Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाउण्टेन लिडर तालिमले व्यवसायी उत्साहित

माउण्टेन लिडर तालिमले व्यवसायी उत्साहित


 महेन्द्र शाही
सोलुखुम्बु, चैत ४
सोलुखुम्बुको पर्यटकीयस्थल लुकेको हिराको नामले परिचित पिकेडाँडाको प्रचारप्रसारका लागि आयोजना गरिएको माउण्टेन लिडर तालिमले व्यवसायी उत्साहित भएका छन् । पिके क्षेत्रको पर्यटन प्रवर्द्धन गरी देशलाई आर्थिक समृद्धिमा अब्बल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

सोलुखुम्बुको जन्तरधापबाट सुरु भएको तालिम जिल्लाको पिके हुँदै सल्लेरीमा आएर समापन गरिएको दुईहप्ते तालिममा पुरुष तथा महिला गरी ११ जनाको सहभागिता रहेको थियो । माउण्टेन लिडर बन्नका लागि धेरै चुनौती रहे पनि तालिमले अझ आत्मविश्वास र उत्साह तालिमका सहभागीहरुले बताएका छन् ।

विगतका वर्षदेखि पथप्रदर्शकका रुपमा काम गर्ने खड्गबहादुर खत्रीले स्थलगत अभ्यासात्मक रुपमा भएको तालिम धेरै प्रभावकारी भएको भन्दै यस क्षेत्रमा काम गर्ने सबैले यस्तो तालिम लिन आवश्यक रहेको बताए । नेपालका धेरै पर्यटकीयस्थलको अझै प्रचार प्रसार अभावका कारण मनोरम स्थलमा पर्यटक ल्याउन नसक्दा स्थानीयको आर्थिक स्थितिमा समेत उल्लेख्य सुधार हुन नसकेको नेपाल पर्वतारोहण संघका माउन्टेन लिडर तालिम संयोजक लक्ष्मण तामाङले जानकारी दिए ।

तालिममा नक्सा प्रयोग, कम्पास प्रयोग, आपत्कालीन सेल्टर बताउने तरिकालगायत धेरै तरिका हिमाललाई देखाएर स्थलगत तालिम दिइएको उनको भनाइ छ । कतिपय यस क्षेत्रमा लागेका युवाहरु आर्थिक स्थिति मजबुत बनाउने उद्देश्यले पर्यटकलाई गाइडिङ गर्दागर्दै माउण्टेन लिडर बन्ने गर्छन । उनीहरुलाई प्राकृतिक विपद् र आइपर्ने जुनसुकै समस्या समाधानका लागि आवश्यक ज्ञान नहुँदा उनीहरुको ज्यानै जोखिममा पर्ने गरेको छ ।

माउण्टेन लिडर बन्नका लागि शारीरिक रुपमा व्यक्ति, शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनुपर्छ भने ट्रेकिङ गाइड तालिम लिए सोसँग सम्बन्धित अन्य तालिमका चरणहरु पार गर्नुपर्ने हुन्छ । दक्ष लिडर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल माउन्टेन लिडर एसोसिएसनका अध्यक्ष केशर श्रेष्ठको भनाइ छ । नेपालमा सरकारी तवरबाट हालसम्म माउण्टेन लिडर बनाउनका लागि कुनै पनि ठोस कदम चालिएको छैन । जसका कारण वर्षेनी मानवीय क्षति र भौतिक क्षति हुने गरेको व्यवसायी बताउँछन् ।

नेपाललाई आर्थिक हिसाबले मजबुत बनाउनका लागि पर्यटकीयस्थलको सरसफाइ र भौतिक संरचना निर्माणमा जोड दिन आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ । प्रचार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यस्थल बन्न सक्ने पर्यटन व्यवसायी बताउँछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया