Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटमा सधैं पर्ने तर सञ्चालनमा नआउने फलाम खानी

बजेटमा सधैं पर्ने तर सञ्चालनमा नआउने फलाम खानी


काठमाडौँ । सरकारको उच्च प्राथमिकतामा पर्ने खनिजजन्य उद्योगमा धौवादी फलाम खानी पनि एक हो । अध्ययनअनुसार खानीबाट ३६ प्रतिशत शुद्ध फलाम अर्थात् शतप्रतिशत फलामको धाउ निकाल्दा ३६ प्रतिशत शुद्ध फलाम पाइनेछ । यही कारण सरकारको हरेक वर्षको बजेटमा धौवादी फलाम खानी प्राथमिकतामा पर्छ र यसको विकास गर्ने बताइन्छ । तर, हालसम्म खानीबाट फलाम झिक्न कुनै काम भएको छैन ।

सरकारमा रहनेहरूले मुलुकको विकास गर्न विभिन्न परियोजना विकास गरी समृद्ध ल्याउँछु भनेजस्तै धौवादी फलाम खानी सञ्चालन गर्ने एउटा कथन मात्र बनेको सरोकारवालाहरू बताउँछन् । यो कुरालाई खानी तथा भूगर्भ विभागका अधिकारीहरू पनि स्वीकार गर्छन् । सरकारले खानी सञ्चालनको लागि आश्वासन मात्र बाँड्ने तर सञ्चालनमा नल्याउने प्रवृत्तिले नराम्रो छाप पर्नु स्वाभाविक रहेको विभागका एक अधिकारीले बताए । धौवादी फलाम खानीको कार्यालय भने काठमाडौंको लैनचौर खानी तथा भूगर्भ विभाग परिसरभित्र छ । विभागले २०६८ सालबाटै धौवादी खानीको अध्ययन सुरु गरेको थियो । चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जीओलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुले पठाएको अध्ययन प्रतिवेदनअनुसार शतप्रतिशत फलामको धाउ निकाल्दा ३६ प्रतिशत शुद्ध फलाम उत्पादन हुन्छ । बाँकी ६४ प्रतिशत फलामको धाउ भने विभिन्न प्रयोजनको लागि प्रयोग हुनेछ भने खानीबाट उत्पादित फलामबाट स्टिल समेत उत्पादन गर्न सकिनेछ । फलाम खानीमा रहेको कच्चा पदार्थमा फलामको मात्रा पत्ता लगाउनको लागि नेपाल सरकारले चीन पठाएको थियो ।

त्यस्तै, सरकारले हरेक वर्षको बजेट ल्याउँदा धौवादी फलाम खानी सञ्चालनमा ल्याउने तथा विकास गर्ने बताउँछन् । चालू आर्थिक वर्षको बजटको बुँदा नम्बर एक सय ४७ मा पनि धौवादी खोलासम्बन्धी विषय छ । जहाँ भनिएको छ, ‘धौवादी फलाम खानी विस्तृत सर्भेक्षण, विस्तृत परियोजना प्रतिवेदन तयारी र वातावरणीय सम्भाव्यता अध्ययन सम्पन्न गरी उत्खनन कार्य प्रारम्भ गरिनेछ ।’ चालू आर्थिक वर्षको बजेटमा मात्र नभई अघिल्लो आर्थिक वर्ष २०७९/८०को बजेटमा पनि यस्तै व्यवस्था थियो । सो वर्षको बजेटमा ‘सार्वजनिक निजी साझेदारीमा धौवादी फलाम खानीबाट फलाम उत्पादनको पूर्वतयारीका कार्य सम्पन्न गरिनेछ’, भन्ने विषय उल्लेख थियो ।

बजेटमा मात्र नभई सरकारले आर्थिक वर्ष २०७७/७८ देखि व्यावसायिक उत्पादन गर्ने बताउँदै आफ्नो नीति तथा कार्यक्रममा समेत धौवादी फलाम खानीलाई समावेश गरेको थियो । सो वर्ष सरकारले सो खानीबाट व्यावसायिय उत्पादन गर्ने बताएको थियो । तर, हालसम्म खानी सञ्चालन हुन सकेको छैन । हुम्सीकोट र बौदीकाली गाउँपालिकाको १० किलोमिटरमा फैलिएको सो फलाम खानी सञ्चालनको लागि पछिल्लो समय विभागले सेयर संकलनको काम अघि बढाउने तयारी गरेको थियो । धौवादी फलाम खानीको विस्तृत परियोजना प्रस्ताव तयारी गर्नुका साथै सो कम्पनीका सेयरहोल्डरहरूको तर्फबाट सेयरबापतको रकम संकलन गर्ने काम भइरहेको विभागका तत्कालीन अधिकारीहरूले बताएका थिए । विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव मूल्यांकन कार्य समेत अघि बढाएको विभागले हाल भने खानी प्रयोजनको कुनै काम अघि नबढेको जानकारी दिएको छ ।

विभागका विज्ञहरूले २०६९ देखि २०७५ सम्म विभिन्न समयमा खानी क्षेत्रमा नमूना संकलन गरी परीक्षण गर्दा फलाम रहेको पत्ता लागेको थियो । साथै विदेशमा गरेको अनुसन्धानले पनि त्यहाँ फलाम रहेको पुष्टि भएसँगै उद्योग मन्त्रालयले २०७६ असोजमा धौवादी फलाम खानी कम्पनी लिमिटेड गठन गरेर काम अघि बढाएको थियो । सरकारले बजेटमा राखे पनि पर्याप्त रकम उपलब्ध नगराउँदा खानी सञ्चालन गर्न नसकिएको हो ।

खानी उत्खनन तथा सञ्चालनको लागि अघिल्ला आर्थिक वर्षमा दुई अर्ब रुपैयाँ माग गरे पनि सरकारले पहिलो चरणअन्तर्गत २५ करोड रुपैयाँ मात्र प्रदान गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया