Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्याजमा कालोबजारी

प्याजमा कालोबजारी


काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने भएपछि नेपाली बजारमा चर्को कालोबजारी भएकोे छ । थोक व्यापारीहरूले प्याजको स्टक सकिएको भनेर बजारमा प्याज पठाएका छैनन् । यही कारण मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आफ्नो मूल्यसूचीमा प्याजको मूल्य नै राखेन ।

भारतले प्याजमा निर्यात कर लगाउने निर्णय गरेको सूचना आउँदा आइतबार नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो ६० रुपैयाँ थियो । सोमबार बिहान प्रतिकिलो ७० रुपैयाँ कायम भएकामा साँझसम्म ९० रुपैयाँ पुगेको थियो । आइतबार भने बजारमा प्याज एक सय रुपैयाँमा बिक्री भएको खुद्रा व्यापारीले बताएका छन् ।

नेपालमा प्याजको आयात करिब १५ दिनलाई पुग्नेगरी हुने एक व्यापारीले बताए । तर, मूल्य बढ्ने डरले माग धेरै हुँदा दुई दिनमै प्याजको स्टक सकिएको ती व्यापारीको भनाइ छ । काठमाडौंका विभिन्न ठाउँमा प्याज किन्न पाइए पनि कालिमाटी तरकारी बजारमा भने उपलब्ध थिएन । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरी पाँच व्यापारीलाई कारबाही गरेपछि व्यापारीले प्याज लुकाएको आशंका उपभोक्ताकर्मीहरूको छ ।

बजारमा भारतले निर्यात कर नलगाउँदै भित्रिएको प्याजको मूल्य बढाइएको र विभागको अनुगमन हुने डरले आपूर्ति नै रोक्ने काम भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार र मंगलबार प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गरेको थियो । तर पनि बजारमा कालोबजारी रोकिएको छैन । उल्टै व्यापारीले स्टक सकिएको भनेर प्याजको आपूर्ति नै रोकेका छन् । व्यापारीका अनुसार अब आयात भई नयाँ मूल्यमा बजारमा प्याज आउनेछ ।

भारतले निर्यात कर बढाउनुभन्दा अघि नै भित्रिएको प्याजमा व्यापारीले चर्को मूल्यवृद्धि गरी कालोबजारी गरेका हुन् । विभागले पुरानो आयातको प्याजको मूल्य बढाएर कालोबजारी गरेको पाइएपछि केही व्यापारीलाई कारबाही गरिएको बताएको छ ।

उपभोक्ताकर्मी प्रेमलाल महर्जनले सरकारले हस्तक्षेप गर्न नसक्दा व्यापारीले प्याजको मूल्य ४० रुपैयाँसम्म बढाएर एक सय रुपैयाँ पु-याएको बताए । थोक व्यापारीले नै मूल्य बढाएर बजारमा प्याज पठाएको महर्जनले बताए । विभागले खुद्रा बजारमा अनुगमन गरेर दुई/चार जना व्यापारीलाई कारबाही गर्दैमा मूल्यवृद्धि नियन्त्रण नहुने महर्जनको दाबी छ ।

अर्का उपभोक्ताकर्मी माधव तिमिल्सिनाले सरकारले भारतसँग संवाद गरेर प्याजको आपूर्ति सहज बनाउनुपर्ने बताए । भारतमा गोलभेँडाको मूल्य आकाशिएका बेला नेपालले निर्यात गरी सहयोग गरेकाले भारतले पनि नेपाललाई विशेष सुविधा दिनुपर्ने र त्यसका लागि सरकारले पहल गर्नुपर्ने उनको तर्क छ । सरकारले बजेटबाट नै प्याज आयातमा कर लगाएपछि बढेको मूल्य भारतले निर्यात कर लगाउँदा थप बढ्नु स्वाभाविक भएको उनले बताए । तर, भारतले निर्यात कर लगाउनभन्दा पहिला आएकोे प्याजमा कालोबजारी भइरहेकोमा सरकारले आफ्नो उपस्थिति बढाई मूल्य नियन्त्रण गर्न नसकेको उनको आरोप छ ।

नेपालमा भारतीय बजारबाट नै प्याजको आपूर्ति हुनेगरेको छ । भारतले निर्यात कर बढाउँदा नेपाली बजारमा मूल्य बढ्नु स्वाभाविक हो । तर, पहिल्यै आयात गरिएको प्याजको मूल्य बढाएर बेच्नु कालोबजारी भएको विभागले जनाएको छ । विभागले सोमबार उपत्यकाका २१ ठाउँमा र मंगलबार २० ठाउँमा बजार अनुगमन गरेको थियो ।

भारतीय वित्त मन्त्रालयले आन्तरिक बजारमा प्याजको मूल्य बढेको भन्दै शनिबारदेखि निर्यात कर लगाएको थियो । भारतले यसअघि बासमती चामल निर्यातमा बन्देज लगाउँदा पनि नेपालमा कालोबजारी बढेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया