प्रधानमन्त्रीको प्रेस सल्लाहकार भन्दै मिटरब्याजको धन्दा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘प्रेस सल्लाहकार’ हुँ भन्दै एक व्यक्तिले मिटरब्याज धन्दा चलाउने गरेको खुल्न आएको छ । नेकपा माओवादी केन्द्रका प्रस्तावित केन्द्रीय सदस्य श्रीबल्लब नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा माओवादी केन्द्रका नेताहरूसँग तस्बिर खिचाउँदै हिँड्ने र मिटरब्याज धन्दा गर्नेगरेको खुलेको हो ।
सुशासनको नारा दिएर हिँड्ने प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले व्यवहारमा ठीक उल्टो गर्दै गृहमन्त्री श्रेष्ठको ठाडो निर्देशनमा उजुरी गर्ने पीडितको घरमा नै प्रहरी प्रशासन पठाएर उजुरी किन गरेको भन्दै धम्की दिनेगरेको पाइएको छ । सादा पोषाकमा पीडितको घरमा पुगेका प्रहरीले उजुरी गर्ने अविनाश कर्णलाई खोज्दै परिवारका अन्य सदस्यहरूलाई धम्की दिएका छन् ।
कुनै समय ‘हर्बो’ नामक नेटवर्किङ व्यवसायका नाममा ठगी गरेको अभियोगमा पक्राउ समेत परी छुटेका नेपालले अविनाश कर्णलगायतका व्यक्तिलाई मिटरब्याज लगाएर उनको घर नै खाने नियत राखेको खुलेको छ ।
एनआईसी एसिया बैंकको खुमलटार ब्रान्चका प्रमुख समेत रहेका अविनाशले श्रीबल्लबको स्वामित्व रहेको एक कम्पनीलाई ९५ लाख रुपैयाँ ऋण दिएका थिए । सोही ऋणको ४५ लाख रुपैयाँ भने बैंक म्यानेजरलाई नै चलाउन उनले दिएका थिए । त्यसमध्ये अविनाशले १५ लाख रुपैयाँ तिरेका थिए । बाँकी रहेको ३० लाख रुपैयाँको ब्याज प्रतिलाखको प्रतिदिन पाँच हजारको दरले जोडेर पाँच महिनामै ११ करोड रुपैयाँ पु¥याएको अविनाशको दाबी छ । नेपालले छुटको नाममा प्रतिदिन दुई प्रतिशतका दरले ब्याज जोडेर दुई करोड ३२ लाखको चेक लिएको र सो चेक बाउन्स गराएर घरजग्गा खाने नियतले बैंकिङ कसुर मुद्दा दायर गरेको पीडितको दाबी छ ।
‘म प्रधानमन्त्रीको प्रेस टिममा छु । मैले काठमाडौंको सीडीओ मात्रै होइन प्रहरीप्रमुख (एसएसपी) पनि ल्याएको हुँ’, अविनाशलाई श्रीबल्लबले भनेको अडियोमा छ, ‘तपाईँले प्रोपर्टी पास गरिदिनुभएन भने तपाईँ भित्र जानुहुन्छ ।’अविनाशले यही साउन २२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा श्रीबल्लबविरुद्ध मिटरब्याज तथा अनुचित लेनदेनमा मुद्दा दर्ता गराएका छन् । तर, उनले दिएको जाहेरीमा प्रशासन कार्यालयले कुनै सुनुवाइ गरेको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई श्रीबल्लबले नै सरुवा गरी काममा खटाएको उनको दाबीलाई जिल्ला प्रशासन कार्यालयले नै पुष्टि गरिदिएको छ । सोमबार पीडित पक्षलाई छलफलका लागि बोलाएर प्रहरी लगाएर उल्टै पक्राउ गर्ने तयारी गरिएको थियो ।
प्रशासन कार्यालयको परिसरमा रहेका श्रीबल्लबले पीडित पक्षलाई धम्की समेत दिएका थिए । उनले आफूले सीडीओसापलाई सबै कुरा मिलाएकाले यस्तो जाहेरीको कुनै अर्थ नहुने भन्दै पीडितको मनोबल गिराउने काम गरेका थिए ।त्यतिमात्रै होइन यस विषयमा कसैले समाचार लेखे त्यस्तालाई पक्राउ गर्न आफूले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई समेत भेटेरै निर्देशन दिएको र त्यसका लागि महानिरीक्षक कुँवरले ‘टास्क फोर्स’ समेत खडा गरिसकेको दाबी उनले कार्यालयमै गरेका थिए । उनको फुर्ती सुनेर फर्किएका पीडितका आफन्तले जिल्ला प्रशासन कार्यालयबाट न्याय पाउनेमा आशा मारेका छन् ।
प्रधानमन्त्रीको सक्कली प्रेस सल्लाहकारको निर्देशन नै झुटो
नेकपा माओवादी केन्द्रको प्रस्तावित केन्द्रीय सदस्य समेत रहेका श्रीबल्लबले एक जनालाई होइन दर्जनौँ व्यक्तिलाई मिटरब्याज लगाएका छन् । उनले गन्तव्य इन्भेष्टमेन्ट प्रालि र गन्तव्य यातायात सहकारी नामक सहकारीबाट कयौँको रकम हिनामिना गरेका छन् । सहकारीबाट पीडित भएकाहरू प्रहरीमा गए पनि सुनुवाइ भएको छैन ।
प्रधानमन्त्रीको प्रेस टिमको सदस्य रहेको दाबी गर्ने उनलाई पक्राउ गर्न प्रधानमन्त्रीका सक्कली प्रेस सल्लाहकार गोविन्द आचार्यले एक अनलाइनमार्फत निर्देशन दिएका थिए । तर, उनको निर्देशन समेत हावादारी भएको छ । माओवादी केन्द्रको विशेष प्रदेशको सचिवालय सदस्य समेत रहेका उनले समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आशीर्वाद लिएको बताए । ‘मैले समाचार नै आएपछि प्रधानमन्त्रीलाई भेटेँ । उहाँले तपाईँलाई हाम्रो साथ छ भनेर भन्नुभएको छ’, श्रीबल्लबले जिल्ला प्रशासन कार्यालय परिसरमा छलफलका क्रममा सार्वजनिक गरेको भनाइ उद्धृत गर्दैै पीडित पक्षले भन्यो, ‘विपक्षी पार्टीले तपाईँको बदनाम गरेर केही हुँदैन तपाईँ अघि बढ्नुस् हाम्रो साथ छ ।’
श्रीबल्लब नेपालले जिल्ला प्रहरी परिसर काठमाडौंमा अनिवाश कर्णविरुद्ध ४६ लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै उजुरी दिएका छन् । उजुरीअनुसार अविनाश पक्राउ परी धरौटी तिरेर निस्कन पाउँछन् । तर, उनी अविनाशलाई पक्राउ गराउनभन्दा पनि उनको करोडौँको घर खाने नियतमा छन् । उनले अविनाशलाई भेटेर ‘सीडीओ र एसएसपी मैले ल्याएको हुँ । तपाईँ अब भित्र गएपछि सबै कुरा जान्छ । तपाईँको प्रोपर्टी पास गरिदिनुस्’ भन्दै धम्की दिने गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया