राजनीतिक स्वार्थको केन्द्र बन्दै कोशी अस्पताल
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल राजनीतिक स्वार्थको केन्द्र बन्न पुगेको छ । सरकार परिवर्तनसँगै हुने गरेका नयाँ नियुक्तिका कारण अस्पताल नै राजनीतिको थलो बन्न थालेको हो ।
संघीय सरकार मातहतमा रहेको कोशी अस्पतालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुुक्त गरेको अस्पताल विकास समितिले पदावधि सकिन एक महिना बाँकी रहेको अवस्थामा आफ्ना निकटका र नातेदारलाई कर्मचारी नियुक्ति गरिदिएपछि विवाद सिर्जना भएको हो । वर्तमान सरकारले नियुुक्त गरेको अस्पताल विकास समितिका अध्यक्ष डा फरवाड सिलवालले पुराना समितिले नियुक्त गरेका कर्मचारीलाई धमाधम अस्पतालबाट निकाल्न थालेका छन् । सिलवालले पुराना समितिले नियुक्त गरेका कर्मचारीलाई हाजिर नगरी घर जान निर्देशन दिएपछि अस्पतालमा विवाद सिर्जना भएको हो ।
कोशी अस्पतालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले महेश भट्टराईलाई कोशी अस्पतालको विकास समितिको अध्यक्षमा तीन वर्षका लागि नियुक्त गरेका थिए । अध्यक्ष भट्टराईको पदावधि गत असार २३ गते तीन वर्ष पूरा भएर बिदा भएका छन् । भट्टराईले बिदा हुनुअघि धेरै कर्मचारी नियुक्त गरेका थिए । कोशी अस्पतालमा सेवा विस्तार गर्नेभन्दा पनि आफ्ना नातेदार र कार्यकर्तालाई अस्पतालको कर्मचारी नियुक्ति गरेर भट्टराईले अस्पताललाई सिध्याउने खेल खेलेको भन्दै वर्तमान अध्यक्ष सिलवाल र मेडिकल सुपरीटेन्डेन्ट चन्द्रभाल लाभले ती सबै नियुक्ति खारेज गरिदिएका छन् ।
नयाँ नियुक्ति खारेजीपछि अहिले कोशी अस्पतालमा कर्मचारी कर्मचारीका बीचमा आन्तरिक द्वन्द समेत सुुरु भएको छ । विगतको सबै नियुक्ति खारेज गरे पनि अस्पतालका लेखा अधिकृत बालकृष्ण दंगालको सिफारिसमा अस्पतालको खरिदार पदमा नियुक्त भएकी उनकी माइजु रिना निरौलालाई भने यथावत् राखेपछि विवादले उग्ररूप लिएको हो । त्यत्ति मात्रै नभएर लेखा अधिकृत दंगाल र मेडिकल सुपरीटेन्डेन्ट डा लाभले निरौलालाई अस्पतालमा हाजिर नै नभई जेठ १० गतेदेखि असार मसान्तसम्मको तलब समेत खुवाएको पाइएको छ । अस्पताल स्रोतका अनुसार काम नगरी तलब आएपछि खरिदार निरौला गत साउन ७ गतेदेखि भने कोशी अस्पतालमा हाजिर हुन थालेकी छन् ।
हाजिरी नभई कुनै कर्मचारीलाई तलब नै खुुवाउन पाइन्छ ? भनी कोशी अस्पतालका लेखा अधिकृत बालकृष्ण दंगाललाई आर्थिक संवाददाताले प्रश्न गर्दा उनले अस्पतालको प्रशासन शाखाबाट आएको कर्मचारी नामावलीअनुसार लेखाले तलबभत्ता उपलब्ध गराउने गरेको बताए । उनले को कर्मचारी हाजिर छ छैन भन्ने कुरा प्रशासन शाखामा जानकारी रहने र सो शाखाले पठाएको निवेदनका आधारमा नै आफूले तलब/भत्ता बैंक खातामा जम्मा गरिदिने गरेको बताए । अस्पतालको मेडिकल सुपरीटेन्डेन्टले कर्मचारीको बैंक खातादेखि व्यक्तिगत प्यान नम्बर समेत उल्लेख भएको कागजातमा तोक आदेशबाट तलब खुवाउन निर्देशन दिएपछि मात्रै अस्पतालको लेखा शाखाले कर्मचारीको तलब निकासा दिने गरेको उनको भनाइ छ । को हाजिर छ वा छैन भन्ने जानकारी लेखालाई नहुने उल्लेख गर्दै उनले आफूमाथि लगाएको आरोप निराधार र कपोकल्पित भएको दाबी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया