Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरियाको पहिलो उडान बिहीबार

कोरियाको पहिलो उडान बिहीबार


काठमाडौं, वैशाख १७ 
रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीबाट दक्षिण कोरिया गएर विदामा नेपाल फर्केका नेपालीहरु बिहीबार कोरिया फर्किन पाउने भएका छन् । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुसहित नयाँ भिसा भएकालाई कोरिया जान दिने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार विभागले उनीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार सूचना जारी गर्दै विदामा नेपालमा रहेका व्यक्तिले स्वेच्छाले आफ्नो काममा फर्की जान चाहनेलाई विभागअन्तर्गत रहेको ईपीएस कोरियामा शाखामा सम्पर्क गर्न आग्रह गरेको हो ।

मन्त्रिपरिषद् बैठकले कामदारलाई स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडानमार्फत जान स्वीकृति दिएको थियो । कोरोना महामारीअघि विदा लिएर नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायी अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यही अलपत्र परेका थिए । यद्यपि यसबीचमा कोरियाबाट कति नेपाली श्रमिक विदामा नेपाल आएका छन् भन्ने तथ्याङ्क सरकारी अधिकारीसँग छैन ।

गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)को पहलमा त्यस्ता कामदारको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको छ । करिब २ सय ५० कामदार विदामा नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ । कोरियामा कोभिड–१९ को महामारी विस्तारै कम हुँदै गएपछि त्यहाँका रोजगारदाताले नेपाली कामदारलाई जतिसक्दो चाँडो फर्कन आग्रह गर्दै आएका छन् ।

विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको विदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो । आफूले काम गरिरहेको कम्पनीले छिटो फर्किन भनिरहने तर लकडाउनका कारण फर्किन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए ।

उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउने तयारी गरिएको छ । सङ्घ र नेपाल एयरलायन्सबीच सोमबार चार्टर्ड उडानसम्बन्धी सम्झौता भएको छ । पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट गर्ने तयारी भइरहेको छ । जसमा भिसा सकिन लागेकालाई प्राथमिकता दिई उडाइनेछ । दक्षिण कोरिया फर्किनेले टिकटबापत एक लाख १३ हजार ७ सय ७५ रुपैयाँ बुधबार अपराह्न २ बजेभित्र बुझाउन सङ्घले आग्रह गरेको छ । कोरिया फर्केपछि अनिवार्य रूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया