Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष पाठक सहकारी ठगी धन्दामा

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष पाठक सहकारी ठगी धन्दामा


माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा माओवादीको कोटाबाट राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएका डा. बलराम पाठक सहकारी ठगेर लुकीछिपी हिँड्ने गरेको पाइएको छ ।गतिशील बचत तथा ऋण सहकारी संस्था चलाउने राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठकले ललितपुरको पुल्चोकमा रहेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लि.लाई तिर्नुपर्ने रकम नतिरी लुकीछिपी हिँड्नेगरेको पाइएको हो ।

स्रोतका अनुसार एक करोड लिएका डा. पाठकले २५÷२५ लाख गरेर दुई पटक र ५० लाख एक पटक गरी तीन पटकमा असारसम्म आफूले व्यक्तिगत प्रयोजनका लागि लिएको पैसा फिर्ता गर्ने भनेर सुमेरु सेभिङ एन्ड क्रेडिटमा सहमति गरेर फिर्ता नगरी त्यसयता भागेर लुक्दै हिँड्ने गरेका छन् ।

गतिशील सहकारी चलाउँदै आएका पाठक २०७८ कात्तिकदेखि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएपछि सहकारीको अध्यक्ष छोडेका थिए ।राष्ट्रिय वाणिज्य बैंकमा आउनुअघि पनि राजनीतिक पहुँचको आधारमा राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिमा रहेका डा. पाठक क्याम्पसमा विद्यार्थीहरुलाई ज्ञानगुनका कुरा सुनाउने ‘लेक्चर’ समेत हुन् ।

ज्ञानगुनका कुरा सुनाउने सुशासनका कुरा सुनाउने उनै डा. पाठक आफू राष्ट्रिय वाणिज्य बैंकमा आउने भएपछि विकास थापालाई सहकारीको कार्यबाहक अध्यक्ष दिएर सहकारीका करिब दुई हजार सेवाग्राहीहरुको पैसा फिर्ता नगरी बसेका छन् ।

स्रोतका अनुसार सहकारीको पैसाले व्यक्तिगत घरजग्गा खरिद गरेका पाठकले सहकारीमा पैसा माग्न आउनेहरुलाई समेत आफ्नो राजनीतिक पहुँच रहेकोले आफूविरुद्ध मुद्दा नै हाले पनि केही फरक नपर्ने भन्ने गरेका छन् ।

‘डा. पाठकले सहकारीको नाममा समेत अन्य सहकारीहरुबाट ऋण लिएर व्यक्तिगत प्रयोग गरेका छन्’, स्रोतले भन्यो सहकारी डुबाएर हिँड्ने उनै पाठकलाई सुशासनको कुरा गर्ने माओवादीले नै पुरस्कृत गर्दै सरकारी बैंकको अध्यक्ष बनाएको छ । सहकारी डुबाएर सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएका डा. पाठकले वाणिज्य बैंकमा समेत आफ्नो स्वार्थअनुकूलको निर्णय गराउने गरेको स्रोतले दाबी गरेको छ ।

सर्वसाधारणको अर्बौँ रुपैयाँ डुबाएर कुनै सेयर स्वामित्व तथा सरकारी कर्मचारी समेत नभई माओवादी नेता जनार्दन शर्माको संरक्षणमा सरकारी बैंकमा आएका पाठक अहिले पनि माओवादीकै प्रधानमन्त्री रहेको भन्दै कांग्रेसी अर्थमन्त्रीले केही गर्न नसक्ने भन्दै हिँड्ने गरेको स्रोतले बतायो ।

आफ्नो सहकारी डुबाएर अन्य सहकारीको पैसा समेत लिएर नतिरी लुकी हिँडेको विषयमा आर्थिक दैनिकले प्रश्न गर्दा डा. पाठकले यो विषय झुटो भएको दाबी गरे । डा. पाठकका अनुसार उनले सहकारीमा ठगी नगरेको र दुई अर्ब रुपैयाँमा १५/२० करोड निक्षेपकर्ताहरुलाई फिर्ता गरिसकेको र अन्यको समेत फिर्ता गर्ने प्रक्रियामा नै रहेको बताए ।

उनका अनुसार सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लि.बाट लिएको पैसा संस्थागत भएको र सो पैसा एक करोड नभएको समेत दाबी गरे । ‘सुमेरु सहकारीलाई पैसा फिर्ता नगरेको सही हो’, डा. पाठकले भने । गतिशील सहकारीले संस्थागतरुपमा लिएको हुँदा सो पैसा संस्थागतरुपमा नै सहज भएपछि फिर्ता गरिने बताए ।
आफ्नो सहकारीका सम्पूर्ण निक्षेपकर्ताहरुसँग आफू सम्पर्कमा नै रहेको र जग्गा बेचेर भए पनि सम्पूर्ण निक्षेपकर्ताहरुको बचत फिर्ता गर्ने समेत उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया