Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलखुम्बुमा जनप्रतिनिधिबाटै ठगिएको उपभोक्ताको गुनासो सबै सामानमा दोब्बर मूल्यवृद्धि

सोलखुम्बुमा जनप्रतिनिधिबाटै ठगिएको उपभोक्ताको गुनासो सबै सामानमा दोब्बर मूल्यवृद्धि


काठमाडौं,बैशाख १०

लकडाउनको मौका छोपी कालोबजारी गर्नेमा जनप्रतिनिधिहरू नै रहेको पाइएको छ । सोलुखुम्बु जिल्लाको विभिन्न क्षेत्रमा सञ्चालन गरिएका पसलहरूबाट उपभोक्ताहरू ठगिँदै आएका छन् ।

कोरोना भाइरसको कारण विश्व नै विषम परिस्थितिमा गुज्रिरहेको बेला अधिकांश नेपालका जनप्रतिनिधिले जनप्रिय काम गरिरहेका छन् । तर, सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ लोदिङका एक वडा सदस्यले भने लकडाउनको कारण देखाउँदै दैनिक उपभोग्य वस्तुको मूल्य रातारात वृद्धि गरेको स्थानियको गुनासो छ ।

उपभोक्ता फुर्वा नाम्गेल शेपा भन्छन्, ‘जनप्रतिनिधिबाटै हामी ठगियौँ, अन्य ठाउँका जनप्रतिनिधिले त समस्या परेका आफ्ना नागरिकलाई राहत पो वितरण ग¥यो भन्ने समाचारमा पढेको र सुनेको थिए तर यहाँ त जनप्रतिनिधिले नै सोझा सिधा नागरिक ठगिरहेका छन् ।’ वडा नम्बर ३ का वडा सदस्य धर्मबहादुर तामाङले २५ रूपैयाँमा बिक्री हुँदै आएको सलाइलाई ५० रूपैयाँ लिएको उनले बताए । किन यति महंगो भनेर प्रश्न गर्दा सलाइको यति नै हो भन्ने जवाफ पाएको उनले बताए ।

‘मलाई आवश्यक थियो, महंगो नै तिरेर पनि खरिद गरेँ । मलाईजस्तै अरु धेरैलाई ठगेको रहेछ, पछि कुरा बुझ्दा पो चाल पाएँ’, उनले भने । तामाङले सधैँ उपोभोक्तलाई ठग्ने गरेको गुनासो पटक–पटक आएपछि वडा कार्यालयमा छलफलसमेत भयो तर कालोबजारी नभएको ठहर गर्दै बैठक सकियो । अर्की उपभोक्ता सङ्गीता विश्वकर्माको भनाइ पनि उस्तै छ ।

तामाङले एक किलो मैदाको एक सय ५० रूपैयाँ लिएको उनले बताइन् । सधैँ ८० रूपैयाँ प्रतिकेजी पाइने मैदाको पिठोको एक सय ५० रूपैयाँमा किन्नुपरेको उनको भनाइ छ । वडा सदस्य तामाङले प्रतिकिलो ७५ रूपैयाँ पर्ने मैदाको एक सय ५० रूपँयाँ, प्रतिपोका २५ रूपैयाँ पर्ने सलाइ ५० रूपैयाँ, ९० रूपैयाँ पर्ने आधा लिटर खाने तेलको एक सय १० रूपैयाँ, प्रतिमुठा ८० रूपैयाँ पर्ने थुक्पाको एक सय ४० सम्म लिने गरेको उभोक्ताको भनाइ छ । लकडाउनको समयमा जनतालाई राहत दिन समन्वय गर्नुपर्ने जनप्रतिनिधि स्वयम नै मौकामा उपभोक्ता ठग्ने र बढी मूल्य असुल्ने धन्दामा लिप्त रहेकोे उपभोक्ताको गुनासो छ ।

अर्का उपभोक्ता कान्छी शेर्पाले लकडाउन भएपछि धर्म तामाङले मैदा, थुक्पा, तेल, साबुनलगायत सबै अत्यावश्यक सामानको दोब्बर मूल्य बढाएको बतााइन् । लकडाउनभन्दा अगाडि पनि अन्य पसलमा भन्दा उनको पसमा बढी मूल्य तिर्नुपरेको उपभोक्ताको गुनासो छ । सदरमुकाम सल्लेरीबाट करिब ६ किलोमिटरको दूरीमा पर्ने लोदिङ, तामाखानी, फलमखानी क्षेत्रका १÷२ ओटा पसलबाहेक अन्य पसलहरू दर्ता नभई सञ्चालन भएका छन् ।

विनादर्ता सञ्चालन भएका तिनै पसल सञ्चालकले उपभोक्ता ठग्ने गरेको स्थानीय बताउँछन् । सदरमुकाम सल्लेरीबाट लोदिङ गुम्बाटोलसम्मको ढुवानी भाडामा कुनै फरक छैन तर पनि पसलहरूमा मूल्य फरक–फरक छ । लोदिङ क्षेत्रका नजिकै खाद्यन्न पसलहरूमा पनि मूल्य फरक पर्छ । केही पसलहरूले लकडाउनको कारण देखाउँदै उपभोग्य वस्तुमा कालाबजारी गरे पनि पछिल्लो समयमा मूल्य बढाउनुपर्ने कुनै कारण नरहेको अशोक स्टोर्स एण्ड अडर सप्लायर्स तामाखानीका सञ्चालक कमल तामाङको भनाइ छ । तामाङले भने ‘चामलमा चाहिँ लकडाउनअघि नै ४० रूपैयाँ प्रतिबोरा बढेर आयो, अन्य वस्तुको मूल्य यथावत छ ।’

नागरिकको समस्याबारे वडा कार्यालयदेखि जिल्ला प्रशासनसम्मलाई जानकारी गराएको भए पनि अहिलेसम्म त्यसको ठोस कदम नचालिएको स्थानीय उपभोक्ताको गुनासो छ । पद र शक्तिको आडमा गलत कार्यलाई ढाकछोप हुनसक्ने लोदिङबासीको अनुमान छ । तर, वडा अध्यक्ष गोपाल मगरले भने जनताले गुनासो गरेको खण्डमा जनप्रतिनिधि नै भनेर उन्मुक्ति नपाउने आश्वासन दिँदै आएका छन् ।

जनताले गुनासोसहित वडामा सम्पर्क गरेको खण्डमा आपूm कारबाहीको प्रकृया अगाडि बढाउन तयार रहेको उनले जिकिर गरेका छन् । यता सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) लक्ष्मी कुमारी शाहीले यस विषयले प्रशासनको गम्भीर ध्यानार्कषण भएको बताइन् । यस विषयमा छानविन गरी प्रशासनले कारबाही गर्ने उनको भनाइ छ । विपत्को समयमा कालोबजारी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने उनले बताइन् । नेपालको सविधान २०७२ अनुसार कालाबजारी गर्ने अर्थात् उपभोक्ता ठग्नेउपर एक वर्षसम्म कैद सजाय वा दुई लाख ५० हजार रूपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

अलपत्र परेका नागरिक खोज्दै स्थानीय तह
जिल्लाका स्थानीय तहले अन्यत्र स्थानमा अलपत्र परेका आफ्ना नागरिकको खोजी सुरु गरेको छ । थुलुङदुधकोशी गाउँपालिकाको कार्यपालिका बैठकले लकडाउनका कारण पालिकाबाहिर असहज अवस्थामा बसेका नागरिकको उद्धार गर्ने निर्णय गरेको छ । काठमाडौँँलगायतका क्षेत्रमा अलपत्र रहेका नागरिकको उद्धार गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
प्रदेश र संघीय सरकारसँगको समन्वयमा कोठाभाडामा बसेका विपन्न परिवारलाई पालिकाको खर्चमा उद्धार गर्ने निर्णय गरिएको हो । ल्याइएका मानिसलाई क्वारेनटाइनमा राख्ने या सुरक्षित साथ होम क्वारेनटाइनमा राख्ने विषयमा सम्बन्धित वडाले निर्णय र अनुगमन गर्ने बताइएको छ ।

नेचासल्यान गाउँपालिकाले पनि अन्यत्र बसोबास गर्नेहरूको विवरण सङ्कलन सुरु गरेको छ । गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले वैशाख १० गतेभित्र तथ्याङ्क सङ्कलन गरिने जानकारी दिए । लामोजुरापारिको लिखुपीके गाउँपालिकाले पनि वडागतरूपमा विवरण सङ्कलन सुरु गरेको जनाएको छ । गाउँपालिकाले तथ्याङ्क सङ्कलन सकेपछि घर आउनेलाई सवारीसाधनको व्यवस्था गर्ने र बाहिर बस्नेलाई राहत दिने गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि १० गतेसम्म काठमाडौँँमा रहेका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिसक्ने र उद्धारको कार्य सुरु गर्ने गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । कोशीपारिको गाउँपालिका महाकुलुङका अध्यक्ष सागर किराँतीका अनुसार गाउँपालिकाबाहिर बाध्यात्मक अवस्थामा बसेका नागरिकको विवरण सङ्कलनको काम सुरु गरिएको छ । यस्तै माप्य दुधकोशी गाउँपालिकाले पनि समस्यामा परेका नागरिकको विवरण सङ्कलन सुरु गरेको जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाले भने व्यक्तिगतरूपमा समस्यामा परेकालाई उद्धार गर्ने विपन्न परिवारलाई राहत दिने काम गरिरहेको छ । गाउँपालिकाले उद्धार गर्ने भएपछि स्थानीय नागरिक भने हर्षित भएका छन् । उनीहरूले सामाजिक सञ्जालमा जनप्रतिनिधि र स्थानीय सरकारको प्रशंसा गरेका छन् । थुलुङदुधकोशीले पीडित नागरिकका लागि सरकारको भूमिका निर्वाह गरेको काठमाडौँँमा बस्दै आएकी उर्मीला केसीले बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया