Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


लकडाउनलाई सार्वजनिक विदा घोषणा
काठमाडौं, वैशाख १६
सरकारले लकडाउनको अवधिलाई सार्वजनिक विदाको घोषणा गरेको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात् विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक विदा भनिएको छ । सरकारले चैत ११ गतेदेखि विभिन्न मितिमा वैशाख २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘मिति २०७६ चैत ९ गते र तत्पश्चात् विभिन्न मितिमा जारी गरेको आदेशबमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी विदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।’

विदाको अवधिलाई कसरी गणना गर्ने भन्ने अन्योल परेको बेला सरकारले राजपत्रमै सूचना प्रकाशित गरी सार्वजनिक विदाको मान्यता दिएको हो । सरकारले अत्यावश्यक बाहेक अन्य कार्यालयलाई खोल्न अनिवार्य नहुने यसअघि नै बताइसकेको थियो । अब कर्मचारीहरुले विदाको बेलामा पाएजस्तै तलब पाउनेछन् । विदाको बेलाको अन्य भत्ता भने पाउने छैनन् । वैशाख २५ गतेसम्म लकडाउन भनिए पनि कहिलेसम्म जारी रहने अझै निश्चित छैन ।

थप कोरोना संक्रमित फेला परेनन् : सरकारले परीक्षणलाई तीव्रता दिए पनि सोमबार थप कोरोना भाइरस कोभिड–१९ संक्रमित फेला परेका छैनन् । नेपालमा अहिलेसम्म कोरोना भाइरस आयातित संक्रमणकै रुपम रहेको छ । विदेशबाट आउन रोक लगाइएको लामो समय भएको कारण कोरोना संक्रमितको संख्या कम हुँदै गएको बताइएको छ ।

पीसीआर विधिबाट दश हजार ४७१ र -यापिट डाइनोस्टिक टेस्ट (आरडीटी) बाट ४३ हजार ६३ गरी कूल ५३ हजार ५ सय ३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार दिउँसोदेखि सोमबार दिउँसोसम्म देशभर दुई हजार १ सय ८४ जनाको परीक्षण गरिएको थियो । ती कसैमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छैन ।

प्रदेश नं १ मा हालसम्म चार हजार ५ सय ४५, प्रदेश नं २ मा पाँच हजार २ सय ८, वाग्मतीमा सात हजार ६ सय २६, गण्डकीमा चार हजार ९ सय २६, प्रदेश नं ५ मा तीन हजार ४ सय ७१, कर्णालीमा पाँच हजार २२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ आरडीटीबाट परीक्षण भइसकेको छ । आरडीटीबाट परीक्षण गर्ने ४२ हजार ६३ पुगेको छ ।

हालसम्म कोभिड १९ सङ्क्रमितको सङ्ख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकी ३६ जनाको उपचार भइरहेकोमा सबैको अवस्था सामान्य रहेको जानकारी दिए । सामान्य अवस्था रहेकाहरुको रिपोर्ट नेगेटिभ नआएसम्म अस्पतालबाट डिस्चार्ज गरिने छैन । । क्वारेनटाइनमा बस्नेको सङ्ख्या २० हजार १९५ र आइसोलेशनका बिरामीे सङ्ख्या १०६ छन् । त्यसमा उपत्यकाभित्र आठ र उपत्यका बाहिर ९८ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई हजार ११९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेभ पेजमा हालसम्म आफ्नो स्वमूल्याङ्कनको लागि ‘इन्ट्री’ गर्नेको सङ्ख्या २७ हजार ५४२ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । गत २४ घण्टामा ७ सय ४१ जनाले आफ्नो स्वमूल्याङ्क फाराम भरेकोमा आठ जना रेडजोनमा परेका छन् । हालसम्म कूल रेडजोनमा हुनेको सङ्ख्या ३ सय ४ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेको छ ।

प्रवक्ता देवकोटाले सङ्क्रमणको प्रकृति हेरिकन लकडाउन खोलाउनेबारे के गर्ने भन्ने निर्णय हुने बताए । सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने देखिएको उनको भनाइ छ । सोही अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीको बारेमा जानकारी दिँदै कोरोना लागेको शङ्का लागेको खण्डमा जुन विधिबाट भए पनि तत्कालै परीक्षण गर्न आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया