नेपाल राष्ट्र बैंकले विसं २०७६ साल चैत १९ गते एउटा परिपत्र जारी गरेको थियो । तत्कालीन समयमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी (कोभिड १९)का कारण विश्व अर्थतन्त्र कमजोर बनेको थियो । सोही कारण राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गर्दै सुनको दैनिक आयात कोटालाई १० केजीमा झारेको थियो । त्यसअघि सुनको दैनिक आयात कोटा १५ केजी थियो । सुनको दैनिक आयात कोटा बढाउँदा विदेशी मुद्रा सञ्चितिमा दबाब आउने र बाह्य क्षेत्र समस्यामा पर्ने भन्दै राष्ट्र बैंकले सुन आयातको कोटा घटाइदिएको थियो ।
राष्ट्र बैंकले त्यो समयमा जारी गरेको सुनको दैनिक आयात कोटासम्बन्धी परिपत्र अहिले पनि कायम छ । अर्थात् बैंकहरूले दैनिक १० केजीभन्दा बढी सुन आयात गर्न पाउँदैनन् । नेपालमा अहिले २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये १६ वटाले मात्रै सुन आयात गर्दै आएका छन् । नेपाल बैंकर एसोसिएसन (एनबीए)का अनुसार एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले सुन आयात गर्दैनन् ।
सुन आयातको लागि एनबीएले दिएको सिफारिसको आधारमा बैंकहरूले सुन आयात गर्छन् । सुन ल्याउन अनुमति पाएकामध्ये एउटा बैंकले एक पटकमा आफ्नो पालोमा ५० केजीको दरमा सुन ल्याउन पाउँछ । यसरी दैनिकरूपमा ल्याएको १० केजी सुनमध्ये बागमती प्रदेशको लागि पाँच केजी कोटा छुट्याएको छ । बाँकी पाँच केजी भने अन्य छवटा प्रदेशमा छुट्याइएको एसोसिएसनले जनाएको छ । अहिले देशभर दैनिक २० केजीभन्दा बढी सुनका गहनाको माग छ । राष्ट्र बैंकको परिपत्रअनुसार आपूर्ति भएकोे सुनको परिमाणलाई आधार मान्ने हो भने नेपालमा अहिले सुनको हाहाकार हुनुपर्ने थियो । आपूर्तिभन्दा माग बढी हुँदा मूल्य बढ्ने र बजारमा सुनको अभाव हुने अर्थशास्त्रको सर्वमान्य सिद्धान्त हो । तर, अहिले बजारको अवस्था हेर्दा सुनको अभाव छैन ।
काठमाडौंको न्युरोड, विशाल बजार, दरबारमार्गलगायतका क्षेत्रमा रहेका रिद्धीसिद्धी ज्वेलर्स, अस्स्री ज्वेलर्स, आरके ज्वेलर्स, शालिमार ज्वेलर्सलगायतका ठूला सुनपसलहरूमा सरसर्ती हेर्दा पनि एउटै पसलमा २० केजीभन्दा बढी सुनका गहना मौज्दात रहेको देखिन्छ । जब कि सुनको दैनिक आयात कोटा नै सातवटा प्रदेशको लागि २० केजी छ भने एउटै पसलमा २० केजीको सुनको मौज्दात कसरी सम्भव भयो ? यसको सिधा उत्तर हो, नेपालको सुन बजार तस्करीले धानेको छ । तस्करहरूले सुनको तस्करी खुकुलो भएको अवस्थालाई लाइन खुला भएको भनेर भन्ने गरेका छन् । उनीहरूकै भाषामा भन्नुपर्दा नेपालमा अहिले सुन तस्करीको लागि लाइन खुलेको देखिन्छ ।
पछिल्लो पटक ठूलो परिमाणमा एयरपोर्ट भन्सार पार गरिसकेपछि एक सय केजी सुन समातिनु, त्यसको व्यवस्थापनमा चिनियाँ, भारतीय र नेपाली नागरिकहरू समेतको संलग्नता देखिनु, सबैभन्दा सुरक्षित मानिएको काठमाडौंका प्रहरी वृत्त नजिकै तस्करले सुन व्यवस्थापन र बिक्रीवितरण गर्न गोदामको रूपमा खाली सटर भाडामा लिएको देखिनु, टोखामा ठूलो परिमाणमा तस्करी गरेको सुन गाल्ने कारखाना नै भेटिनुले पनि नेपालमा सुनको लागि लाइन खुलेको प्रस्ट हुन्छ ।
तस्करी पहिला पनि हुनेगरेको थियो, अहिले पनि भइरहेको छ । तस्करहरूको बीचमा कुरा नमिल्दा मात्र सुन तस्करीका घटनाहरू सार्वजनिक हुनेगरेका छन्, त्यतिबेला मात्र राज्य संयन्त्र तात्ने गरेको छ । सुनको तस्करीमा संलग्न नेपाली र विदेशी व्यक्तिहरूसँग नेपालको उच्च राजनीतिक संयन्त्रको नियमित उठबस हुनुले पनि नेपाल सुन तस्करीको लागि स्वर्ग नै हो भन्ने पुष्टि हुन थालेको छ । नेपालको एयरपोर्ट प्रयोग गर्दै दुबई, कतार, हङकङबाट नेपाली नागरिकहरूलाई भरिया बनाएर ठूलो परिमाणमा सुन तस्करी हुनेगरेको छ ।
यसको बारेमा राज्य संयन्त्र, सुरक्षा निकाय सबै सधैँ नै जानकार रहेको हुनुपर्छ । कुन–कुन व्यक्ति वा समूहले नेपालमा सुन तस्करी गरिरहेको छ, त्यसको व्यवस्थापन कसरी भइरहेको छ, सुन तस्करको राजनीतिक साइनो कस्तो छ ? सुरक्षा निकाय यी सबै विषयमा जानकार रहेको हुनुपर्छ । तर, यी सबैको बाबजुत पनि मुख्य तस्कर कहिले पनि पक्राउ नपर्नु, जहिले पनि भरिया मात्र कारबाही पर्नुले नेपालमा सुन तस्करलाई जोगाउने, तस्करीलाई संस्थागतरूपमा संरक्षण गर्ने काम राज्यसंयन्त्र अर्थात् भनौँ उच्च राजनीतिक नेतृत्वबाट नै भएको मान्न सकिन्छ । राजनीतिक नेतृत्वको आवरणमा तस्करीलाई संस्थागतरूपमा संरक्षण गरिनु अर्थतन्त्रको लागि घातक हो ।
सुनको दैनिक आयात कोटा एवं सुनको माग आपूर्तिका विषयमा नेपाल राष्ट्र बैंकको सहायक प्रवक्ता एवं सूचना अधिकारी नारायण प्रसाद पोखरेलले राष्ट्र बैंकको काम सुनको माग र आपूर्तिमा तालमेल मिलाउने नभएको बताउँछन् । ‘राष्ट्र बैंकको काम भनेको विदेशी मुद्राको सञ्चितिलाई सहजरूपमा राख्ने र सुनको दैनिक आयात कोटा तोक्ने हो, राष्ट्र बैंकले त्यही काम गरेको छ’, उनले भने, ‘बजारमा सुनको मागको अवस्था र आपूर्तिको अवस्था कस्तो छ ? कसरी सुनको बजार चलेको छ ? त्यसको बारेमा राष्ट्र बैंकले क्लोज्ली हेर्दैन ।
’ केही व्यवसायीहरूले भने बैंकबाट सुन किन्दा प्रतितोला पाँच हजार रुपैयाँ महँगो पर्ने बताए । प्रतितोला पाँच हजार रुपैयाँमा सुन किनेर बेच्नसक्ने अवस्था नभएकाले पनि केही बैंकहरूको अहिलेसम्म सुन बिक्री नभएको व्यवसायीको भनाइ छ । बैंकको सुन बिक्री नहुने र बजारमा सुनको अभाव पनि नहुनुले नेपालको सुनबजारको ठूलो हिस्सा तस्करीको सुनले भरिएको ती व्यवसायीको भनाइले पुष्टि गर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया