नागढुंगाको आपत्कालीन सुरुङमार्ग ‘ब्रेक थ्रु’
काठमाडौं । नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । दुई दशमलव पाँच सय ५७ किलोमिटर लामो यो सुरुङमार्ग ब्रेक थ्रु भएपछि मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताइएको छ । नेपालको यातायात क्षेत्रको पहिलो आधुनिक सुरुङमार्ग निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको सोमबार ब्रेक थ्रु गरिएको हो ।
नागढुङ्गा सिस्नेखोला सुरुङमार्गअन्तर्गत उक्त सुरुङको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकाले दुवै देशको संस्कृतिअनुसार पूजा गरेर ब्रेक थ्रु गरेका हुन् । सो अवसरमा भौतिक राज्यमन्त्री नन्दा चपाईं, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सञ्चारकर्मी, सो क्षेत्रका स्थानीय तहका प्रमुखलगायत सुरुङभित्रै सहभागी थिए ।
मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आपत्कालीन सुरुङ छिचोलिएको हो । आपत्कालीन उद्धार सुरुङको सफल ब्रेक थ्रु उत्सवका अवसरमा मन्त्री ज्वालाले यो शुभारम्भ ऐतिहासिक र गौरवपूर्ण दिन भएको बताए । उनले केही समयपछि मुख्य सुरुङको पनि ‘ब्रेक थ्रु’ हुने र एक वर्षमा सुरुङमार्गमा यातायातका साधन सुचारु हुने विश्वास दिलाए । हाम्रै पालामा यातायात सुरुङमार्गमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री ज्वालाले नियमित अनुगमन गरेर निर्धारित समयमा सो मार्ग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्माणका क्रममा केही समस्या भए सरोकारवालासँग बसेर हल गर्न आफू तत्पर रहेको पनि उनले बताए । मन्त्री ज्वालाले आयोजनामा आर्थिक सहयोग गर्ने जापान सरकार र जाइकालाई धन्यवाद दिँदैै नेपालको पूर्वाधार क्षेत्रको विकासमा आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
सो अवसरमा राजदूत किकुताले सुरुङमार्गको ब्रेक थ्रुमा भएको विष्फोटनको आवाजले नेपालमा नयाँ युगको आरम्भको संकेत गरेको बताउँदै आफू यसको प्रत्यक्षदर्शी हुन पाउनु गौरवको विषय भएको बताए । उनले यस्तो चुनौतीपूर्ण निर्माण परियोजनामा संलग्न सबैप्रति सम्मान व्यक्त गर्दै सबैको एक एक योगदानले आजको सफलता सम्भव भएको बताए । आयोजनाको निर्माण सम्पूर्ण कार्यसम्पन्न हुन केही समय लाग्ने र त्यस दिनको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले नेपालमा यो दिन अविस्मरणीय रहने बताए ।
यो आयोजनाको सुरुआत धादिङको धुनीवेशी नगरपालिकाबाट भई काठमाडौंको चन्द्रागिरि नगरपालिकामा अन्त्य हुनेछ । आयोजनाको दोस्रो पटक म्याद थपपछि अप्रिल २०२४ मा सम्पन्न गर्ने समयावधि रहेको छ । आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपैयाँमध्ये जाइकाले १५ अर्ब ८० करोड सहुलियत ऋणमार्फत उपलब्ध गराउनेछ भने बाँकी चार अर्ब ८० करोड रुपैयाँ नेपाल सरकारले व्यहोर्ने छ ।
साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको आपत्कालीन सुरुङमा सातवटा ‘क्रस प्यासेज’ राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सातवटा गेट राखिएको छ ।
आयोजनाको मुख्य सुरुङको लम्बाइ भने दुई हजार छ सय ८८ मिटर छ । त्यसमध्ये सोमबारसम्म दुई हजार एक सय ८६ मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर मात्र बाँकी छ । आगामी मंसिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको छ ।
विसं २०७६ कात्तिक ६ गते सुरुङमार्गको औपचारिक शिलान्यास भए पनि सुरुङ खन्ने काम भने झण्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको हो । काठमाडौं उपत्यकाको मुख्य प्रवेशविन्दु मानिने नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुनेछ ।
मुलुकका प्रमुख सहरसँग सम्पर्क गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक नारायणगढ– मुग्लिन–नौबीसे–काठमाडौं खण्डमा पर्ने नागढुंगा भञ्ज्याङमा सुरुङमार्ग निर्माण गरिएको हो । जापानी कम्पनी हाजमा एन्डो करर्पाेरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । आयोजनाअन्तर्गत हाल बलम्बुमा ‘फ्लाइओभर’ निर्माणकार्य समेत भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया