गलकोट । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ । बागलुङ बजारसँगै जोडिएको खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ ।
तीन महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा रु. एक करोड नौ लाख खर्चेर घरघरमा खानेपानीको धारा निर्माण गरिएको स्थानीय मुरारी शर्माले बताए । चार किलोमिटर टाढा छरिखोलागाउँबाट मुलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ ।
स्थानीय मुरारी शर्माले भने, “बागलुङ नगरपालिकाको पहलकदमीलाई विशेष धन्यवाद दिन चाहान्छौँ, बागलुङ बजारसँग जोडिएको गाउँ भए पनि बत्तीमुनिको अँध्यारो जस्तो भएको थियो रातमाटा, यहाँको खानेपानीको दुःख, सङ्घर्ष र पीडा भनीसाध्य थिएन, अहिले विकासको महसुस गरेका छौँ ।”
पटकपटक खानेपानी आयोजना परे पनि व्यवस्थित नहुँदा खानेपानीको दुःख नगएको भन्दै अहिले नेवाको आर्थिक तथा प्राविधिक सहयोग नगरपालिकाको र स्थानीय उपभोक्ताको साझेदारीमा एक सय ८१ धारा बनेकामा एक सय ७५ घर र छ वटा सार्वजनिकस्थल तथा विद्यालयलगायतका स्थानमा धारा निर्माण गरिएको हो ।
रातमाटामा खानेपानीको दुःख पहिलेदेखि सुन्दै आएको बताउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले तीन महिनामा रु. एक करोड नौ लाखको आयोजनाको काम सम्पन्न हुनु गौरवको विषय भएको बताए । उनले आफ्नो कार्यकालभित्रै सर्भे गरेको योजना यतिछिट्टै सम्पन्न भएर आफ्नै हातले उद्घाटन गर्न पाएकामा नेवालाई धन्यवाद दिए ।
“नेवाको साझेदारीमा एक वर्षभित्रै सङ्कटग्रस्त क्षेत्र लङ्गाउँमा लिफ्टमार्फत खानेपानी वितरण गरियो, त्यसको एक महिनापछि रातमाटामा एक सय ८१ घरमा खानेपानी पु-याएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “खानेपानीको दुःख रहेको रातमाटाका घरघरमा धारा बन्दा स्थानीयको दैनिकी फेरिने भयो ।”
नेवाको रु. ६७ लाख ५९ हजार नौ सय ८५, नगरपालिकाको रु. १६ लाख ९३ हजार सात सय ९४, स्थानीय समुदायको नगद रु. छ लाख ३४ हजार एक सय ८३ र स्थानीयको श्रमदान बराबरको रु. १९ लाख ६९ लाख नौ सय १६ गरी रु. एक करोड नौ लाख ७५ हजार सात सय ५७ रकममा उक्त खानेपानी आयोजना निर्माण सुरु भएको तीन महिनामै सकिएको रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव दिपक शर्माले जानकारी दिए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हितनाथ शर्माले चार किलोमिटर मुख्य पाइपलाइनसहित घरमा घारा पु-याउँदासम्म १८ किलोमिटर पाइपलाइन, तीन वटा इन्टेक, पाँच वटा वितरण ट्याङ्कीमार्फत रातमाटा गाउँका घरघरमा धारा वितरण गरिएको बताए ।
खानेपानीको चरम सङ्कट भएको स्थानमा नेवाले स्थानीय सरकारको नगद साझेदारीमा ‘एक घर, एक धारा’ निर्माण गरिरहेको जनाउँदै नेवा बागलुङका कार्यालय प्रमुख रमेश दाहालले बागलुङको रातमाटासहितका ठाउँमा पाँच वर्षमा पाँच हजार धारा निर्माण गरिएको बताए । विसं २०५८ मा ‘रातमाटाको नारा घरघरमा खानेपानीको धारा’ भन्ने गरिएको अभियान अहिले आएर मात्रै पूरा भएको स्थानीय लक्ष्मी शर्माले जानकारी दिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया