएकाले २४सैँ घण्टा सेवा दिने दाबी गरेका पम्प समेत सेवा विस्तारमा चुकेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया