Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउँछौँ : प्रधानमन्त्री

ठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउँछौँ : प्रधानमन्त्री


काठमाडौँ । योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले ठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउने सरकारको सोच रहेको बताए । प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत् विकासका लागि योगदान पु-याइरहेको निजी क्षेत्रको उत्पादित विद्युत्समेत खरिद गरिरहेको प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीमार्फत आगामी दिनमा विद्युत् उत्पादन क्षेत्रमा सशक्त र अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

“प्राधिकरणको ३८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्न यस रोष्टममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु”, प्रधानमन्त्रीले भने । त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । “त्यस बेला मैले तीन महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई पत्याउँदैनथे, मजाकको विषय बनाएका थिए ।” प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपश्चात् हाम्रो सङ्कल्प, इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।

हाम्रो देश जलविद्युत् उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशका रूपमा परिचित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जलवायु जोखिमसँग सम्बन्धित पक्षलाई समेत मनन गर्दै बिना विलम्ब यस अवसरको उपयोगिता लिन हामीपछि पर्नु नहुने बताए ।

नयाँ विद्युत् ऐन छिट्टै : सरकारले नयाँ विद्युत् ऐन र अन्य आवश्यक नीति÷निर्देशिका ल्याउनसमेत कुनै कसर बाँकी नराख्ने बताए । नेपालले हरित हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइसकेको उनको कथन छ । सरकारले चाँडै नै हरित हाइड्रोजनसम्बन्धी नीति जारी गर्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यो आफैँमा दूरगामी महत्वको हुने बताए ।

विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनले नेपालको जलस्रोत क्षेत्रमा परिरहेको प्रभाव अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विद्युत् उत्पादन र लगानीको दीर्घकालीन योजना निर्माण गर्दा जलवायु परिवर्तनले भविष्यमा पार्नसक्ने असरको प्रक्षेपणलाई अवलम्बन गर्न जरुरी भएको बताए ।

सबै नेपाली जनताको घरदैलोमा आगामी दुई वर्षभित्र विद्युत् पु¥याउने लक्ष्यअनुरूप प्राधिकरणले विद्युतीकरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पेक्षित लक्ष्य हासिल गर्न प्राधिकरण सफल हुनेमा आफू विश्वस्त रहेको बताए । सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत् माग वृद्धि गर्न विद्युतीय सवारी साधन, विद्युतीय चुलो आदिको प्रयोगमा प्रोत्साहन गरेको जानकारी दिए ।

बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युत्को अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात् गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायको आपसी समन्वयलाई आफूले विशेष जोड दिएको बताए । आर्थिक समृद्धिको अभियानमा प्राधिकरणले आफूलाई अब्बल सावित गर्दै सशक्त भूमिका र दायित्वबोधसहित आफ्ना विविध परियोजना प्रक्षेपित कार्यतालिकाभित्रै सम्पन्न गर्न अपरिहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ ।

विद्युत् व्यापारमा दीर्घकालीन सम्झौता : अन्तरदेशीय बजारको पहुँच दिलाउन मैले भारत भ्रमणका क्रममा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीजीसँगको भेटमा भएका समझदारीलाई दीर्घकालीन विद्युत् व्यापारको एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको प्रधानमन्त्रीले बताए । आगामी दश वर्षमा जलविद्युत्को तीव्र विकास र अधिकतम स्वदेशी खपतबाट व्यग्रतापूर्वक ठूलो आर्थिक रूपान्तरणको तयारी र प्रतीक्षा गरिरहेको समेत उनको भनाइ छ । आन्तरिक खपत गरी बढी भएको बिजुली भारतलगायतका देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको प्रधानमन्त्रीले बताए ।

विद्युत् निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु¥याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको जानकारी दिँदै उनले दक्षिण एसियामै विद्युत् व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रूपमा हेरिएको प्रधानमन्त्रीको कथन छ । त्यसबाट नेपालमा जलविद्युत् लगानीको थप उपयुक्त वातावरण निर्माण भएको तथा दीर्घकालीन विद्युत् व्यापारका लागि स्वदेशी तथा अन्तरदेशीय प्रसारण संरचनाको तयारी पूरा गर्न सम्बन्धित मन्त्रालय सरोकारवाला निकायको योगदान आवश्यक रहने प्रधानमन्त्री दाहालको भनाइ छ ।

बङ्गलादेशमा छिट्टै बिजुली निर्यात :नेपाल–बङ्गलादेश विद्युत् व्यापार सुरू हुने गरी नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । नेपाल–बङ्गलादेश विद्युत् व्यापारलाई भविष्यमा क्रमशः बढवा दिँदै लैजाने परिस्थिति बनेको तथा आगामी महिनामा हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको प्रधानमन्त्रीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया