काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ व्यापारघाटा भएको छ । यो घाटा गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा शून्य दशमलव ६६ प्रतिशतले कम हो । गतवर्ष साउनमा एक खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ व्यापारघाटा थियो ।
भन्सार विभागका अनुसार साउनमा एक खर्ब २९ अर्ब २४ करोड रुपैयाँबराबरको आयात भएको छ । यो आयात गत आर्थिक वर्षको तुलनामा एक दशमलव ५६ प्रतिशत कम हो । गतवर्ष साउनमा एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात भएको थियो । यस वर्ष साउनमा निर्यातमा पनि गिरावट आएको छ । साउनमा मात्रै १३ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएको छ । यो निर्यात गतवर्षको साउनमा भन्दा आठ दशमलव ६५ प्रतिशतले कम हो । गतवर्ष साउनमा १४ अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको थियो । आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार घटेको छ भने व्यापारघाटामा पनि कमी आएको छ ।
वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा नौ दशमलव ४८ प्रतिशत र आयातको हिस्सा ९० दशमलव ५२ प्रतिशत छ । कुल निर्यातको तुलनामा नौ दशमलव ५५ गुणा धेरै आयात भएको छ ।
निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा निर्यात व्यापार खुम्चिन पुगेकाले व्यापारघाटाले निरन्तरता पाउँदै आएको छ । नेपालको सबैभन्दा बढी व्यापारघाटा सीमा जोडिएका दुई मुलुक चीन र भारतसँग छ । विभागका अनुसार नेपालले एक सय ४१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । जसमा एक सय १० भन्दा बढी मुलुकसँग व्यापारघाटा व्यहोर्दै आएको छ ।
व्यापारघाटा भारतसँग धेरै : विभागका अनुसार साउन महिनामा भारतसँग मात्रै ७२ अर्ब ७६ करोड ७४ लाख रुपैयाँको व्यापारघाटा भएकोे छ । भारतबाट ८१ अर्ब २४ करोड ९४ लाख रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट आठ अर्ब ४८ करोड २० लाख रुपैयाँको निर्यात भएको छ । भारतपछि सबैभन्दा धेरै व्यापारघाटा चीनसँग भएको छ । चीनसँग २१ अर्ब ५५ करोड ७५ लाख रुपैयाँको व्यापारघाटा भएको छ । चीनबाट २१ अर्ब ९४ करोड ९९ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ भने नेपालबाट चीनमा ३९ करोड २३ लाख रुपैयाँबराबरको निर्यात भएको छ । विभागका अनुसार भारत र चीनपछि व्यापारघाटा धेरै हुने मुलुकमा संयुक्त अरब इमिरेट्स, जर्मनी, युक्रेन, अष्ट्रेलिया, फ्रान्स, इन्डोनेसिया, अर्जेन्टिना, अमेरिका छन् ।
पेट्रोलियम पदार्थको आयात घट्यो : कुल आयातमध्ये पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै छ । साउन महिनामा मत्रै २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यो आयात गत आर्थिक वर्षको साउनमा भन्दा तीन अर्ब चार करोड रुपैयाँले कम हो । गतवर्ष साउनमा २५ अर्ब तीन करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल, पेट्रोल र एलपीजी ग्यासको हिस्सा सबैभन्दा बढी छ । गत साउनमा यी तीन वस्तु मात्रै १६ अर्ब ६१ करोड ४९ लाख रुपैयाँको आयात भएको छ । जसमा डिजेल सात अर्ब ३४ करोड ७१ लाख रुपैयाँको, पेट्रोल पाँच अर्ब ४४ करोड ७० लाख रुपैयाँ र एलपीजी ग्यास तीन अर्ब ८२ करोड सात लाख रुपैयाँको आयात भएकोे छ ।
पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै आयात फलाम र स्टीलको भएको छ । साउनमा १२ अर्ब ९५ करोड रुपैयाँको फलाम र स्टील आयात भएको छ । फलाम र स्टीलको आयात गतवर्षको साउनमा भन्दा धेरै भएको छ । गतवर्ष साउनमा ११ अर्ब २३ करोड रुपैयाँको फलाम र स्टील आयात भएको थियो ।
पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि विद्युतीय उपकरण र पाट्र्सको नौ अर्ब १५ करोड रुपैयाँको आयात भएको छ । जसमा मोबाइल मात्रै दुई अर्ब ८६ करोड रुपैयाँको आयात भएको छ ।
सुनको आयात बढ्यो : परिमाणमा सुन आयात केही घटे पनि मूल्यमा बढेको छ । भन्सार विभागका अनुसार साउनमा दुई सय केजी आयात भएको छ । गतवर्ष साउनमा दुई सय छ केजी सुन आयात भएकोे थियो । यस पटक गतवर्षको भन्दा धेरै मूल्यको सुन आयात भएको छ । गतवर्ष साउनमा एक अर्ब ४८ करोड रुपैयाँको सुन आयात भएकामा यस वर्ष एक अर्ब ६५ करोड रुपैयाँको आयात भएको छ । अन्तर्राष्ट्रिय जबारमा सुनको मूल्य बढेका कारण यस्तो देखिएको हो । सुन आयातबाट सरकारले साउनमा २४ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
खाद्यान्न आयात : सबैभन्दा धेरै आयात हुने १० वस्तुमा धान छैटौँ स्थानमा छ । साउनमा दुई अर्ब ७७ करोड रुपैयाँको धान आयात भएको छ । यस्तै, कच्चा पाम तेल एक अर्ब ९५ करोड ९२ लाख रुपैयाँ, कच्चा भटमासको तेल एक अर्ब ७८ करोड ५१ लाखको आयात भएको छ । मकै एक अर्ब चार करोड रुपैयाँको आयात भएको छ ।
निर्यात : भन्सार विभागका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैँचा, कार्पेट, जिंक सिटलगायतका वस्तुको निर्यात बढ्दा अलैँची, चिया, औषधि (आयुर्वेदिक), दन्त मन्जन, तारलगायतका वस्तुको निर्यात भएको छ । कुल निर्यातमध्ये अलैँची ९६ करोड ४६ लाख रुपैयाँ, फलाम तथा स्टिलजन्य सामग्री ५५ करोड ७३ लाख रुपैयाँ, गलैँचा ५५ करोड ७१ लाख रुपैयाँ, जुटजन्य सामग्री ३८ करोड २९ लाख रुपैयाँको निर्यात भएको छ । उक्त अवधिमा यार्न ३७ करोड ४९ लाख रुपैयाँ, चिया ३६ करोड ४० लाख रुपैयाँ, जुस ३४ करोड ७२ लाख रुपैयाँ र कुकुर र बिरालोको खाना ३४ करोड ३० लाख रुपैयाँको निर्यात भएको छ ।
चालू आर्थिक वर्षको समीक्षा अवधिमा कुल वैदेशिक व्यापार एक खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँको भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार एक खर्ब ६० अर्ब नौ करोड रुपैयाँ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया