Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझोलुङ्गे पुलमा बाढीले क्षति पुर्याउँदा किसान, बिद्यार्थीलाई समस्या

झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याउँदा किसान, बिद्यार्थीलाई समस्या


मलेखु (धादिङ) । धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा त्रिशूली नदीमा आएको बाढीले क्षति पुग्दा किसान र विद्यार्थी समस्यामा परेका छन् । उत्पादन भएको तरकारी तथा फलफूल किसालने बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् ।

बारीमा उत्पादन गरेका तरकारी गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले तिनै झोलुङ्गे पुलबाट आउजाउ रोकिँदा मुख्य सडकसम्म पुर्याउन पाएका छैनन् । ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौँ चितवनलगायतका क्षेत्रमा पठाएर बिक्री गरिँदै आएको छ । यस पुलबाट तरकारी लिएर बजार किनमेलमा आउने ९४ घरधुरी किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले बताइन् ।

दैनिकरूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थीलाई पनि बाढीले पुलमा क्षति पुगेपछि विद्यालय जानआउन समस्या भएको छ । पुलमा क्षतिका कारण मझिमटारमा रहेको शङ्खादेवी मा.वि.मा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन् । गोरखाबाट धादिङको बेनीघाटस्थित शङ्खादेवी मा.वि.मा मात्रै २२ विद्यार्थी रहेको शिक्षक तिलक चेपाङले बताए । उनीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक चार घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्छ ।

लगातार वर्षापछि त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदी र गोरखाको गण्डकी गाउँपालिका–७ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल क्षति भएको छ भने धादिङको बेनीघाट रोराङ–१० र गोरखाको गण्डकी–६ जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ ।

बाढीले बगाएर ल्याएका काठ दाउरा पुलमा अड्किएको छ । अहिले पुलबाट आवतजावत गर्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् । बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस्ट नै बगाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया