Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोकर्णेश्वरका विभिन्न स्थानमा ‘लकडाउन’ प्रभावितहरूलाई निःशुल्क भोजन

गोकर्णेश्वरका विभिन्न स्थानमा ‘लकडाउन’ प्रभावितहरूलाई निःशुल्क भोजन


काठमाडौं,बैशाख १०
राजधानीको गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउनका कारण चरम समस्यामा परेका सबैखाले वर्गका लागि व्यवस्थित तथा सु्रिक्षत तरिकाले बिहान बेलुका निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, ६ र ८ का विभिन्न संघ संस्थाहरूले विपन्न वर्गलाई निःशुल्क खाना खुवाउने गरेका छन् । अन्य वडाहरूमा पनि विपत्मा परेकाहरूको सहयोगका लागि विभिन्न सामाजिक काम भइरहेका छन् । गोकर्णेश्वर–५ स्थित सुन्दरटोलका युवाहरूले मिलेर विगत दुई हप्तादेखि निरन्तर १० हजारभन्दा बढीलाई निःशुल्क खाना खुवाएका छन् ।

यो अभियानमा उनीहरूलाई स्थानीयहरूले तन, मन, धन सबै दिएर लगातार सहयोग गरिरहेको स्थानीय हिरामान शाहीको भनाइ छ । लामो समयअघिदेखि समाजसेवामा क्रियाशील नयाँबस्ती युवा क्लबले पनि स्थानीय जनप्रतिनिधिहरूको सहयोग तथा समन्वयमा लकडाउनका कारण समस्यामा परेकाहरूलाई निःशुल्क खानाको व्यवस्था गरिरहेको छ ।

क्लब प्राङ्गणवरपर खाना खान आउनेहरूको बाक्लो भीड लाग्ने गरेको छ । नारायणटार युवा क्लबले पनि गोकर्णेश्वर–६ स्थित चामुण्डा स्कुल परिसरमा निम्न आय भएका, ज्याला मजदुरी गर्ने वर्गलाई लक्षित गरी बिहान–बेलुकी निःशुल्क भोजनकोे व्यवस्था गरेको स्थानीय आकाश अर्यालले जानकारी दिए । दैनिक ज्याला मजदुरी गर्ने बाहेक नारायणटार आसपास ठूलो संख्यामा रहेका फरक क्षमता भएकाहरूसमेत खाना खान चामुण्डा मावि पुग्नेगरेका छन् । गोकर्णेश्वर नगरपालिका–८ को पहल तथा वेशीगाउँ युवा समूह, छहारी युवा क्लब, अत्तरखेल युवा समाज, डाँडागाउँ टोल सुधार समिति र मासिक सय अभियान नेपाल संस्थाको सक्रियतामा वडाका विभिन्न स्थान दैनिक सयौँलाई खाना उपलब्ध गराउने व्यवस्था मिलाइएको स्थानीय राजेश दाहालले बताए । यस अभियानमा स्थानीय दाताहरूले पनि लगातार सहयोग गरिरहेको दाहालको भनाइ छ ।

गोकर्णेश्वर नगरपालिका–६ स्थित गैरीगाउँ युवा समूहले पनि दिनहुँ बिहान–बेलुकी सयौँलाई निःशुल्क भोजन गराइरहेको छ । यहाँ पनि खाना खान आउनेहरूको लामो लाइन देख्न सकिन्छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित लोककल्याणकारी युवा समूहले बिन्ध्वासिनी मन्दिर पधेरापाखामा गरिब दिनदुःखीका लागि बिहान एक छाक खाना खुवाउने कार्य गरिरहेको स्थानीय श्रीराम बरालले जानकारी दिए ।

यसरी निःशुल्क खाना खुवाउने अभियानमा स्थानीय निकायसँगसँगै, दाताहरू, विभिन्न संघसंस्थाहरू, टोल सुधार समिति, गुठीलगायतले सहयोग गरिरहेका छन् । एनसेलमा कार्यरत गोकर्णेश्वर–५ का स्थायी बासिन्दा इन्जिनियर विनोद बरालको पहलमा उक्त कम्पनीमा कार्यरतहरूको संस्था ‘पोजिटिभ गु्रप’ले लकडाउन प्रभावितहरूको लागि मात्र सहयोग गरिरहेको छैन, सडकमा भोकै हिँडिरहेका जनावरहरूलाई पनि खाना खुवाउने भएको छ । महाविपत्को यस समयमा गरिब, असाहयहरूलाई सहयोग गर्ने क्रममा देशका अन्य नगरपालिकाभन्दा गोकर्णेश्वर निकै अग्रणी देखिएको छ । यस नगरपालिकामा श्रमिक तथा फरक क्षमता भएको वर्गको संख्यासमेत निकै उच्च रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया