Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुका गाउँबस्तीमा चहलपहल बढ्यो

सोलुखुम्बुका गाउँबस्तीमा चहलपहल बढ्यो


सोलुखुम्बु, चैत ११
कोरोना भाइरसको त्रासका कारण सहरबजार रित्तिएसँगै गाउँबस्तीमा चहलपहल बढेको छ । रोजगार तथा अध्ययनका लागि गाउँघर छोडेका मानिसहरू भाइरसको त्रासले सहर छाडेपछि गाउँघरमा चहलपहल बढेको हो । केही दिनअघिसम्म सुनसान देखिएको सोताङ क्षेत्रमा चहलपहल बाक्लो भएको स्थानीय डिल्लीबहादुर राईले बताए ।

तराई तथा सहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरूसमेत गाउँघरमा भेटिन थालेको महाकुलुङ गाउँपालिकाका आसमान कुलुङको भनाइ छ । दशै तथा तिहारजस्ता महान चाडपर्वले समेत गाउँ नफर्काएकाहरूलाई पनि कोरोना भाइरसको त्रासले गाउँ आउन बाध्य बनाएको नेचासल्यान गाउँपालिकाका सुमन बस्नेतको भनाइ छ । गाउँघरमा जनशक्ति नभएपछि कयौँ रोपनी खेतबारी बाँझो भएको भए पनि युवा जनशक्ति गाउँ फर्किसँगै यस वर्ष ती बाँझा खेतबारीमा अन्नबाली लगाउन सकिने बुढापाकाहरूको विश्वास छ ।

कोरनाको कारण विश्वमा आर्थिक क्षेत्रमा उल्लेखनीय गिरावट आउने आँकलन गरिए पनि ग्रामीण क्षेत्रमा यसको प्रभाव न्यून रहेको लिखुपिके गाउँपालिकाका शिवबहादुर बस्नेतको भनाइ छ । खाना पकाउन दाउरा, भान्छामा मकैको च्याख्ला, गाउँमै फलेका तरकारी पाक्ने भएकाले मुख्य बजारमा जस्तो समस्या गाउँमा नहुने थुलुङ दुधकोशी गाउँपालिकाका अम्मरबहादुर विश्वकर्माले बताए । एक हप्ताको अवधिमा सडक मार्गबाट मात्रै करिब पाँच हजार नागरिक सोलुखुम्बु भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । एक हप्ताको अवधिमा जिल्ला भित्रिने मुख्य सडकमार्गबाट चार सय २७ ओटा जिप र ३१ ओटा बसमार्फत चार हजार सात सय ९७ जना सोलुखुम्बु भित्रिएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए ।

सार्वजानिक सवारी साधनको अभिलेख प्रहरीसँग भए पनि निजी सवारी साधनबाट पनि ठूलो संख्यामा यात्रुहरू भित्रिएको प्रहरीको भनाइ छ । जिल्लाबाट बाहिरीनेको संख्या न्यून भए पनि भित्रिनेको संख्या अत्याधिक रहेको यातयात व्यवसायीले बताएका छन् । त्यतिकै संख्यामा हवाई मार्गबाट पनि जिल्ला भित्रिएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया