Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधरानमा सामाजिक सद्भाव खलबलिन नदिन ‘अगुवा’ अग्रसर, ‘सतर्क’ प्रशासन

धरानमा सामाजिक सद्भाव खलबलिन नदिन ‘अगुवा’ अग्रसर, ‘सतर्क’ प्रशासन


काठमाडौं,कोशी प्रदेशको धरानमा केही मानिसले ‘गोरु काटेर मासु खाएको’ विवरण सार्वजनिक भएपछि चलेको धार्मिक तथा सामाजिक सद्भाव र सहिष्णुता खलबलिने बारेको बहस र त्यससँगै उत्पन्न चिन्ता टार्न विभिन्न जरुरी पहलहरू भएका छन्।

सामाजिक सञ्जालहरूमा भिडिओ देखिएपछि उक्त घटना र त्यसप्रतिको प्रतिक्रियामा भन्दै पक्ष र विपक्षमा भएका गतिविधिलाई लिएर धरान र अन्यत्र पनि जातीय, धार्मिक र सामाजिक सद्भाव बिथोलिने जोखिमले चिन्ता थपिएको देखिएको छ।

गृह मन्त्रालयका अधिकारीहरूले प्रहरी-प्रशासनलाई सतर्क तुल्याइएको जनाएका छन्।

उक्त विषयलाई लिएर सङ्घीय संसद्मा समेत चर्चा र चिन्ता गरिएको थियो।
केही मानिसहरूले गोरुको मासु खाएर त्यसको भिडिओ सामाजिक सञ्जालमा राखेको भनिएको घटनालाई पहिचान पक्षधरहरूले आफ्नो जातीय, सांस्कृतिक र संविधान अन्तर्गत धर्म निरपेक्षताले दिएको अधिकारको रूपमा व्याख्या गर्ने गरेका छन्।

हिन्दूवादी लगायतका धार्मिक संस्थाहरूले चाहिँ त्यसलाई धार्मिक र सामाजिक सद्भाव बिथोल्ने प्रयासका रूपमा चित्रण गरेका छन्।
एक साताअघि भएको भनिएको उक्त घटनाको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ।

त्यसपछि घटनाको समर्थन र विपक्षमा सडक प्रदर्शन गर्ने विवरण सार्वजनिक भएपछि धरानमा सामाजिक सद्भावका लागि पहल थालिएको छ।

जनप्रतिनिधिको अग्रसरता
हिन्दू धर्मसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूको अगुवाइमा शनिवार धरानमा ‘गौहत्या विरुद्ध प्रदर्शन गर्ने’ घोषणा गरिएको छ।

धरानका पूर्व जनप्रतिनिधिहरूले सबै पक्षसँग छलफल गरी सामाजिक एकता कायम गर्न पहल अघि बढाइएको बताएका छन्।
धरानका चार जना पूर्व नगर प्रमुखहरूले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, “एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव खलबलाउने काम यसअघि कहिल्यै भएको छैन। वर्षौँ देखिको आपसी सद्भाव, भाइचारा र एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्दर्य हो, विशेषता पनि हो।”

धरानका नगर प्रमुख हर्क साम्पाङ राईले पनि ‘आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न’ अपिल जारी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सामाजिक एकता र जातीय सद्भाव भाँड्ने कृत्य नगरौँ, नगराऔँ।”
पूर्व नगर प्रमुख तिलक राईले विभिन्न राजनैतिक दल, सङ्घ-संस्था लगायतका सरोकारवाला पक्षहरूसँग छलफल आयोजना गरेर ‘वर्षौँदेखि कायम जातीय एवम् धार्मिक सद्भाव खलबलिन नदिने प्रयास गरिरहेको’ जानकारी दिए।

शुक्रवार भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्ने र पक्ष र विपक्षमा कुनै खाले प्रदर्शन नगर्न अनुरोध गर्ने निर्णय भएको नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले बीबीसीलाई बताए ।

प्रशासनिक पहल
‘गौहत्या विरुद्ध’ हुने भनिएको प्रदर्शनको ‘प्रतिकार गरिने’ प्रचार पनि भएको छ। त्यसले जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भन्दै ‘प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ।

स्थानीय प्रशासनले धरानमा केही दिन देखि चर्किएको उक्त विवादले शान्ति सुरक्षा र सामाजिक सद्भाव खलबलिनबाट रोक्न आवश्यक पहल भइरहेको जनाएको छ।
प्रशासन र सुरक्षा निकायहरूले पनि सतर्कता अपनाएका छन्।

सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण वडा लगायतका विभिन्न क्षेत्रमा समेत लागु हुने गरी शुक्रवार मध्यरातदेखि २४ घण्टाको निम्ति निषेधादेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको आदेशमा ‘अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्‍याली/ भेला जम्मा/ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन’ भनिएको छ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले पक्ष र विपक्षमा हुन सक्ने सम्भावित प्रदर्शन रोक्न विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न सङ्घसंस्था र सरोकारवालाहरूसँग समन्वय भइरहेको बताए।

उनले भने, “हामीले शान्ति सुरक्षा कायम गर्ने दिशामा सबैसँग समन्वय गरिरहेका छौँ।”

यसअघि धरानमा हिन्दू धर्मावलम्बीहरूको मन्दिर क्षेत्र नजिकै इसाई धर्ममा आस्था राख्नेहरूका लागि चर्च बनाउने क्रममा पनि निकै विवाद देखिएको थियो।

सामाजिक क्षेत्रका अगुवाहरूले बेला बेला निम्तिने त्यस्ता धार्मिक एवं सांस्कृतिक विवादको बेलैमा समाधान नखोजे सामाजिक सद्भाव बिथोलिने र त्यसले समाजमा नराम्रो परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन्।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया