Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना भाइरसबाट विदेशमा दुई हजार नेपाली संक्रमित ४९ जनाको मृत्यु

कोरोना भाइरसबाट विदेशमा दुई हजार नेपाली संक्रमित ४९ जनाको मृत्यु


प्रवीण राउत
काठमाडौं, वैशाख १५
विदेशमा रहेका नेपालीहरुभन्दा स्वदेशमा रहेका नेपालीहरु नोवल कोरोना भाइरस (कोभिड १९) बाट बढी सुरक्षित रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्ममा मुलकभर ५१ जनामा कोरोना संक्रमण भएको पाइएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार दुई जना कोरोना संक्रमित थप भएसँगै मुलुकभर संक्रमित हुनेको संख्या ५१ पुगेको बताए । उनले संक्रमित ५१ जनामध्ये १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको बताए ।

नेपालमा हालसम्म कोरोना भाइरसका कारण कसैले पनि ज्यान गुमाउन परेको छैन भने विदेशमा भने ४९ जनाले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार विदेशमा रहेका नेपालीहरुमध्ये कोरोना भाइरसको संक्रमणका कारण ४९ जनाले ज्यान गुमाएका छन् भने एक हजार नौ सय ८३ जना संक्रमित भएका छन् । योसँगै विदेशमा रहेका नेपालीहरु कोरोना भाइरसका कारण बढी प्रभावित भएका छन् ।

एनआरएन अध्यक्ष कुमार पन्तका अनुसार गत शनिबार साँझसम्ममा कोरोना भाइरसका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुमा बेलायत र अमेरिकामा रहेको नेपालीहरु रहेको बताए । उनले कोरोना भाइरसको संक्रमणको कारण बेलायतमा ३३ जना, अमेरिका १० जना, युएईमा दुई जना, आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डमा भने क्रमशः एक/एक जनाको मृत्यु भएको बताए ।

एनआरएन स्वास्थ्य समितिका अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको पाइएको बताए ।

उनले विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये चार सय ३४ जना कोरोनामुक्त भएको बताए । ‘विभिन्न मुलुकमा रहेका नेपालीहरु कोरोना संक्रमण पाएसँगै उपचार समेत भइरहेको छ’, उनले भने, ‘संक्रमितमध्ये उपचारपश्चात् ३४ जना भने कोरोनामुक्त भएका छन् ।’

समितिले गैरआवासीय नेपालीहरुमध्ये अमेरिकामा एक हजार, बेलायतमा सात सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलियामा ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको जनाएको छ । यस्तै स्विट्जरल्याण्ड पाँच, बेल्जियम छ, साउदी अरबमा चार, जर्मनीमा चार, मलेसिया, क्यानडा, न्युजिल्याण्ड, साइप्रसमा क्रमशः तीन/तीन जना र जापान, हङकङ र मल्टामा क्रमशः दुई/दुई जना तथा फ्रान्समा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघ/संस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।

यसैबीच कोरोना भाइरसको महामारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ । कोरोना महामारीपछि ४१ देशमा रहेका संघका शाखाहरुमार्फत नौ सय जना स्वयंसेवक परिचालन गरेको छ । कोरोना संक्रमणपछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ । ७० जनाभन्दा गैरआवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाइरहेका छन् ।

यसअघि चीनबाट कोरोना भाइरस संक्रमण सुरु भएलगत्तै संघले अध्यक्ष पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो । विशेषगरी नेपालीहरु विदेशमा काम गर्न र शिक्षा लिनको लागि जाने गरेका छन् । संघका महासचिव बद्री केसीले कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण घुम्न तथा अन्य प्रयोजनका लागि विदेश गएका नेपालीहरु समेत विभिन्न मुलुकमा रहेको बताए ।

यस्तै उनले स्वदेश फर्किने चाहना नेपालीको संख्या समेत धेरै रहेको बताए । कोरोना भाइरसको कारण विदेशमा रहेका लाखौं नेपालीहरु स्वदेश फर्किन चाहेका छन् । तर हालसम्म सरकारले विदेशमा रहेका नेपालीलाई फर्काउने विषयमा भने कुनै निर्णय लिन सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया