Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालओभरस्टे बस्नेका लागि सहजीकरण गर्न पहल गर्दै सरकार

ओभरस्टे बस्नेका लागि सहजीकरण गर्न पहल गर्दै सरकार


काठमाडौं, चैत ९
अमेरिकामा ओभरस्टे (भिसाबाहेक) बस्दै आएका नेपालीहरुको लागि सहजीकरण हुने भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले शुक्रबार एक सूचना जारी गर्दै नोवल कोरोना भाइरस (कोभिड–१९)को महामारीले सिर्जना गरेको संकटको अवस्थाले गर्दा अमेरिकामा रहेका नेपालीहरुको लागि सो पहल भइरहेको बताए ।

राजदूत कार्कीका अनुसार कोरोना भाइरस संक्रमणको कारण उत्पन्न विशेष परिस्थितिले नेपाली नागरिकहरुको यात्रा अवरुद्ध भएका र सो कारणबाट ओभरस्टेलगायतका समस्याहरु राजदूतावासमा प्राप्त भइरहेका हुँदा सो समस्या समाधानका लागि राजदूतावासबाट कूटनीतिक पहल भइरहेको बताएका छन् । यस्तै दूतावासले दिँदै आएको सेवाहरुमध्ये अति जरुरीबाहेकका, केही समयपछि लिँदा हुने कन्सुलर सेवाहरु पछि सार्न सकिने हकमा सोहीअनुसार गर्न समेत नेपालीलाई आग्रह गरेको छ भने अति जरुरी र आकस्मिक कन्सुलर सेवा इ–मेल तथा टेलिफोनबाट अग्रिम समय लिई बिहान १० बजे देखि १२ बजेसम्म राजदूतावासबाट कन्सुलर सेवा लिन सकिने जनाएको छ ।

दूतावासले अमेरिकामा रहेका नेपालीहरुले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन, अत्यावश्यकबाहेक यात्रा नगर्न तथा संक्रमणबाट बच्न नेपाल सरकार र नेपाली नागरिकहरु बसोबास गरेका मुलुकको सरकारले जारी गरेको सूचनाको अध्ययन गर्न र सोहीअनुसार उच्च सतर्कता अपनाउन नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासले टेलिफोनका साथै इमेलमार्फत समेत सहयोग लिनको लागि आग्रह गरेको छ । अपर्झट तथा आकस्मिक सेवाको लागि थप जानकारी चाहिएमा दूतावासको मुख्य सम्पर्क नम्बर (२०२) ६६७–४५५० र (२०२) ७७४–४७८०, आकस्मक परामर्श सेवाको लागि (२०२) ७७४–७६१८ मा, राहदानी, भिसा तथा गैरआवासीय नेपाली (एनआरएन) कार्डसम्बन्धी विषयका लागि (२०२) ७७४–७६९७, भिसा, राहदानी र कन्सुलर सेवाका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।

भिसा, राहदानी र कन्सुलर सेवाको लिन चाहने नेपालीका लागि इमेल ठेगाना ‘कन्सुलर एटदरेट डट नेपाल एम्बेसी युएसए डट ओआरजी’ तथा कोभिड १९ को विषयमा जानकारी गराउनका लागि ‘युएस डट नेपाल एम्बेसी डट जिओभी डट एनपी’मा इमेल गर्न आग्रह गरेको छ । यस्तै विद्यार्थीको विषयमा जानकारी गराउने ‘डब्लुडब्लुडब्लु डट नेपाल एम्बेसी युएसए डट ओआरजीमा’ इमेल गर्न आग्रह गरेको छ । दूतावासले नेपालीहरुलाई कोरोना भाइरसका कारण अप्ठ्यारो पर्न गएमा दूतावास सहयोग गर्न तयार रहेको जनाएको छ ।

कोरोना भाइरस हालसम्म एक सय ६२ देशमा फैलिसकेको छ भने पछिल्लो समय युरोपका देशहरु बढी प्रभावित भएको देखिन्छ । कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्दै आएको वल्र्डओमिटर्स इट इन्फोको अनुसार एक लाख ८६ हजार तीन सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने तीमध्ये सात हजार एक सय ७७ जनाको मृत्यु भएको तथा ७९ हजार नौ सय आठ जनाको उपचार सम्भव भएको छ । योसँगै नेपालका साथै सबैजसो मुलुकले कोरोना भाइरसबाट सुरक्षित रहन विभिन्न उपाय अवलम्बन गर्दै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया