Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाइन्जिनियरिङमा शुल्क वृद्धि खारेज गर्न विद्यार्थीको माग

इन्जिनियरिङमा शुल्क वृद्धि खारेज गर्न विद्यार्थीको माग


काठमाडौं । इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज गर्न विद्यार्थीहरुले माग गरेका छन् । विद्यार्थीका विभिन्न संघ संगठनहरुले शुल्क बृद्धि खारेज नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले इन्जिनियरिङको स्नातक तहमा नियमित तर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाख ३० हजार बाट बढाएर ७ लाख ७५ हजार पु¥याएको छ । सो शुल्क वृद्धिप्रति विद्यार्थी संगठनहरुले आपत्ति जनाएका हुन् । गत साउन २५ को निर्णयअनुसार भन्दै संस्थानले भदौ ४ मा सूचना निकालेर आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेको थियो । शुल्कवृद्धि फिर्ताको मागसहित विद्यार्थीहरुले विभिन्न क्याम्पसमा आन्दोलन समेत थालेका छन् । कांग्रेस निकट विद्याथी संगठन नेविसंघ पुल्चोक क्याम्पसका नेता सुलभ चापागाईं शूल्कवृद्धि फिर्ताको माग गर्दै अनशनमा नै बसेका छन् । नेविसंघ केन्द्रीय समितिले उनको अनशनमा ऐक्यबद्धता जनाएको छ । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बुधबार पत्रकार सम्मेलन गरेर ३ दिन भित्र शुल्कवृद्धि फिर्ता गर्न अल्टिमेटम समेत दिएका छन् । सो अवधिभित्र संस्थानले शुल्कवृद्धि फिर्ता नगरे प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघले चेतावनी दिएको छ ।

यस्तै शुल्कवृद्धि फिर्ताको माग गर्दै नेकपा एमालेनिकट अनेरास्ववियुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । ‘सर्वसुलभ रूपमा गरिब जेहेन्दार विद्यार्थीको पहुँचमा नरहने गरी गरेको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्यत् रहेको पुष्टि हुन्छ,’ अनेरास्ववियुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुल्क वृद्धि तत्काल फिर्ता नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यस्तै समाजवादी मोर्चा अन्तरगतको संयुक्त विद्यार्थी संगठनले पनि बिहिबार पत्रकार सम्मेलन गरेर शुक्रबार बेलुकासम्म शुल्कबृद्धि फिर्ता गर्न अल्टीमेटम दिएका छन् । मोर्चामा आवद्ध विभिन्न चार विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन (अनेरास्ववियु क्रान्तिकारी)का अध्यक्ष पन्चा सिंहले निशर्त ढंगले शुल्क वृद्धि खारेज गर्न माग गरिन् । यस्तै सत्तारुढ दल नेकपा(एस) निकट अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीहरु सत्ताको नेतृत्वमा रहे पनि गलत विषयमा खरो उत्रने बताए । शुल्क वृद्धि तत्काल खारेज नभए आइएओई प्रमुखलाई गल्हत्याएर सडकमा ल्याउने उनले चेतावनी दिए ।

जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादबले संविधानले शिक्षा निशुल्क भनेपनि शैक्षिक माफियाको अगाडी सबै निरिह हुनु दूर्भाग्य भएको बताए । यस्तै नेकपा(विप्लव) निकट अखिल (क्रान्तिकारी)का महासचिव नरेन्द्र विश्वकर्माले दलाल र माफियाहरुको चंगुलमा रहेको नेपाली शिक्षा क्षेत्रलाई नागरिकको पहुँचमा पुर्याउन जुनसुकै हदमा जाना तयार रहेको धारणा राखे । विद्यार्थीहरुको आन्दोलनपछि संस्थानले शुल्कवृद्धिबारे छलफल गर्न सहायक डिन सुरज लामिछानेको नेतृत्वमा वार्ता टोली समेत गठन गरेको छ । तर विद्यार्थीहरुले शुल्कवृद्धि खारेज नभएसम्म वार्तामा नबस्ने बताएका छन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया