Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन्’ महिला तथा दलित जनप्रतिनिधि

‘योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन्’ महिला तथा दलित जनप्रतिनिधि


खोटाङ । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका छन् ।

जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्षा राईले वडामा आउने हरेक योजनामा वडाध्यक्षले आफूखुसी योजना निर्माण तथा बजेट विनियोजन गर्ने गरेको बताइन् । “फरक पार्टीबाट जितेको भएर हो वा अन्य कुनै कारणले हो, हामी महिला तथा दलित महिला सदस्यलाई योजना छनोट र बजेट विनियोजनमा वडाध्यक्षज्यूले सहभागी गराउनुहुन्न ।” राईले भनिन् ।

रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका पूर्ववडा सदस्य एवं एमालेकी नेतृ पुण्यकुमारी मगरले स्थानीय तहका पुरुष जनप्रतिनिधिमा विभेदकारी स्वभाव अझै बाँकी रहेकाले आफूहरूमाथि अन्याय भएको बताइन् । “म विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला वडा सदस्य हुँ । अघिल्लो कार्यकालमा काम गरेका जनप्रतिनिधिसँग केही न केही अनुभव हुन्छ । महिला भएकै कारणले हो वा अन्य कुनै कारण । अहिलेसम्म एकपटक पनि वर्तमान जनप्रतिनिधिले गाउँपालिकामा सञ्चालन हुने विकासे योजनाका बारेमा छलफल गराएको छैन ।” उनले भनिन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडासदस्य शशिकला राईले महिला तथा दलित महिला सदस्यले आफ्नो हक अधिकारसँगै हरेक काममा समानता खोज्न जरुरी रहेको बताइन् । “हामी हाम्रो हक तथा अधिकारका लागि एक्ला–एक्लै दौडिरहेका छौँ । हाम्रो एकता नभइ त्यो सम्भव छैन”, उनले भनिन्, “आगामी दिनमा सबैले एउटै आवाज बुलन्द गर्नुपर्ने अवस्था आएको छ । अनिमात्र संविधानमा उल्लेख भएको समानता, समावेशीकरण र सहअस्तित्व कायम हुन्छ ।”

जिल्लाका विभिन्न स्थानीय तहबाट अन्तर्क्रिया कार्यक्रममा निर्वाचित १० महिला तथा दलित महिला वडासदस्य सहभागी भएका थिए । उनीहरू सबैको एउटै आवाज थियो, “हामीलाई पुरुष जनप्रतिनिधिले योजना निर्माण तथा बजेट विनियोजनमा सहभागी नगराई विभेदकारी व्यवहार गर्दै आएका छन् ।”

जिल्लास्थित राजनीतिक दल र स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला सदस्य, पत्रकारलगायतको सहभागिता रहेको अन्तर्क्रियामा संविधानसभा सदस्यद्धय पर्शुराम रम्तेल र दुर्गाजयन्ती राईले सहजीकरण गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश समिति सदस्य टङ्क थापाले अहिले महिला, दलित, जनजातिलगायत जति पनि पछाडि पारिएका व्यक्ति तथा समुदायले प्राप्त गरेका उपलब्धि माओवादीले गरेको दशवर्षे जनयुद्धको जगबाट सम्भव भएको दाबी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका जिल्ला सदस्य शिवकुमार भट्टराईले आफूहरू पनि राज्यले लिएको समानुपातिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्ने अभ्यासमा रहेको जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा)का युवा नेता अञ्जिल राईले आफ्नो पार्टीले उत्पीडनमा परेका हरेक समुदायको पक्षमा बोलिरहेको बताइन् । सो कार्यक्रममा दलित महिला केन्द्र नेपालका अध्यक्ष दुलारी हरिजानको समेत उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया