Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअस्पताल व्यवस्थापन गर्न साझा कोष स्थापना

अस्पताल व्यवस्थापन गर्न साझा कोष स्थापना


दोलखा,बैशाख १४

दोलखा जिल्लामा अस्पताल व्यवस्थापनका लागि १८ लाखको साझा कोष स्थापना गरिएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लाका ९ स्थानीय तहहरुले साझा कोषको स्थापना गरेका हुन् । जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि तथा जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले १८ लाखबराबरको साझा कोष स्थापना गर्ने निर्णय गरेको हो । दोलखा जिल्लामा कोरोना भाइरस सम्बन्धित अस्पताल, एम्बुलेन्स र स्वास्थ्य सामग्रीलगायतका लागि खर्च गर्ने गरी साझा कोषको स्थापना गरिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए ।

कोषमा दोलखाका ९ वटा स्थानीय तहले २÷२ लाखको दरले रकम उपलब्ध गराउने गराई सञ्चालन गरिने जिसस प्रमुख पाण्डेको भनाइ छ । स्वाव संकलन गरेपछि परीक्षणका लागि एम्बुलेन्समा पठाउने खर्च, चालक खाना खाजा लगायतको खर्च व्यहोर्ने विषयमा अन्योल भएपछि साझा कोषको अवधारणा निस्किएको उनको भनाइ छ । कोषबाट सम्भाव्य कोरोना बिरामीको स्वाब परीक्षणका लागि धुलिखेल वा काठमाडौं पठाउने, शव राख्ने मच्र्युरी बाकस खरिद गर्ने, मानसिक सन्तुलन गुमेकाको उपचार गर्नेजस्ता प्रयोजनको लागि खर्च गरिने बताइएको छ । हाल दोलखा जिल्लामा ४० वटा आइसोलेसन र ९९ वटा क्वारेन्टाइन तयारी अवस्थामा रहेका छन् ।

पछिल्लो समय लकडाउनका कारण नेपालका प्रमुख सहर बजार बाट गाउँ फर्केका नागरिकको पनि कोरोना भएनभएको परिक्षण गरिने भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा जिल्लाबाहिरबाट आएका नागरिकको स्वास्थ्य परीक्षण घर–घरमा पुगेर गर्ने जिल्ला प्रशासन कार्यालय र ९ वटै स्थानीयतहका जनप्रतिनिधिले जानकारी दिएका छन् । अहिले दोलखाका स्थानिय तहहरुले कोरोना संक्रमित देश भारतलगायत तेस्रो मुलुक बाट गाउँ फर्केका करिब साढे ३ सय नागरिकको कोरोना परीक्षण गरिएको छ । उनीहरु सबैको नतिजा कोरोना संक्रमण नभएको रिपोर्ट देखिएको जिल्ला स्वस्थ्य कार्यालय दोलखा प्रमुख विभुकुमार झाले जानकारी दिए ।

त्यसैगरी जिल्लामा दैनिक उपभोग्य वस्तु, कृषि औजार, मल, बीउ तथा निर्माण सामग्रीको ढुवानीलाई सहज र व्यवस्थित बनाउने पनि निर्णय भएको जिसस दोलखाका प्रमुख डबल पाण्डेले बताए । एक महिना अघिदेखि चलेको लकडाउनले समग्र जिल्ला प्रभावित बनेको छ । जिल्लामा बर्से बालिको मल, बीउ अभाव हुन थालेको छ भने किसानले उत्पादन गरेको तरकारी खेत बारीमै कुहिन थालेको छ । गाउँ सहरका सहकारी, बैंक तथा वित्तीय संघ÷संस्था बन्द हुँदा आर्थिक संकट देखा पर्न थालेको छ । दोलखामा भूकम्पपछिको पुनर्निर्माण पनि लकडाउनका कारण हुन सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया