Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध


काठमाडौँ । गएरातिदेखि भइरहेको अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा अनुरोध गरिएको छ ।

आइतबार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, इलाम, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, बागलुङ, गुल्मी, अर्घाखाँची, प्यूठान, नुवाकोट रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान गरिएको छ ।

भोलि सोमबार देशभरका स–साना नदीहरुको बहाव बढ्ने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान रहेको छ । यही साउन ३० गते लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्यासहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया